१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ फाल्गुण २९ आइतबार १३:०८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सीमाविद् श्रेष्ठको पुस्तक आठ भाषामा प्रकाशित 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ फाल्गुण २९ आइतबार १३:०८:००

सीमाविद् बुद्धिनारायण श्रेष्ठको ‘इन्टरनेसनल बाउन्ड्रिज अफ नेपाल’ नामक पुस्तक आठ भाषामा प्रकाशित भएको छ । सन् २०१९ मा युरोपियन मुलुक लातभियाको ल्याम्बर्ट एकेडेमिक पब्लिसिङले प्रकाशित गरेको अंग्रेजी लिपिको पुस्तक अहिले आठ भाषा (फ्रेन्च, रुसी, जर्मन, डच, इटालियन, स्पानिस, पोर्चुगिज र पोलिस) मा अनुवाद गरी सोही शैक्षिक संस्थाले हालै प्रकाशन गरेको हो । इन्टरनेसनल बाउन्ड्री रिसर्च युनिटका पूर्वनिर्देशक तथा डरहम विश्वविद्यालय बेलायतका प्रोफेसर मार्टिन प्राटले उक्त पुस्तकको प्राक्कथन लेखेका छन् ।

यस पुस्तकमा अन्तर्राष्ट्रिय सीमा सिद्धान्त, सीमा निर्धारणका चरण, सीमा विवाद हुने कारण, विश्वका सीमा विवादित मुलुकहरू, यसको समाधानका उपाय, सीमालाई लिएर लडाइँ भएका देशहरू, विश्वका प्रख्यात सीमारेखाहरू, सीमा कूटनीति, आकाश र पातालमा पनि सीमा पुगेको हुन्छ जस्ता सैद्धान्तिक विषयवस्तु वर्णन गरिएका छन् । यसैगरी नेपालको भारत र चीनसँग सीमांकन गर्दाको सिद्धान्तको विवेचना गरिएको छ । 

अनलाइन पढ्न पाइने यस पुस्तकले नेपालको सीमा मामिलाबारे अन्तर्राष्ट्रिय क्षेत्रमा जानकारी पुर्‍याउने विश्वास गरिएको छ ।  नेपालको लिपुलेक–कालापानी–लिम्पियाधुरा भारतद्वारा अतिक्रमण, लिपुलेक सीमाघाँटीको कानुनसंगत अधिकार, कालापानी मामिला अन्तर्राष्ट्रियकरण, नेपाल र भारतबीच चुच्चे नक्साको लडाइँ र सीमा समस्या सौहार्दपूर्ण तरिकाले आपसी वार्ताद्वारा समाधान हुन सक्ने उपाय व्याख्या गर्ने प्रयास गरिएको लेखक श्रेष्ठले बताए । उनका अनुसार पुस्तकमा नेपालको छिमेकी मुलुकसँग भएका १८ वटा सीमा सन्धि सम्झौता अनुसूचीमा सामेल गरिएका छन् । 

पुस्तकमा सीमासँग सम्बन्धित बेलायतको इन्टरनेसनल बाउन्ड्री रिसर्च युनिट, अमेरिकाको एसाेसियसन फर बोर्डरल्यान्ड स्टडिज, एसिया र अफ्रिकाको बोर्डरल्यान्ड रिसर्च नेटवर्कहरू र डेनमार्कमा मुख्यालय भएको इन्टरनेसनल फेडेरेसन अफ सर्भेयर्सजस्ता विश्व संस्थाहरूको सीमासम्बन्धी क्रियाकलाप पनि वर्णन गरिएका छन् । पुस्तक नयाँदिल्लीको निराला पब्लिकेसन्सले दक्षिण एसियाली संस्करणका रूपमा एक महिनाअघि प्रकाशनमा ल्याएको छ ।