मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २८ शुक्रबार
  • Wednesday, 08 January, 2025
२o७८ माघ २८ शुक्रबार १९:o८:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

पाँचजनाको ज्यान लिएको त्यो हृदयविदारक घटना 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७८ माघ २८ शुक्रबार १९:o८:oo

राति  साढे १२ बज्नै लागेको थियो । तुलसीपुर उपमहानगरपालिका वडा  नं. ५‘ङ’लाइनस्थित इरम फुटवेयरमा आगलागी भयो । सटरमा इरमका जुत्ता,चप्पल थिए भने भित्रको गोदाममा पनि इरमकै जुत्ता, चप्पलको गोदाम थियो। त्यही घरमा नजिकै पसल गर्ने सासिजा शृंगार पसलका सञ्चालकहरू पनि  बस्थे। उनीहरूले पनि त्यही घरलाई आफ्ना शृंगारका सामग्रीहरू राख्ने गोदामका रूपमा प्रयोग गरेका थिए । 

सटर र गोदामसँगै त्यहाँ तीन परिवार डेरा गरेर बस्थे । इरम फुटवेयरको परिवार, नजिकै पसल गर्ने सासिजा शृंगार पसल गर्नेको परिवार र मोहमद आशिष मियाँको परिवारले त्यही घरमा कोठा भाडामा  लिएर बस्ने गर्थे । मोहमद आशिषले राति घरमा आगलागी भएको थाहा पाएपछि चिच्याउँदै बाहिर निस्किन सफल भए । उनको कोठामा उनका बुवा, आमा, दिदी  र बहिनी गरी पाँचजना बस्थे । उनीहरू चिच्याउँदै बाहिर निस्किए । उनीहरू चिच्याएपछि अन्य कोठाका परिवार पनि हत्तपत्त बाहिर निस्किन प्रयास गरे ।‘आगलागी भएको थाहा पाएपछि हामी हत्तपत्त बाहिर निस्कियाैँ, त्यहाँ बस्ने अरूलाई पनि बाहिर निस्किन भनेर चिच्यायौँ,’ उनले  भने, ‘अरू पनि बाहिर निस्किने प्रयास गर्दै हुनुहुन्थ्यो ।’ 

मोहमद चिच्याएपछि सोही घरमा बस्ने सासिजा शृंगार पसलका सञ्चालक ४० वर्षीय नगरदिन अली आफ्नो परिवारलाई बाहिर निकाल्न प्रयास गरिरहेका थिए । उनले कोठाबाट श्रीमती र बुवालाई बाहिर सडकमा निकाल्न सफल भए । बुवा र श्रीमतीलाई  निकाले पनि उनका १३ वर्षीया छोरी सुजिता खातुन अली र ५ वर्षीय छोरा अबददिन भित्रै थिए । उनीहरूलाई बाहिर निकाल्न भनी गएका नगरदिन त्यसपछि भने न त आफू नै बाहिर आउन सके न त छोराछोरीलाई नै बाहिर निकाल्न सके । उनीहरू तीनैजनाको मृत्यु भयो । ‘छोरोले हामीलाई बाहिर छोडेर भित्र नातिनातिना लिन गएको थियो,’ नगरदिनका बुवा हाजी अहमद अलीले भावुक हुँदै भने, ‘तर, आफैँ पनि आउन सकेन ।’ 

अर्का इरम फुटवेयरका पनि दुई छोराहरूको निसास्सिएर मृत्यु भयो । इरमका सञ्चालक कामको सिलसिलामा नेपालगन्ज गएका  थिए । उनी साँझ घर आएका थिएनन् । कोठामा  उनकी श्रीमती, दुई छोरा र एक छोरी थिए । उनकी श्रीमतीको काखमा ५/६ वर्षकी छोरी थिइन् । त्यही  छोरीलाई बोकेर आमा बाहिर निस्किन सफल भइन् । तर, अन्य दुईजना छोराकाे भने भित्रै निसास्सिएर मृत्यु भयो । १६ वर्षीय मसिन बकस र १४ वर्षीय हसन बकसको मृत्यु भएको हो । उनीहरूको घर सुर्खेत भए पनि हाल तुल्सीपुरमा कोठा भाडामा  बस्दै आएका थिए । 

आगलागी भएको घर चार तलाको हो । त्यो घरका मालिक बैंकका पूर्वकर्मचारी बकसबहादुर केसीको भए पनि उनीहरू हाल काठमाडौं  बस्दै आएका छन् । पूरै भाडामा भएको घर व्यापारिक प्रयोजनका लागि प्रयोग भए पनि  तीन परिवार भने बस्ने गर्दथे । मानिस बस्नेबाहेक अन्य कोठामा गोदाम बनाइएको थियो ।  जुत्ता, चप्पल र शृंगारकै सामग्रीले गर्दा त्यहाँ आगो नियन्त्रण गर्न  समस्या भएको तुल्सीपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मीनराज भण्डारीले बताए ।‘आगलागी भएलगत्तै म साढे १ बजेतिर घटनास्थलमा पुगेको थिएँ, त्यति वेला  प्रहरी र हामीहरू मिलेर उद्धार गरिरहेका थियौँ ।’,उनले भने,‘ जुत्ता, चप्पलमा लागेको आगो अरूभन्दा पनि खतरा हुने रहेछ, निभ्न पनि ननिभ्ने र मुस्लो पनि त्यस्तै आउने रहेछ, त्यसले गर्दा पनि उद्धारमा निकै समस्या भयो । ’ 

पहिले एउटा दमकलले मात्रै आगो निभाउने प्रयास गरिएको थियो । तर, त्यसले सम्भव भएन । त्यसपछि घोराहीबाट पनि दमकल ल्याइयो । २/३ वटा ट्यांकर पनि ल्याएर आगो निभाउने  प्रयास भयो । पानी सकियो तर आगो निभेन। त्यसपछि त्यहाँ घर/घरबाट बाल्टी ल्याउँदै पानी हाल्दै गर्ने काम पनि भयो । त्यसरी आगो निभाउने प्रयास भए पनि समयमै आगो निभाउन  नसकिएको संघका वरिष्ठ उपाध्यक्ष भण्डारीले बताए । 

राति गस्तीमा गएको प्रहरी टोली आगोको मुस्लो देखेपछि तत्काल उद्धारमा खटिएको थियो । प्रहरी त्यहाँ पुग्दा केही व्यक्ति बाहिर निस्किसकेका थिए। आगोको मुस्लो पनि ठूलो थियो । प्रहरी पुग्नेबित्तिकै तत्काल दमकल आएको  थियो । राति साढे १२ बजेतिर आगलागी भएको भए पनि बिहान ८ बजेतिर मात्रै आगो नियन्त्रणमा आएको हो ।