राप्रपा, नेपालका अध्यक्ष कमल थापाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो राजनीतिक भविष्य नै समाप्त पार्ने प्रयास गरेको आरोप लगाएका छन्। अध्यक्ष थापाले हामीले आदर्श मानेको राजसंस्थाले गुटलाई साथ दिएपछि त्यसमा पुनर्विचार गर्न पार्टी नेतृत्वसँग गरिएको आग्रहलाई बेवास्ता गरेर त्यसलाई रद्धीको टोकरीमा फाल्ने काम भएपछि नयाँ अभियानको सुरुवात गर्नुपरेको उनले बताए ।
शनिबार काठमाडौंमा आयोजित पार्टीको औपचारिक घोषणासभामा बोल्दै उनले लिङ्देनले एकपक्षीय ढंगबाट पार्टी सञ्चालन गर्ने, आफूहरूलाई पाखा लगाउने र धकेलेर पर पुर्याउने परिस्थिति भएपछि निरीह, लाचार र अपमानित भएर बस्नुभन्दा राप्रपा नेपाललाई नै पुनर्जागृत गरेर जाने निर्णयमा पुग्नुपरेको बताए।
अध्यक्ष थापाले आफूसँग बहुमत पक्ष हुँदाहुँदै पनि राप्रपा विभाजन नगरेर अलग भएको पनि पटकपटक दोहोर्याए। उनले राप्रपा नेपाललाई छिट्टै राष्ट्रवादी राजनीतिक शक्तिको रूपमा स्थापित गराउने प्रतिबद्धता पनि व्यक्त गरे। त्यस अवसरमा अध्यक्ष थापाले राप्रपा नेपाललाई नेतृत्व दिँदै आएका तत्कालीन अध्यक्ष लाक्पा तामाङप्रति आभार व्यक्त गर्दै अब आफूले कहिल्यै धोका नदिने पनि बताए। कार्यक्रममा पूर्वमन्त्री राजीव पराजुलीसहितका नेताहरूले कमल थापाको नेतृत्वमा राप्रपा नेपाल मुलुकको भरपर्दो राजनीतिक शक्तिको रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका थिए ।