१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o७:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

भारतीय व्यापारीको अफवाहले नेपाली चियामा समस्या

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:o५:oo

नेपाली चिया गुणस्तरहीन भएको भन्दै भारतीय व्यापारीले अफवाह फैलाउँदा नेपाली चियालाई प्रत्यक्ष असर परेको छ । सोही कारण नेपाली चियाको बजारीकरणदेखि निकासीसम्म समस्या भएको चिया उद्यमीहरूले बताएका छन् ।  भारतीय चियाभन्दा नेपाली चिया गुणस्तरीय भए पनि अफवाह फैलाइएको चिया उद्यमी उदय चापागाईंले बताए । ‘हामीलाई सबैभन्दा पहिलो समस्या भनेको भारतसँग प्रतिस्पर्धा गर्दा प्रतिद्वन्द्वीले अनावश्यक गरेको हल्ला हो । उहाँहरू आधारहीन अरोप लगाउनुहुन्छ । भारतकै खाद्य अनुसन्धानमा ल्याब टेस्ट गर्छौँ । पास भएर गएको हुन्छ । तर, त्यहाँ चिया उत्पादक र राजनीतिज्ञले काल्पनिक कुरा उठाएर गुणस्तरहीन भन्छन्,’ उनले भने, ‘नेपालको चिया भारतको भन्दा गुणस्तरीय भएको प्रमाणित पनि भएको छ । उहाँहरू चिनियाँ चिया नेपाल भएर आउँछ भन्दै प्रपोगान्डा फैलाउनुहुन्छ । हाम्रो चिया पपुलर भएपछि उपभोक्तालाई भ्रम छरिरहेका छन् ।’

चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलले बाध्यताले नेपाली चिया भारत निकासी गरिरहनुपरेको बताए । तेस्रो देशमा चियाको बजार विस्तार गर्न राज्यले सहयोग नगर्दा भारतकै भर पर्नुपरेको उनले बताए । आइतबार चिया तथा कफी विकास बोर्ड, महावाणिज्य दूतावासको कार्यालय कोलकाता र नेपाल चिया उत्पादक संघको संयुक्त आयोजनामा आइतबार झापामा भएको अन्तक्र्रियामा मित्तलले भारतले नेपाली चियामा वेला–वेलामा अवरोध खडा गरिरहँदा समस्या भएको बताए । 

भारतको चिया उत्पादनको तुलनामा १ प्रतिशत मात्र चिया भारत निकासी हुँदा पनि भारतले झन्झट दिइरहने गरेको उनले बताए । चिया उत्पादक चण्डी पराजुलीले चियालाई राज्यले संरक्षण नै नगरेको बताए । ‘चिया तथा कफी विकास बोर्ड छ । यसको मिटिङ तीन वर्षमा एकपटक हुन्छ । तर, केही हुँदैन । राज्यले चियालाई संरक्षण नै गरेन,’ उनले भने, ‘समयमा मल पाइँदैन । मलविना चिया हुँदैन । हामी भन्सार तिरेर मल ल्याउँछौँ भन्दा पनि मिल्दैन रे ।’

उनले भारतीय पक्षले नेपाली चियाको गुणस्तर जाँचका नाममा लामो समय लगाउने गरेको बताए । ‘गुणस्तर जाँचका लागि लगेको चियाको स्याम्पलको रिपोर्ट २०–२५ दिनमा मात्र आउँछ । यो समयसम्म चिया पनि बिग्रिन्छ,’ उनले भने, ‘पानीट्यांकीमा पार्किङ गर्दा खर्च पनि बढ्छ । भन्सारमा कम्पाउन्ड पनि छैन । सुरक्षित पनि हुँदैन ।’

नेपालको कुल उत्पादनको ९५ प्रतिशतभन्दा धेरै प्रदेश १ मा चिया उत्पादन हुन्छ । चिया उत्पादनका लागि झापा र इलाम प्रख्यात मानिन्छ । इलाममा अर्थोडक्स चिया उत्पादन हुन्छ भने झापामा सिटिसी चिया उत्पादन हुँदै आएको छ । व्यवसायीका अनुसार करिब दुई करोड केजी सिटिसी चिया नेपालमा उत्पादन हुन्छ । यसको ४० प्रतिशत आन्तरिक बजारमा खपत हुन्छ भने भारतमा ६० प्रतिशत निर्यात हुँदै आएको छ । अर्थोडक्स चिया करिब ६० लाख उत्पादन हुन्छ । अर्थोडक्सको ९० प्रतिशतभन्दा धेरै बजार भारत हो । 

कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलले चियामा देखिएका अवरोध हटाउन पहल गर्ने बताए । उनले विगतदेखि नेपाल–भारत व्यापारमा आउने समस्या समाधानका लागि समन्वयकारी भूमिका खेल्दै आएको बताए । पौडेलले चियाको नमुना परीक्षणमा लाग्ने समय छोट्याउनका लागि कोलकाता फर्कनसाथ लागिपर्ने बताए । 

 नेपाली हरियो पत्ती लगेर दार्जिलिङको ब्रान्डमा विश्व बजारमा
नेपाली हरियो पत्ती अवैध निकासी गरेर भारत लैजाने गरेको व्यवसायीले आरोप लगाएका छन् । इलाममा उत्पादन हुने चियापत्ती अवैध ढंगले भारत लगेर दार्जिलिङको चियाको ब्रान्ड बनाएर विश्वबजारमा बिक्री हुने गरेको सूर्योदय टी प्रोड्युसर एसोसिएसनका अध्यक्ष उत्तमकुमार श्रेष्ठले बताए । ‘नेपाली चिया अवैध ढंगले किनेर दार्जिलिङ लगेर दार्जिलिङको ब्रान्ड बनाएर फाइदा लिइरहेको छ,’ उनले भने, ‘तैपनि, भारतीय टी बोर्डले नै अवरोध खडा गरिरहेको छ ।’ व्यवसायीका अनुसार सिजनमा इलामको श्रीअन्तु भएर अवैध ढंगले दैनिक २० हजार केजीसम्म दार्जिलिङ लैजाने गरिएको छ । 

ad
ad