सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताब आलमको बन्दी प्रत्यक्षीकरणको मुद्दामा न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र हरिप्रसाद फुँयालको इजलास तोकेको छ। सर्वोच्चले शुक्रबार आलमको मुद्दामा न्यायाधीशद्वय राउत र फुँयालको संयुक्त इजलास तोकेको हो।
आलमलाई ०६४ चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको अभियोग लागेको छ। उनीमाथि विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगसमेतमा मुद्दा चलिरहेको छ।
आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्लाको आदेशलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले समेत सदर गरिदिएको थियो। त्यसपछि आलमले आफूलाई थुनामुक्त गराउन माग गर्दै सर्वोच्च पुगेका हुन्। उनको मुद्दामा पटकपटक पेसी तोकिए पनि सुनुवाइ भने सर्दै आएको छ।