१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २९ शनिबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २९ शनिबार o७:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सभामुखले एमसिसी अगाडि नबढाएकोमा ओलीको असन्तुष्टि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २९ शनिबार o७:४७:oo

एमाले अध्यक्ष केपी ओलीले सभामुख अग्नि सापकोटाले एमसिसी अगाडि नबढाएको भन्दै असन्तुष्टि पोखेका छन् । वर्तमान गठबन्धन सरकार सभामुख सापकोटाका सामु निरीह बनेको ओलीको आरोप छ । सरकारले संसद् सचिवालयमा दर्ता गरेको एमसिसी सम्झौतासम्बन्धी कार्यसूचीलाई सभामुख सापकोटाले छलफलका लागि रोकेर अनधिकृत गरेको ओलीको आरोप छ ।

पूर्वसभामुख कृष्णबहादुर महरा र हालका सभामुख सापकोटको भूमिकाप्रति ओलीको असन्तुष्टि छ । ‘सरकारले निर्णयार्थ पेस गर्नका लागि संसद्मा दर्ता गरेको विषयलाई रोक्छु भन्ने अधिकार सभामुखलाई छैन, त्यो सभामुखको कर्तव्य पनि होइन । तैपनि उनले अनधिकृत ढंगले बलमिच्याइँ गरेका छन् । यो गठबन्धनको निरीहता, पदलोलुपता र जसरी पनि गठबन्धन कायम राख्नुपर्छ र सरकारमा बस्नुपर्छ भन्ने कुरा हो,’ शुक्रबार पार्टीको प्रशिक्षण उद्घाटन गर्दै ओलीले भने, ‘अघिल्लो सभामुखले अनधिकृत क्रियाकलाप गरेका हुन्, अहिलेका सभामुखले पनि त्यही अनधिकृत क्रियाकलाप जारी राखेका छन् । त्यस्तो अनधिकृत क्रियाकलाप गर्ने सभामुखकहाँ केही प्रशंसा गर्न पुग्छन् रे भन्ने थाहा पाउँदा अचम्म लागेको छ ।’ 

पुनर्स्थापित संसद् एमालेको अवरोधका कारण चल्न सकेको छैन । एमालेले गठबन्धनले आफ्नो धारणा बनाएपछि एमसिसीबारे पार्टीले निर्णय गर्ने बताएको छ । आफू प्रधानमन्त्री हुँदा एमसिसी पास गराउन प्रयास गरेका ओली अहिले पनि स्पष्ट देखिएका छैनन् । ओलीले सरकारले राष्ट्रलाई गम्भीर कूटनीतिक अप्ठेरोमा फसाउँदै लगेको दाबी गर्दै भूराजनीतिक अवस्थाप्रतिका खेलबाडपूर्ण गतिविधिले नेपालले चर्को दबाब सहनुपर्ने अवस्था आएको पनि बताए ।

अमेरिकालाई एमसिसी पारित गर्ने लिखितपत्र लेखेर प्रचण्डले जनतासँग अर्कै र पार्टीभित्र अर्कै कुरा गरेर देश र जनतालाई झुक्याएको ओलीको आरोप छ । नेताहरूको यस्तो गैरजिम्मेवार चरित्रले देशलाई गम्भीर संकटमा धकेलेको ओलीको भनाइ छ । ओलीले प्रधानमन्त्री र एउटा पार्टी अध्यक्षले एमसिसीलाई पत्र लेखेको घटना प्रोटोकल र राष्ट्रिय स्वाभिमानका हिसाबले गम्भीर आपत्तिजनक भएको पनि दाबी गरे ।