१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २० शुक्रबार
  • Sunday, 29 September, 2024
बलात्कार आरोपमा अभिनेता पल शाहलाई हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय, तनहुँ अगाडि बिहीबार देखिएको भिड । तस्बिर : नयाँ पत्रिका
२o७८ फाल्गुण २० शुक्रबार o७:४३:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पीडकको पक्षमा दिनहुँ नाराबाजी ! पीडित पक्ष न्याय नपाइने हो कि भन्ने चिन्तामा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण २० शुक्रबार o७:४३:oo

जबर्जस्ती करणी आरोपमा प्रहरी हिरासतमा रहेका पल शाहको पक्षमा उत्रिएका समर्थक अनुसन्धान प्रभावित पार्ने प्रयासमा

नाबालिका बलात्कारको गम्भीर अरोप लागेका अभिनेता पल शाहविरुद्ध अनुसन्धान जारी छ । तर, उनका समर्थक अनुसन्धानलाई नै प्रभावित पार्ने गरी दिनहुँ जिल्ला प्रहरी कार्यालय तनहुँ अगाडि नाराबाजीमा उत्रिएका छन् । पल गत १४ फागुनदेखि प्रहरी हिरासतमा छन् । 

हेमन्त मल्ल, पूर्वडिआइजी

पल शाहविरुद्ध जबर्जस्ती करणीको अभियोग लागेको छ । उनीविरुद्ध निष्पक्ष ढंगले अनुसन्धान हुन दिनुपर्छ । अनुसन्धानलाई नै प्रभावित पर्ने यस्ता प्रयासले समाजमा राम्रो सन्देश प्रवाह गर्दैन ।

युट्युबरको भिड उस्तै थामिनसक्नुको छ । पलको देवत्वकरणमा उत्रिएका उनीहरू घन्टैपिच्छे ‘नयाँ खुलासा’ भन्दै बुम र क्यामेराअगाडि फलाक्न थाल्छन् । र, पल निर्दोष भएको घोषणा यसरी ठोकिदिन्छन्, मानिलिउँ उनीहरू अदालतका न्यायाधीश हुन् । 

नेपाल प्रहरीका पूर्वडिआइजी तथा सुरक्षाविद् हेमन्त मल्ल समर्थक र युट्युबरबाट भइरहेको यस्ता हर्कतले समाजमा राम्रो सन्देश नदिने बताउँछन् । ‘पल शाहविरुद्ध जबर्जस्ती करणीको अभियोग लागेको छ । उनीविरुद्ध निष्पक्ष ढंगले अनुसन्धान हुन दिनुपर्छ । अनुसन्धानलाई नै प्रभावित पर्ने यस्ता प्रयासले समाजमा राम्रो सन्देश प्रवाह गर्दैन ।’

समर्थकको भिड बढेपछि प्रहरी कार्यालयवरपर तारबार
समर्थकको भिड नियन्त्रण गर्न जिप्रका तनहुँले कार्यालय आसपासका क्षेत्रमा बाँसको छेकबार मात्र होइन, तारबार नै लगाएको छ । दैनिकजसो समर्थकहरू आएर प्रहरी कार्यालयअगाडि भेला भई हुलहुज्जत गर्न थालेपछि सतर्कता अपनाउन प्रहरीले यस्तो गर्नुपरेको हो । दैनिक हुने यस्ता हर्कतले न्यायको आशमा प्रहरी कार्यालय पुगेका पीडित पक्ष उल्टै न्याय नपाइने पो हो कि भनेर चिन्तित बनेको छ ।  

‘घटना अनुसन्धानका लागि पीडित प्रहरी कार्यालय जानु स्वाभाविक हो । प्रहरी कार्यालयमा दैनिक हुने त्यस्तो भिड छिचोलेर टाउको जोगाउँदै बयान दिन जाने पीडितको मनोविज्ञान कस्तो होला ? यस्ता हर्कतले पीडितको मनोबल उकास्ने होइन, बरु ‘ह्यारेसमेन्ट’ गराउने काम हुन्छ । यस्ता घटनाले राम्रो सन्देश दिँदैन,’  पूर्वडिआइजी मल्लले भने ।

तनहुँका सिडिओ विश्वप्रकाश अर्याल भन्छन्– भिडभाडले अनुसन्धानलाई असर गर्दैन 

विश्वप्रकाश अर्याल, प्रमुख जिल्ला अधिकारी, तनहुँ

अनुसन्धानलाई असर पर्दैन, तर जनमानसमा नराम्रो सन्देश जान्छ कि भन्ने हो । त्यसैले प्रहरी कार्यालय वरिपरि मानिसहरूलाई भिडभाड गर्न रोक लगाएका छौँ । यतिखेर ठाउँठाउँमा नायक शाह पक्राउको विरोधमा जुलुस निकालिएको छ ।


कलाकार पल शाहको समर्थनमा आएको भिडभाडले अनुसन्धानलाई असर नपर्ने प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल बताउँछन् । ‘अनुसन्धानलाई असर पर्दैन, तर जनमानसमा नराम्रो सन्देश जान्छ कि भन्ने हो । त्यसैले प्रहरी कार्यालयवरिपरि मानिसहरूलाई भिडभाड गर्न रोक लगाएका छौँ । यतिखेर ठाउँठाउँमा नायक शाह पक्राउको विरोधमा जुलुस निकालिएको छ,’ उनले भने, ‘त्यति मात्र नभई प्रहरी कार्यालयअगाडि भिडियो खिच्न युट्युबरको ठूलो जमात छ । जसकारण पनि प्रहरीलाई भिड नियन्त्रण गर्न सकस भएको हो ।’

प्रहरीलाई निष्पक्ष रूपमा अनुसन्धान गर्न दिनुपर्ने वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले बताउँछन् । ‘प्रहरीलाई अनुसन्धान गर्न दिनुपर्छ । मान्छेहरूको भिडभाडले अनुसन्धान प्रभावित गर्न कोही पनि लाग्नुहुँदैन,’ उनले भने, ‘दबाब दिएर केही हुँदैन । प्रहरीले स्वतन्त्र रूपमा छानबिन गर्न पाउनुपर्छ । मानिसहरूले भिडभाड गर्दा दबाब दिएको जस्तो पाइन्छ । त्यसकारण दुवैतिरबाट अनुसन्धानलाई सहजीकरण गनुपर्छ ।’

शाहको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनलाई भेटघाट गर्न आफन्तहरूको लाइन छ । जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी तथा सूचना अधिकारी युवराज खड्काले आफन्त र कानुन व्यवसायीलाई मात्रै भेटघाट गर्न दिइएको बताए । शाहविरुद्ध १७ वर्षीया नाबालिगलाई जबर्जस्ती करणी गरेको जाहेरी जिल्ला प्रहरी कार्यालय तनहुँमा परेको थियो । ११ फागुनमा पीडित परिवारले शाहविरुद्ध जबर्जस्ती करणीको जाहेरी दिएका थिए । शाह आइतबार प्रहरी कार्यालयमा आफैँ उपस्थित भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

जबर्जस्ती करणीको अभियोगमा थुनामा रहेका नायक पल शाहका समर्थकले गरेको नाराबाजीले छानबिनलाई प्रभाव पार्न नहुने भन्दै महिला मानवअधिकार रक्षक सञ्जालले निष्पक्ष छानबिन गर्न माग गरेको छ । मानवअधिकारकर्मीले प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीलाई भेटी सत्यतथ्य छानबिन गर्न आग्रह गरेको हो ।