मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २० बिहीबार
  • Monday, 16 December, 2024
बुधबार भक्तपुरमा बसेको एमाले केन्द्रीय सचिवालय बैठक ।
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २० बिहीबार o७:३४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चुनाव घोषणा गराउन एमालेले दबाबमूलक आन्दोलन गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २० बिहीबार o७:३४:oo

प्रमुख विपक्षी दल एमालेले स्थानीय चुनाव घोषणा गराउन सरकारविरुद्ध दबाबमूलक आन्दोलन घोषणा गरेको छ । एमाले केन्द्रीय सचिवालयको बुधबारको बैठकले सातवटै प्रदेशमा दबाबमूलक आन्दोलन घोषणा गरेको छ । 

निर्वाचन आयोगले आगामी ४ जेठमा स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न प्रस्ताव गरेको र प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै नै यसबारे मन्त्रिपरिषद्बाट निर्णय हुने बताएको अर्को दिन एमालेले आन्दोलनमा जाने बताएको हो । एमालेले बिहीबारसम्म चुनाव घोषणा नभए आफ्नै अग्रसरतामा आन्दोलन व्यापक बनाउने निर्णय लिएको छ ।

‘स्थानीय तहको चुनावको दबाबका लागि पार्टी केन्द्रीय कार्यालयको व्यवस्थापनमा केन्द्रमा दबाबमूलक कार्यक्रम गर्छौँ । त्यस्तै, सातवटै प्रदेशमा त्यस्ता दबाबमूलक कार्यक्रम गरेर सरकारलाई दबाब दिन्छौँ,’ बैठकपछि उपमहासचिव तथा प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले सञ्चारकर्मीहरूसँग भने, ‘सरकारले बिहीबार चुनाव घोषणाको निर्णय गरेन भने हामी नेपालको संविधान र कानुनअनुसार स्थानीय तहलाई रिक्त हुन नदिन यसअघि जनसंगठनको आयोजनामा सञ्चालन हुँदै आएको दबाबमूलक कार्यक्रमलाई पार्टी आफैँले महŒव दिएर केन्द्रमा पार्टी कार्यकर्ता भेला राख्छौँ, सातवटै प्रदेशमा दबाबमूलक कार्यक्रमको तयारी अगाडि बढाउँछौँ ।’ 

एमालेका जनसंगठनहरूले आइतबार, सोमबार र मंगलबार जिल्ला प्रशासन कार्यलयमार्फत चुनाव घोषणाका लागि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए । त्यस्तै, जनसंगठनहरूले विभिन्न जिल्लाहरूमा गोष्ठी, अन्तत्र्रिmया, मसाल जुलुस, धर्ना र कालो झन्डा प्रदर्शनलगायतका कार्यक्रम जारी राख्दै आएका छन् ।

त्यस्तै, बैठकले पार्टीपंक्तिलाई स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिँदै प्रदेश अधिवेशनहरू स्थानीय निर्वाचनपछि गर्ने र जिल्ला अधिवेशनहरू निर्वाचनअघि नै गर्ने निर्णय भएको छ । त्यस्तै, स्थानीय निर्वाचनमा केन्द्रित हुने गरी केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने, युवा, विद्यार्थी, महिला र किसानबाहेकका जनसंगठनका राष्ट्रिय अधिवेशनहरू तोकिएकै मितिमा गर्ने निर्णय पनि बैठकले गरेको छ । 

त्यस्तै, बैठकले पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका सुझावसहित पारित गरेको छ । बैठकले केन्द्रीय प्रचार तथा प्रकाशन, उद्योग वाणिज्य तथा आपूर्ति विभाग, पार्टी स्कुल विभाग, सहकारी तथा गरिबी निवारण विभाग र स्थानीय तह विभागमा सदस्यहरू मनोनयन गरेको छ । 

त्यस्तै, राष्ट्रिय सभा निर्वाचनमा प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा देखिएको अनुशासनहीनता र अन्तर्घातको छानबिन गरी कारबाहीका लागि सिफारिस गर्न प्रदेश कमिटीहरूलाई जिम्मेवारी दिएको छ ।

बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ र सुदूरपश्चिममा भएको अनुशासन उल्लंघन एवं अन्तर्घातको छानविन गर्न कारवाहीका लागि सिफारिस गर्न प्रदेशलाई निर्देशन दिएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । केही दिन अगाडि पार्टी छाडेकी तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुखलाई निष्कासन गर्ने निर्णय सचिवालय बैठकले गरेको जानकारी दिँदै गुरुङले रौतहट र पर्सामा जिल्ला अधिवेशनमा देखिएको विवाद समाधान गर्न केन्द्रीय संगठन विभागलाई जिम्मेवारी दिइएको जानकारी दिए ।

बैठकले यसै साता केन्द्रमा प्रशिक्षण कार्यक्रम गर्ने, प्रदेशमा पनि कार्यक्रम सञ्चालन गर्ने, आफूहरूले गरेको राम्रा कामको प्रचार गर्दै स्थानीय तह निर्वाचन जित्ने रणनीतिका साथ अगाडि बढ्ने उनले बताए ।