मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ फाल्गुण २५ बुधबार ०७:१०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मर्स्याङ्दी नदीमा  डुबेर विद्यार्थीको मृत्यु भएपछि मृतकका आफन्तद्वारा विद्यालय तोडफोड 

Read Time : > 1 मिनेट
२०७८ फाल्गुण २५ बुधबार ०७:१०:००

लमजुङको सुन्दरबजार नगरपालिका– ९  सिउँडीबारमुनि मर्स्याङ्दी नदीमा डुबेर  विद्यार्थीको मृत्यु भएको छ । सुन्दरबजार नगरपालिका– ९, सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थी सनिज श्रेष्ठको पौडी खेल्ने क्रममा मर्स्याङ्दी नदीमा डुबेर मृत्यु भएको हो । मंगलबार  मध्याह्न १२ बजेतिर मर्स्याङ्दी नदीले डुबाउँदा उनको शव दिउँसो १ बजेतिर १० मिटरजति तल भेटिएको प्रहरीले जनाएको छ ।

स्थानीय गोमा श्रेष्ठका अनुसार होस्टेलबाट एकजना शिक्षक र दुईजना विद्यार्थी पौडी खेल्न मर्स्याङ्दीमा गएका थिए । उनीहरूमध्ये पौडी खेल्ने क्रममा नदीमा डुबेर सनिजको मृत्यु भएको हो । शवलाई पोस्टमार्टमका लागि बेंसीसहरस्थित जिल्ला अस्पतालमा ल्याइएको छ । तनहुँको भानु नगरपालिका– ९, बाइसजाँगरका  श्रेष्ठ होस्टेलमा बसेर पढ्दै आएका थिए ।

मृतकका आफन्तले  विद्यालयका संस्थापक बाबुराम पौडेल र विद्यार्थी लाने शिक्षकलाई कारबाहीको माग गरेका छन् । आक्रोशित आफन्तले फ्युचरस्टार स्कुलको गेट तोडफोड गरेका छन् । उनीहरूले दुईवटा स्कुल बस, गाडी र भ्यान फुटाएको प्रहरीले जनाएको छ ।आक्रोशित  आफन्तले विद्यालय तोडफोड गरेपछि स्थिति तनावपूर्ण भएसँगै प्रहरीले भिड नियन्त्रण गर्न अश्रुग्याससमेत प्रहार गरेको स्थानीय द्वारिका मिश्रले बताए ।

सिउँडीबार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु 
लमजुङको  सिउँडीबार क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यु जारी भएको छ । लमजुङको सुन्दरबजार नगरपालिका– ९ को सिउँडीबारस्थित फ्युचरस्टार आमाविका एक विद्यार्थीको पौडी खेल्ने क्रममा मर्स्याङ्दी नदीमा डुबेर निधन भएको घट्नाका कारण उत्पन्न स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले बुधबार  बिहान ६ बजेदेखि अनिश्चितकालसम्मका लागि कर्फ्यु जारी गरेको हो ।

मंगलबार नारी दिवसको विदाको उपयोग गर्दै गर्मी छल्नका लागि बोर्डिङ स्कुलनजिकै रहेको मर्याङ्दी नदीमा सोही माविमा रहेको छात्रावासका वार्डेनले विद्यार्थीलाई पौडी खेल्न लगेका थिए । सोही क्रममा कक्षा– १० मा अध्ययन गर्ने छात्र सनिजको नदीमा डुबेर निधन भएपछि उत्पन्न नतावपूर्ण स्थितिको नियन्त्रणका लागि कर्फ्यु जारी गर्नु परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट जारी सूचनामा भनिएको छ, ‘कर्फ्युको क्षेत्र सुन्दरबजार नगरपालिका– ७ को पूर्व–दक्षिणस्थित पाउँदी पुल, पूर्वतर्फ राइनासतर्फको मर्स्याङ्दी नदीको पुल, पश्चिमतर्फ सोही नगरपालिका– ९ को मध्यमर्स्याङ्दी जल विद्युत् आयोजना केन्द्रको विद्युत् केन्द्रको आवास क्षेत्रको गेटअगाडिको पुल र उत्तरतर्फ सोही वडाको सिउँडीबार चोकसमेत चारकिल्लाभित्र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरिएको छ ।’