
रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण बढ्ने भएको छ। रसुवा र केरुङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच भएको ‘भर्चुअल’ वार्तामा नेपाल भित्रिने चिनियाँ सामग्रीको आयात परिमाण बढाउने सहमति भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ।
कोभिड–१९ संक्रमणका कारण घट्दै आएको आयात वृद्धि गराई नेपाली बजारको माग पूरा गराउन रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले गरेका प्रयास फलदायी भएको छ। नौ कन्टेनरमार्फत भइरहेको आयातलाई वृद्धि गरी यही १५ तारेखबाट दैनिक १४ वटा कन्टेनर रसुवागढी ल्याउने सहमति भएको उनले बताए।
चिनियाँ सामग्रीको आयात परिमाण बढ्ने भएपछि यहाँका व्यापारी र व्यवसायीलगायत सबैमा उत्साह बढेको छ। कोरोना संक्रमणपश्चात सीमाक्षेत्रको मितेरी पुलमा आवतजावत बन्द भए पनि चिनियाँ पक्षले माग पूर्ति गर्न दैनिक तीनवटा ठूला कन्टेनरबाट आयात सुरु गरेको थियो।
अहिले दैनिक १४ वटा ठूला चिनियाँ कन्टेनरमार्फत व्यवसायी सामग्रीसहित रसुवागढी आउन थालेपछि यताका २८ वटा नेपाली कन्टेनरले दैनिक रोजगारी पाउने आशा पलाएको व्यवसायीले बताएका छन् । पहिलो चरणको कोरोना मत्थर भएपश्चात पहिलो चरणमा तीन, छ हुँदै नौवटा कन्टेनरद्वारा सामग्री आयात भइरहेको थियो। रासस