
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन आक्रमणको विरुद्ध चेतावनी दिँदै यो ‘दुःखद गलत गणना’ हुने बताएका छन्। जोनसनले बुधबार पुटिनसँगको टेलिफोनका क्रममा चेतावनी दिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
उनले रुसी राष्ट्रपतिलाई युक्रेनको सिमानामा रहेका एक लाख सैनिकलाई लिएर चिन्तित भएको बताएका एनएचके वर्ल्डले जनाएको छ। बेलायती अधिकारीहरूले एक विज्ञप्ति जारी गर्दै उत्तेजना कसैको हितमा नहुने उल्लेख गरेका छन्।
जोनसनले युक्रेनले चाहेको खण्डमा नाटोको ‘रक्षात्मक गठबन्धन’मा सामेल हुन आवेदन दिने पूर्ण अधिकार रहेको र रुससँगको गतिरोधमा भएको कुनै पनि वार्तामा किभलाई समावेश गर्नुपर्नेमा जोड दिए। उनले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको वार्तापछि चेतावनी दिँदै किभको भ्रमण सीमामा रुसी सेनाले युक्रेनका लागि ‘स्पष्ट र वर्तमान खतरा’को प्रतिनिधित्व गरेको बताएका अल जजिराले जनाएको छ।
यसैबीच, रुसी अधिकारीहरूले उनीहरूको चिन्ताका लागि नाटोको प्रतिक्रिया अपर्याप्त भएको टिप्पणी गरेका छन्। युक्रेनलाई लिएर रुस र पश्चिमबीच तनाव निर्माण भइरहेको छ। पश्चिमले मस्कोलाई आफ्नो पश्चिमीसमर्थक छिमेकीमाथि आसन्न आक्रमणको तयारी गरेको आरोप लगाएको छ।
रुसले युक्रेन आक्रमण गर्ने कुनै योजना नभएको बताउँदै आएको छ। रुसले युक्रेनलाई नाटोमा सामेल हुन नदिने र पूर्वसोभियत ब्लकमा अमेरिकी नेतृत्वको सैन्य गठबन्धनको विस्तारविरुद्ध अन्य सुरक्षा ग्यारेन्टीहरूको शृंखलाको भने माग गरिरहेको छ। रासस/एएनआई