१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ९ सोमबार
  • Saturday, 28 September, 2024
मुना कुँवर काठमाडाैं
२o७८ फाल्गुण ९ सोमबार o८:१७:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

तीनवटै टेलिकम कम्पनीको सेवाको गुणस्तर कमजोर : प्राधिकरण

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o७८ फाल्गुण ९ सोमबार o८:१७:oo

नेपालमा सञ्चालित तीनवटै टेलिकम कम्पनीका सेवाको गुणस्तर कमजोर रहेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले गरेको मोबाइल सेवाको गुणस्तर परीक्षण (ड्राइभ टेस्ट) प्रतिवेदनमा यी कम्पनीहरूले प्राधिकरणले तोकेको न्यूनतम मापदण्ड पूरा गर्न नसकेको देखिएको हो । प्राधिकरणले १६ पुसदेखि २७ पुससम्म काठमाडाै‌ं उपत्यकाका विभिन्न स्थानमा नेपाल दूरसञ्चार कम्पनी, एनसेल आजियाटा र स्मार्ट टेलिकमको सेवा परीक्षण गरेको थियो । प्राधिकरणले ड्राइभ टेस्ट विधिअनुसार गुडिरहेको सवारीसाधनमा उपकरणहरू जडान गरी लगातार फोन कल गरी परीक्षण गरेको थियो । 

त्यस्तै, डाटा प्रयोग गरी मोबाइल नेटवर्कको मुख्य–मुख्य सेवा मानकहरूको तथ्यांक संकलन गरिएको प्राधिकरणले जनाएको छ । सो समयमा एकै स्थानमा उपलब्ध सबै सेवाप्रदायकहरूको गुणस्तर मापन समानान्तर रूपमा एकैसाथ गरिएको प्राधिकरणले जनाएको छ । सेवाप्रदायकको आफ्नै नेटवर्कभित्र लोकल कल गरिएको थियो । कल अवधि एक सय २० सकेन्ड थियो ।
 
 तीनवटै कम्पनीका चारवटै इन्डिकेटर कमजोर 

मोबाइल सेवाको गुणस्तर परीक्षण प्रतिवेदनअनुसार एनसेलभन्दा नेपाल दूरसञ्चार प्राधिकरणको मोबाइल सेवाको गुणस्तर खस्केको देखिएको छ । प्राधिकरणले कल सेटअप सक्सेस, कल सेटअप टाइम, कल अवरोध रेट र कल ड्रप रेटको परीक्षण गरेको थियो । प्रतिवेदनअनुसार तीनवटै कम्पनीका चारवटै इन्डिकेटर कमजोर देखिएका छन् । कम्पनीहरूले प्राधिकरणले तोकेको न्यूनतम मापदण्डसमेत पूरा गर्न सकेका छैनन् । तर, प्रतिवेदनमा उल्लेख गरिएको इन्डिकेटरअनुसार तीनवटा कम्पनीमध्ये एनसेल कम गुणस्तरहीन देखिएको छ । त्यस्तै, स्मार्ट टेलिकम तीनवटा कम्पनीमध्ये सबैभन्दा धेरै कमजोर देखिएको छ । एनसेलले कल ड्रप रेटको न्यूनतम मापदण्ड भने पूरा गरेको छ । 

प्रतिवेदनअनुसार कल सेटअप सक्सेस रेटमा एनसेलको ९२ प्रतिशत, नेपाल दूरसञ्चारको ८९ प्रतिशत र स्मार्ट टेलिकमको ७२ प्रतिशत पाइएको छ । प्राधिकरणको मापदण्डअनुसार कल सेटअप सेक्सेस रेट न्यूनतम ९९ दशमलव ९९ प्रतिशत हुनुपर्नेछ । तर, कुनै पनि कम्पनीले सो मापदण्ड पूरा गरेका छैनन् ।  त्यस्तै, कल सेटअप टाइममा नेपाल दूरसञ्चार प्राधिकरणको ९ दशमलव ३२ सेकेन्ड रहेको छ । एनसेलको ६ दशमलव २४ सेकेन्ड रहेको छ भने स्मार्ट टेलिकमको ११ दशमलव ५४ सेकेन्ड रहेको छ । प्राधिकरणको मापदण्डअनुसार अधिकतम पाँच सेकेन्डभन्दा कम हुनुपर्नेछ । 

प्राधिकरणको मापदण्डअनुसार कल अवरोध रेट अधिकतम २ प्रतिशत हुनुपर्नेछ । तर, नेपाल दूरसञ्चार कम्पनीको ११ प्रतिशत, एनसेलको ८ प्रतिशत र स्मार्ट टेलिकमको २८ प्रतिशत रहेको छ । कल ड्रप रेटमा भने प्राधिकरणले अधिकतम २ प्रतिशत हुनुपर्ने मापदण्ड तोकेको छ । तर, नेपाल दूरसञ्चारको ४ दशमलव ३८ प्रतिशत रहेको छ । एनसेलको १ दशमलव १८ रहेको छ भने स्मार्ट टेलिकमको १० प्रतिशत रहेको छ । जसअनुसार एनसेलले प्राधिकरणको मापदण्ड पूरा गरेको छ । 

प्राधिकरणले कल सेटअप सक्सेस, कल सेटअप टाइम, कल अवरोध रेट र कल ड्रप रेटको परीक्षण गरेको थियो । प्रतिवेदनअनुसार तीनवटै कम्पनीका चारवटै इन्डिकेटर कमजोर 
देखिएका छन् ।

 जावलाखेलवरिपरि दूरसञ्चारको कल सेटअप सक्सेस रेट शतप्रतिशत
जावलाखेलवरिपरिका क्षेत्रमा नेपाल दूरसञ्चार कम्पनीको मोबाइल सेवा गुणस्तर अन्य क्षेत्रको तुलनामा गुणस्तरीय भेटिएको छ । प्राधिकरणको प्रतिवेदनअनुसार बुङमती, च्यासीकोट, भैँसीपाटी, नख्खु, एकान्तकुना, जावलाखेल, कुपण्डोल, त्रिपुरेश्वर र जमल क्षेत्रमा कल सेटअप सक्सेस रेट शतप्रतिशत छ । प्राधिकरणको मापदण्डअनुसार न्यूनतम ९९ दशमलव ९९ प्रतिशत हुनुपर्नेछ । त्यस्तै, कल ब्लक रेट पनि टेलिकमको शून्य रहेको छ । प्राधिकरणको मापदण्डअनुसार २ प्रतिशतभन्दा कम हुनुपर्नेछ । सो क्षेत्रमा कल ड्रप रेटमा एनसेलको शून्य रहेको छ । 

सिंहदरबार, नयाँ बानेश्वर, मिलनचोक, भीमसेनगोला, गौशाला, गौरीघाट, पुरानो सिनामंगल, पेप्सिकोला, कोटेश्वर र ग्वार्को क्षेत्रमा कल ड्रप रेट शून्य रहेको छ । प्राधिकरणको मापदण्डअनुसार २ प्रतिशत हुनुपर्नेछ । अधिकांश स्थानमा एनसेलको कल ड्रप रेट शून्य रहेको छ । सीतापाइला, रामकोट र कलंकी क्षेत्रमा भने सबै टेलिकम कम्पनीहरूको कल ड्रप रेट शून्य भेटिएको छ । नयाँ बानेश्वर, शंखमूल, ग्वार्को, इमाडोल, सानागाउँ, लुभु र लामाटार क्षेत्रमा पनि एनसेल र स्मार्ट टेलिकमको कल ड्रप रेट शून्य भेटिएको छ । तर, नेपाल दूरसञ्चार प्राधिकरणको भने ३ दशमलव ५७ प्रतिशत भेटिएको छ । 

साथै, जमल, ज्ञानेश्वर, गौशाला, गौरीघाट, चाबहिल, एयरपोर्ट, सिनामंगल, कोटेश्वर, बालकुमारी र ग्वार्को क्षेत्रमा पनि एनसेल र स्मार्ट टेलिकमको कल ड्रप रेट शून्य भेटिएको छ । 
प्राधिकरणले यसअघि पनि पटक–पटक टेलिकम कम्पनीहरूको सेवा गुणस्तरको मापन गर्दै आइरहेको छ । तर, कुनै पनि परीक्षणमा कम्पनीहरू सफल देखिएका छैनन् । यसपटकको परीक्षणमा सबै कम्पनी असफल देखिएका छन् । 

परीक्षण प्रतिवेदनपछि प्राधिकरणले टेलिकम कम्पनीहरूलाई सेवा गुणस्तरको विषयमा पत्राचार गरेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए । उनका अनुसार प्राधिकरणले कम्पनीहरूलाई दुई महिनाको समय दिएको छ । दुई महिना अवधिमा कम्पनीहरूले आफ्नो सेवाको गुणस्तर उकास्नुपर्नेछ । कम्पनी आफैँले सेवाको गुणस्तरको ड्राइभ टेस्ट गरी प्राधिकरणलाई बुझाउन पत्राचार गरिएको उनले बताए ।