मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल फोटो
२०७८ माघ २८ शुक्रबार १०:४७:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

प्रधानसेनापतिले गरे दार्चुला–तिंकर सडकको हवाई निरीक्षण

Read Time : < 1 मिनेट
२०७८ माघ २८ शुक्रबार १०:४७:००

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला–तिंकर सडकको हवाई निरीक्षण गरेका छन् । सुदूरपश्चिमको भ्रमणमा आएका शर्माले बिहीबार हेलिकोप्टरमार्फत सडकको निरीक्षण गरेका हुन् ।

प्रधानसेनापति शर्माले दार्चुला–तिंकर सडकअन्तर्गत व्यास गाउँपालिकाको तुसरपानीदेखि कोठेधार चार किलोमिटर तथा कोठेधारदेखि तिंकर ८७ किलोमिटर सडकखण्डको हवाई निरीक्षण गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । सेनाले निर्माण गरिरहेको सडकको अवस्थाबारे बुझ्न प्रधानसेनापति व्यासको सुनसेरा गएका हुन् । 

सरकारले गत वर्ष दार्चुला–तिंकर सडकखण्डको आधा काम नेपाली सेनामार्फत गराउने निर्णय गरेको थियो । सोहीअनुसार नेपाली सेनाको विकास दलले व्यास गाउँपालिका– २ कोठेधारदेखि दुम्लिङसम्मको विभिन्न खण्डमा सडक निर्माणको काम थालनी गरेको छ । महाकाली करिडोरअन्तर्गत निर्माणाधीन यो सडकमा अहिले सेनाले काम गर्न थालेको छ ।

०६५/६६ बाट निर्माण सुरु भएको यो सडकखण्ड कञ्चनपुरको ब्रह्मलेवदेखि दार्चुलाको तिंकरसम्म पुग्ने सामरिक महत्वको सडक हो । 
अहिलेसम्म एक सय ५८ किलोमिटर सडकखण्डको ट्र्याक खुलाइएको छ । जसअनुसार महाकाली करिडोर खण्डमा ९० किलोमिटर तथा तिंकर सडकमा ४३ किलोमिटर सडकको दार्चुला तिंकर सडक योजनाअन्तर्गत ट्र्याक खुलाइएको छ । कुल १८ अर्ब लागतमा निर्माण सम्पन्न हुने यो योजनाको हालसम्म डेढ अर्ब बढी बजेट खर्च भएको छ । 

धनगढीबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत दार्चुला आएका शर्मासँगै रक्षा–सचिव किरणराज शर्मा पनि छन् । दार्चुलामा रहेको गुरुगोरख गुल्मले महाकाली नगरपालिका–५ खेटबोकेमा थालेको तीनमहिने नेपाली सेनाको तालिमको समापनलगत्तै प्रधानसेनापति शर्मा तिंकर सडकको निरीक्षणमा गएका हुन् । यसअघि उनले आजै धनगढीमा सुदूरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीसँग भेट तथा छलफलसमेत गरेका छन्  भेटवार्ताका क्रममा सुदूरपश्चिम प्रदेशको समग्र शान्ति सुरक्षा र नेपाली सेनाले विपत्का वेलामा खेलेको उल्लेखनीय भूमिकालगायतका विषयमा छलफल भएको बताइएको छ ।