१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o६:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पाँचखालमा स्मार्ट सिटी बन्दै, इन्फ्रा बैंक र सिंगापुरको कम्पनीबीच समझदारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:२९:oo

पाँचखालमा स्मार्ट सिटी विकास गर्नेसम्बन्धी समझदारीपत्र (एमओयू)मा मंगलबार काठमाडौंमा हस्ताक्षर भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र सिंगापुरस्थित सुरबाना जुरोङ (एसजे) समूहको एसएमइसी इन्टरनेसनल प्राइभेट लिमिटेड (एसएमइसी)बीच समझदारी भएको हो । निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र एसएमइसीका कन्ट्री हेड सलिम जहाँफहिमले आ–आफ्नो कम्पनीको प्रतिनिधित्व गरी समझदारीपत्रमा हस्ताक्षर गरे ।  

समझदारीपत्रअनुसार सिंगापुरस्थित ग्लोबल सहरी पूर्वाधार परामर्श फर्म सुरबाना जुरोङ समूहको सदस्य एसएमइसीले प्रस्तावित स्मार्ट सिटीको निर्माण गर्न आवश्यक हुने प्रारम्भिक अध्ययन गर्नेछ । त्यसबाहेक परियोजनाको संरचनागत खाका एवं अन्तर्राष्ट्रिय सफल अभ्यासहरू अध्ययन विश्लेषणसम्बन्धी कार्यहरूमा सहकार्य गर्नेछ । विशेष गरी स्मार्ट सिटी निर्माणका लागि आवश्यक वित्तीय, कानुनी र लगानी ढाँचाबारे सहयोग गर्ने निफ्राका सूचना अधिकारी सुवर्णकुमार सिंहले जानकारी दिए । निफ्राले सहकार्यका दौरानमा एसजेलाई आवश्यक सहजीकरण गर्नेछ । त्यस्तै, स्मार्ट सिटी विकासका लागि अन्य सरोकारवालासँगको समन्वयमा निफ्राको अगुवाइमा आवश्यक लगानी जुटाउने कार्य गर्नेछ । 

पाँचखाल नगरपालिकाले स्थानीय जग्गाधनीसँगको समन्वयमा जग्गा प्राप्ति गर्न सहजीकरण र सहकार्य गर्नेछ । पाँचखाल स्मार्ट सिटीले करिब पाँच हजार पाँच सय रोपनी क्षेत्रफल ओगट्नेछ । तर, आयोजनाको लागत अझै अनिश्चित छ । स्मार्ट सिटीको विकासका लागि निफ्राले पाँचखाल नगरपालिकासँग छुट्टै समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ । निफ्राले ११ साउन ०७८ मा सार्वजनिक–निजी साझेदारीमा पाँचखाल नगरपालिकामा स्मार्ट सिटी परियोजनामा  लगानी, निर्माण तथा सञ्चालनसम्बन्धी समझादारीपत्रमा हस्ताक्षर गरेको थियो । निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र पाँचखाल नगरपालिकाका मेयर महेश खरेलबीच सातबुँदे समझदारी भएको थियो । 

ad
ad