सभामुखको विकल्प खोज्न कांग्रेस तयार भए सदन खुलाउन एमाले तयार
एमसिसी सम्झौतासम्बन्धी प्रस्तावमा संसद्मा बिहीबारदेखि छलफल सुरु हुने निश्चित भएपछि प्रमुख प्रतिपक्ष दल एमालेमाथि निर्णयमा पुग्नैपर्ने बाध्यता आइलागेको छ । अहिलेसम्म गठबन्धनले पहिला आफ्नो धारणा स्पष्ट पार्नुपर्ने भन्दै एमसिसीको पक्ष–विपक्षमा नखुलेको एमालेलाई अब भने कित्ता स्पष्ट गर्नुपर्ने अवस्था आइसकेको छ ।
बिहीबारको संसद् बैठकमा एमसिसी छलफलका लागि अगाडि बढाउने कार्यसूची छ । सामान्य छलफल सकिएपछि प्रस्ताव बहुमतले स्वीकृत गर्नुपर्ने हुन्छ । त्यसपछि प्रस्तावमाथि थप छलफल भएर निर्णयार्थ प्रस्तुत हुन्छ । प्रस्ताव बहुमतले अस्वीकृत भए सरकार अल्पमतमा परेको सन्देश जान्छ । त्यसकारण प्रधानमन्त्रीले गठबन्धन वा एमालेको सहयोग पाए मात्र प्रस्ताव बहुमतले स्वीकृत हुनेछ ।
एमालेले नाराबाजी जारी राखेकै वेला माओवादी केन्द्र र एकीकृत समाजवादीले सामान्य छलफल सकिनासाथ प्रस्ताव बहुमतले अस्वीकृत गराएमा एमसिसी फेल गराउन उसको अप्रत्यक्ष भूमिका देखिनसक्छ । अमेरिकन राजदूत रेन्डी बेरीसहित पश्चिमा मुलुकका राजदूतले एमाले अध्यक्ष ओलीलाई भेटेर एमसिसी पारित गराउन सहयोगी भूमिका खेल्न लगातार आग्रह गर्दै आएका छन् । मंगलबार देउवासँगको भेटअघि ओलीलाई बालकोटस्थित निवास पुगेर अमेरिकी राजदूत बेरीले भेट गरेका थिए ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सभामुखले प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषय नै अझै स्पष्ट नभइसकेकाले निर्णयार्थ छलफलमा कहिलेसम्म जान्छ भन्न सकिने अवस्था नरहेको बताए । ‘सभामुखले प्रक्रिया कसरी अगाडि बढाउने हो, कार्यव्यवस्था राखेर सल्लाह गरिसक्नुभएको छैन,’ नेम्वाङले भने, ‘हामी एमालेले कारबाही गरेका सांसदबारेको सूचना टाँस्नुपर्छ भन्ने मान्यतामै अडिएका छौँ ।’
त्यसैबीच सत्तारुढ कांग्रेस सभामुख अग्निप्रसाद सापकोटाको विकल्प खोज्न तयार भए प्रमुख विपक्षी दल एमालेले संसद् खुलाएर एमसिसीमाथिको छलफल सहज बनाउने भएको छ । भदौयता एमालेले संसद् अवरोध गर्दै आएको छ । मंगलबार राति प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्तामा एमाले अध्यक्ष केपी ओलीले सभामुख सापकोटालाई महाभियोग वा राजीनामाको विकल्पबाट बहिर्गमन गराउन कांग्रेस तयार भए आफू सदन खुलाउन लचक हुने प्रस्ताव राखेका छन् ।
जवाफमा प्रधानमन्त्री देउवाले सदन खुलाएर एमसिसी पारित गराउन एमालेले सहयोग गरे आफूले त्यसमा सोच्न सक्ने भन्दै बिहीबारसम्म समयसीमा मागेका छन् । एमालेले सांसदहरूलाई खाली कागजमा हस्ताक्षर गराएर तयारी अवस्थामा राखेको छ । स्रोतका अनुसार प्रधानमन्त्री देउवा सभामुखको बहिर्गमनका लागि तयार भए एमाले सदन खुलाएर एमसिसीबारे निर्णय गर्न लचक हुनेछ । यद्यपि, एमालेभित्र बहुसंख्यक सांसद र नेता चुनावको मुखमा एमसिसी पारित गर्नु घातक हुन सक्ने बुझाइमा छन् ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले कांग्रेससँगको लगातार छलफलमा नयाँ समझदारी भएको संकेत गर्दै बिहीबार दिउँसो १ बजे बस्ने संसद् बैठकअघिसम्म पार्टी पर्ख र हेरको नीतिमा रहेको खुलाए । कांग्रेसले पछिल्लो छलफलको प्रतिबद्धता कार्यान्वयन नगरेमा एमालेले बिहीबार पनि सदन अवरोधलाई निरन्तरता दिने प्रस्ट्याएको छ । ‘हामी अवरोधमै छौँ, तर बिहीबार बिहानसम्म हेरौँ, केही विकास हुन्छ कि,’ नेम्वाङले भने, ‘छलफल जारी छ, दिउँसो १ बजे अगाडिसम्म समय छँदै छ ।’
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भने प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच कुनै सहमति भइनसकेको बताए । ‘केही सहमति भइसकेको छैन, बाहिर मिडियामा जे–जे विषय आएका छन्, त्यसभन्दा नयाँ कुरा केही पनि भएको छैन,’ खड्काले भने ।