मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १९ बिहीबार
  • Wednesday, 08 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण १९ बिहीबार २१:५४:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ५–५ रुपैयाँ वृद्धि, निगम कर्मचारीको लुगा धुने भत्ता खारेज, व्यवसायीको कमिसन पनि कटौती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण १९ बिहीबार २१:५४:oo

अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएको कच्चा तेलको मूल्यलाई कारण देखाउँदै नेपाल आयल निगम लिमिटेडले नेपाली बजारमा पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मटितेलमा समान ५–५ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।

मूल्यवृद्धिपछि शुक्रबार बिहानबाट काठमाडौं उपत्यकामा पेट्रोल १ सय ५० रुपैयाँ, डिजेल र मटितेल समान १ सय ३३ रुपैयाँ प्रतिलिटर पुगेको छ । निरन्तर बढ्दै गएको पेट्रोलियम पदार्थको मूल्यले आमउपभोक्ता भने महँगीको मारमा पर्दै आएका छन् ।

निगमले इन्धन खरिद गर्दै आएको इन्डिययन आयल कर्पोरेसन (आइओसी) ले मंगलबार खरिद दर बढाएर पठाएको थियो । निगमका सहायक प्रवक्ता पुस्कर कार्कीका अनुसार आइओसीले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोल ३.८९ रुपैयाँ, डिजेल ३.०८ रुपैयाँ, मटितेल १०.३० रुपैयाँ र हवाई इन्धन ३.३२ रुपैयाँ प्रतिलिटर तथा ग्यास ९९.१७ रुपैयाँ प्रतिसिलिन्डर बढेर आएको थियो ।

सबै पेट्रोलियमको मूल्य बढेर आए पनि निगमले पेट्रोल, डिजेल र मटितेलको मात्र मूल्य समायोजन गरेको छ । हवाई इन्धन र ग्यासको मूल्य स्थिर राखेको र विगतमा आइओसीबाट प्राप्त मूल्यसूचीअनुसार नेपालमा मूल्यवृद्धि नगर्दाको संचित घाटादरका कारण शुक्रबार रातिबाट लागू हुने गरी गरिएको मूल्यवद्धिबाट निगमलाई अझै घाटा नै रहेको सहायक प्रवक्ता कार्कीले दाबी गरे ।

‘सबै पेट्रोलियमको मूल्य बढेर आयो तर हामीले हवाई इन्धन र ग्यासमा मूल्यवृद्धि गर्न सकेनौँ । जसकारण आगामी १५ दिनमा हामीलाई अझै दुई अर्ब ५० करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ,’ उनले भने ।

निगमले यसपटक मूल्यवृद्धि गर्दा विद्यार्थी संगठन, उपभोक्ता अधिकारकर्मी र नागरिक अगुवालगायतको विरोध हुने देखेर कर्मचारीले पाउँदै आएको लुगा धुने भत्ता खारेज गर्ने निर्णय गरेको छ । निगममा कार्यरत करिब चार सय ७० स्थायी कर्मचारीले प्रतिदिन १५ रुपैयाँका दरले लुगा धुने भत्ता पाउँदै आएका थिए । यो भत्ता खारेज भएको प्रवक्ता विनीतमणि उपाध्यायले बताए ।

‘कर्मचारीले धेरै भत्ता लिने गरेको गुनासो जनमासनमा व्याप्त थियो । हामीले लिएको सुविधा कटौती गर्दा संस्था बच्छ भने हामी तयार छौँ भनेर सञ्चालक समितिलाई जानकारी गराएका थियौँ,’ प्रवक्ता उपाध्यायले भने, ‘त्यसपछि सञ्चालक समितिले पोसाक संरक्षण खर्च (लुगा धुने भत्ता) कटौती गरेको हो ।’

निगम कर्मचारीले करिब दर्जन शीर्षकमा भत्ता सुविधा लिँदै आएका आएका छन् । त्यसमध्ये लुगा धुने भत्ता सबैभन्दा कम दरको थियो । यो शीर्षकबाट कर्मचारीले मासिक रूपमा बढीमा ४ सय ५० रुपैयाँ पाउँदै आएका थिए ।

त्यस्तै यसपटक मूल्यवृद्धि गर्दा आयल निगमले पेट्रोलपम्प व्यवसायीले पाउने सुविधा पनि रोकेको छ । गत वर्षदेखि पेट्रोल र डिजेल बिक्री गर्ने पम्पले प्रतिशतका आधारमा कमिसन पाउने व्यवस्था लागू भएको छ । जसकारण पेट्रोल डिजेलको मूल्य बढ्दा व्यवसायीको कमिसन बढ्ने र मूल्य घट्दा व्यवसायीको कमिसन पनि घट्ने गरेको थियो ।

तर, पछिल्लो समय निरन्तर मूल्य बढेर पेट्रोलपम्प व्यवसायीको कमिसन ६ रुपैयाँभन्दा माथि पुगेको थियो । यो दरको कमिसन नै उच्च भएको दाबी गर्दै निगमले सचालक समितिले व्यवसायीलाई थप कसिमन नदिने निर्णय गरेको हो । यसबाट समेत निगमको खर्च कटौती भई केही रकम जोगिएको निगमको दाबी छ । .यसपटक मूल्य बढ्दा व्यवसायीको कमिसन पेट्रोल र डिजेलमा प्रतिलिटर करिब १५ देखि २० पैसा बढ्ने थियो ।