१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २८ शनिबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २८ शनिबार o८:२८:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

जसपामा उम्मेदवार छान्ने  जिम्मा स्थानीय पार्टी कमिटीलाई

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २८ शनिबार o८:२८:oo

जनता समाजवादी पार्टी (जसपा)ले स्थानीय तह निर्वाचनमा उम्मेदवार छान्ने जिम्मा स्थानीय पार्टी कमिटीलाई दिने भएको छ । शुक्रबार जसपा कार्यकारिणी बैठकले पारित गरेको निर्वाचन निर्देशिकाअनुसार उम्मेदवार छनोटको जिम्मेवारी तल्ला कमिटीलाई दिएको हो । 

तय गरेको मापदण्डअनुसार तल्ला कमिटीबाट उम्मेदवार छनोट गर्ने र विवाद देखिए मात्र माथिल्ला कमिटीले हस्तक्षेप गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । स्थानीय तहले उम्मेदवार छान्न नसके जिल्ला कमिटीमा लैजाने गरी निर्देशिका तयार पारिएको छ । जिल्ला कमिटीले पनि निरुपण गर्न नसकेको अवस्थामा प्रदेश कमिटीले उम्मेदवार तय गर्नेछ । 

उम्मेदवारको विषयमा तल्ला कमिटीले विवाद निरुपण गर्न नसकेको अवस्थामा केन्द्रमा एउटा कमिटी बनाएर निष्कर्ष दिने निर्देशिकाले व्यवस्था गरेको छ । निर्वाचन निर्देशिका तयार पार्न जसपाले तीन सदस्यीय समिति बनाएको थियो । जसमा कार्यकारिणी सदस्य नवराज सुवेदी, हिसिला यमी र मनीष सुमन रहेका थिए । 

जसपाको कार्यकारिणी समिति बैठकले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पेस गरेको राजनीतिक दस्ताबेज पनि अनुमोदन गरेको छ । बैठकमा राजनीतिक प्रस्ताव र निर्वाचन निर्देशिकाबारे सुझाव आएको सुमनले बताए । प्राप्त सुझावलाई समेटेर शनिबार बस्ने संघीय परिषद् बैठकमा दुवै प्रतिवेदन पेस गरिने उनले जानकारी दिए । 

संघीय परिषद् बैठकले प्रस्ताव पारित गरेपछि केन्द्रीय समितिमा दुवै दस्ताबेज छलफलका लागि पेस गरिने उनले बताए । डा. भट्टराईले वर्तमान राजनीतिक परिस्थितिको विश्लेषण, वैकल्पिक राजनीतिक भविष्य र आसन्न निर्वाचनबारे केन्द्रित भएर दस्ताबेज तयार पारेका छन् । 

निर्वाचन निर्देशिकामा स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटदेखि प्रचारप्रसारसम्मका विषय समेटिएका छन् । उम्मेदवारको योग्यता, लोकप्रियताका विषय समेटिएको सुमनले बताए । 

उम्मेदवार छनोट पारदर्शी रूपमा गर्न नीति बनाएरै अघि बढ्ने योजनासहित निर्देशिका तयार पारिएको हिसिला यमीले बताइन् । ‘उम्मेदवार चयन पारदर्शी बनाउन र योग्य व्यक्ति छनोट गर्न निर्देशिका आधार हुनेछ,’ यमीले भनिन्, ‘निर्वाचनमा गठबन्धनको कल्पनादेखि मतपेटिका सुरक्षासम्मका विषयहरू यसमा समेटिएका छन् ।’

बैठकमा कमिटी समायोजनको विषय पनि उठेको छ । तत्कालीन संघीय समाजवादी र नयाँ शक्ति एकतापछि समायोजन गर्न बाँकी पार्टी कमिटीहरूको काम टुंग्याउने विषयमा कार्यकारिणीमा छलफल भएको हो । 
 

ad
ad
ad
ad