एमाले अध्यक्ष केपी ओलीले मतपत्रमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । आयोगले सरकारको नेतृत्व गरिरहेको कांग्रेसलाई फाइदा हुने गरी यस्तो निर्णय गरेको हुन सक्ने ओलीको आशंका छ । उनले यसबारे आयोगसँग छलफल गर्नेसमेत बताएका छन् ।
‘निर्वाचन आयोगले मतपत्रका चिह्नहरूमा हरियो राख्ने भयो रे । हरियो चिह्न किन राख्ने ? के कारणले राख्ने ? निर्वाचन आयोगले बताउनुपर्यो । मैले निर्वाचन आयोगलाई सोध्न भ्याएको छैन, अत्यन्त व्यस्त भइरहेको छु, उहाँहरूसँग सोधौँला,’ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा अनेमसंघद्वारा मंगलबार आयोजित कार्यक्रममा ओलीले प्रश्न गरे, ‘कुन हिसाबले राख्ने ? धार्मिक हिसाबले राख्ने हो ? अथवा कसैको हरियो देखिने चिह्न छ, त्यसकारण राख्ने ? केका लागि राख्ने ?’
कांग्रेसको चुनावचिह्न रुख हरियो भएकाले मतपत्रको रङ पनि त्यस्तै राख्ने निर्णय भएको हुन सक्ने आशंका व्यक्त गर्दै ओलीले आयोगलाई त्रुटि सच्याउन लगाउने बताए । ‘सबैतिर जनताले हरियो रुख देखुन् भनेर हरियो राख्ने हो ? यदि हरियो राख्ने निर्णय होइन भने सञ्चारमाध्यमले आफ्ना त्रुटि सच्याउनुपर्छ । आयोगले निर्णय गरेको हो भने सच्याउनुपर्छ, हरियोसरियो हुँदैन,’ ओलीले भने ।