१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
मञ्जु टेलर काठमाडाैं
२o८१ बैशाख २३ आइतबार o५:५५:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

१५० प्रकारका औषधि उत्पादन गर्ने  सिंहदरबार वैद्यखाना ११ थरीमा सीमित

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o५:५५:oo

०६६/६७ देखि ०६९/७० सम्म १५० किसिमका आयुर्वेदिक औषधि उत्पादन गरेको वैद्यखानाले ०७१/७२ देखि ०७४/७५ सम्म ४० थरी उत्पादन गर्थ्यो, चालू वर्षमा आइपुग्दा अझै खस्किएर ११ प्रकारका औषधिमा सीमित

  • कच्चा पदार्थ अभाव, घाम तापेर घर फर्किन्छन् कर्मचारी
  • ३० वर्ष पुराना उपकरणको भरमा वैद्यखाना

ललितपुरकी जानकी शाक्य बुधबार बिहान सिंहदरबार वैद्यखानाअगाडि बिक्री काउन्टर खुल्ने समय पर्खेर बसेकी थिइन् । वैद्यखानाका कर्मचारी आएपछि उनले औषधिको पर्चा देखाइन्, तर कविराज आदित्य ठाकुरले औषधि सकिएको भन्दै अन्तबाट किन्न भनेर फर्काइदिए । मिर्गौलाको पत्थरीका कारण उनले लामो समयदेखि वैद्यखानाको आयुर्वेदिक औषधि सेवन गर्दै आएकी थिइन् । 

अहिले च्यावनप्रासबाहेक औषधि उपलब्ध छैन : ऋषिराज रेग्मी, वरिष्ठ मार्केटिङ अधिकृत, सिंहदरबार वैद्यखाना
चालू आव सुरु भएयता सितोपलादी चूर्ण, पञ्चसकार चूर्ण, आमलकी चूर्ण, हिङवास्टक चूर्ण, शुद्ध शिलाजित, कामदुग्धा रस, मोती पिष्टी, प्रवाल पिष्टी, अर्शकुठार रस, मिमिया र च्यावनप्रास गरी जम्मा ११ किसिमका औषधि मात्र उत्पादन भएका छन् । अहिले च्यावनप्रासबाहेक कुनै औषधि उपलब्ध छैन ।

केही महिनायता सिंहदरबार वैद्यखाना पुग्ने करिब ७० प्रतिशतभन्दा बढी ग्राहक निराश भएर फर्किन बाध्य छन् । एक सय ५० भन्दा धेरै थरी औषधि उत्पादन गर्ने वैद्यखाना अहिले ११ औषधिमा सीमित भएको छ । भरपर्दो र गुणस्तरीय आयुर्वेदिक औषधि पाइने बिक्री काउन्टरमा च्यावनप्रास र अन्य केही चूर्णबाहेक औषधि उपलब्ध छैनन् ।

‘औषधि उत्पादन नै छैन । दैनिक २५–३० जना ग्राहक आइपुग्छन्, तर खोजेको औषधि नहुँदा २० जनाजति खाली हात फर्किनुपरेको छ । नियमित औषधि खाइरहेका बिरामीलाई समेत अन्यन्त्र पठाउनुपर्ने अवस्था छ,’ दुई दशकदेखि वैद्यखानामा औषधि बेच्दै आएका कविराज ठाकुरले भने, ‘विगतमा दैनिक एक लाखभन्दा बढीको औषधि बिक्री हुन्थ्यो, अहिले २० हजारको कारोबार हुन पनि मुस्किल छ ।’ 

देशकै सरकारी स्वामित्वको एक मात्र आयुर्वेदिक औषधि उत्पादक ‘सिंहदरबार वैद्यखाना’मा औषधि अभाव छ । औषधिको उच्च माग रहेको कोभिड महामारीकै समयमा व्यवस्थापकीय कमजोरीले उत्पादन कम भएको छ । 

आर्थिक वर्ष ०७४/७५ मा पाँच करोड ३४ लाखको औषधि बिक्री–वितरण गरेको वैद्यखानाले आ.व ०७५/७६ मा दुई करोड ४८ लाख र आर्थिक वर्ष ०७६/७७ मा दुई करोड १७ लाख रुपैयाँबराबरको औषधि बिक्री गरेको छ । यस्तै, गत आर्थिक वर्षमा दुई करोड ६८ लाख रुपैयाँबराबरको औषधि बिक्री भएको डा. साह बताउँछन् । वैद्यखानाले चालू आर्थिक वर्षमा हालसम्म १२ हजार ६ सय ६९ केजी औषधि बिक्री गरेको छ, जसमध्ये पनि ११ हजार पाँच सय ८१ केजी च्यावनप्रास मात्रै उत्पादन भएको छ । 

वैद्यखाना विकास समितिका वरिष्ठ मार्केटिङ अधिकृत ऋषिराज रेग्मीका अनुसार बजारमा च्यावनप्रास, शिलाजित, अविपत्तिकर चूर्ण, लिभकेयर सिरप, एब्डोजाइम सिरपलगायतका औषधिको बढी माग हुने भए पनि उत्पादन नहुँदा वैद्यखाना खाली बन्दै गएको छ । ‘चालू आव सुरु भएयता सितोपलादी चूर्ण, पञ्चसकार चूर्ण, आमलकी चूर्ण, हिङवास्टक चूर्ण, शुद्ध शिलाजित, कामदुग्धा रस, मोती पिष्टी, प्रवाल पिष्टी, अर्शकुठार रस, मिमिया र च्यावनप्रास गरी जम्मा ११ किसिमका औषधि मात्र उत्पादन भएका छन् । अहिले च्यावनप्रासबाहेक कुनै औषधि उपलब्ध छैन,’ उनले भने । 

राजनीतिक दबाबले बिग्रियो : डा. सबरी साह, कार्यकारी निर्देशक, सिंहदरबार वैद्यखाना

वैद्यखानामा २७ वर्षमा १८ जना निर्देशक फेरिइसकेका छन् । व्यवस्थापन बलियो बनाउन त स्थिर भएर बस्न दिनुपर्‍यो नि ! नियमविपरीत काम गरिरहेका कर्मचारीलाई कारबाहीको दायरामा ल्याउँदा राजनीतिक दबाब आउँछ । समस्याको मुख्य कारण नै यही हो । 

बर्सेनि पाँच करोडको बिक्री लक्ष्य लिएको वैद्यखानाको उत्पादन निरन्तर घट्दै गएको देखिन्छ । वैद्यखानाका कार्यकारी निर्देशक डा. सबरी साहका अनुसार ०६६/६७ देखि ०६९/७० सम्म वैद्यखानामा एक सय ५० किसिमका आयुर्वेदिक औषधि उत्पादन हुन्थे । खस्कँदो व्यवस्थापनका कारण ०७१/७२ देखि ०७४/७५ को अवधिसम्म आइपुग्दा ४० प्रकारका औषधि उत्पादन भएको तथ्यांक छ । तर, ०७८/७९ मा औषधिको संख्या घटेर ११ मा सीमित भएको छ ।

डा. साह वैद्यखानाको व्यवस्थापन खस्किनुमा यसअघिका निर्देशकहरूको व्यवस्थापन कमजोरी र राजनीतिक दबाब रहेको बताउँछन् । उनी भन्छन्, ‘२७ वर्षमा १८ जना निर्देशक फेरिइसकेका छन् । व्यवस्थापन बलियो बनाउन त स्थिर भएर बस्न दिनुपर्‍यो नि ! नियमविपरीत काम गरिरहेका कर्मचारीलाई कारबाहीको दायरामा ल्याउँदा राजनीतिक दबाब आउँछ । समस्याको मुख्य कारण नै यही हो ।’ 

सात महिनादेखि कर्मचारी आन्दोलनमा 
कर्मचारी कल्याणकारी कोष स्थापनाको माग राख्दै वैद्यखानामा ४७ कर्मचारी गत भदौदेखि आन्दोलनमा छन् । बिहान ११ बजेसम्म कालोपट्टी बाँधेर विरोध गर्दै आए पनि कार्यकारी निर्देशकले बेवास्ता गर्दै आएको उत्पादन अधिकृत डा. विनोद शाहले बताए । तीन महिनादेखि आफू जिम्मेवारीविहीन भएको पनि उनले बताए । कार्यकारी निर्देशक साह भने औषधि बिक्रीको आम्दानीबाट तलबसमेत दिन सक्ने अवस्था नरहेका वेला कल्याणकारी कोष स्थापना गर्न असक्षम रहेको जवाफ दिन्छन् । 

त्यसो त वैद्यखाना प्रमुखविहीन छ । स्वास्थ्य मन्त्रालयले नियुक्तिका लागि चासो नदिएको कर्मचारीको गुनासो छ । संशोधित सिंहदरबार वैद्यखाना विकास समिति गठन आदेश, २०७७ ले सिंहदरबार वैद्यखानामा ११औँ तहकालाई कार्यकारी निर्देशक नियुक्त गर्ने व्यवस्था गरेको छ । नयाँ गठन आदेशअनुसार ११औँ तहको कार्यकारी निर्देशक नियुक्त गर्नुपर्ने भए पनि वैद्यखाना १०औँ तहका डा. सबरी साहले हाँकिरहेका छन् । 

ad
ad