महामारीको समयमा खोप भण्डारणका लागि कोल्ड चेन बलियो बनाउन युनिसेफको सहयोगमा जापान सरकारले कुलर, रेफ्रिजेटर र कोल्ड बक्स सहयोग गरेको छ । एक वर्षको अवधिमा जापान सरकारले नौवटा वाक इन कुलर, ३८ वटा सोलार ड्राइभन भ्याक्सिन रेफ्रिजेटर, एक हजार एक सय नौवटा भ्याक्सिन क्यारियर र ५३ वटा कोल्ड बक्स उपलब्ध गराएको छ ।
अनुदानमा नेपाल पठाइएका यी सामान ३० जनवरीसम्म नेपाल पुर्याइसक्ने लक्ष्य पूरा भएको युनिसेफले जनाएको छ । कोभिडविरुद्धको खोप भण्डारण प्रणाली बलियो बनाउन सहयोग गर्दै आएको जापान सरकार र युनिसेफले संयुक्त विज्ञप्ति जारी गर्दै कोल्ड चेन उपकरणको मर्मत र सञ्चालनमा समेत सहयोग पुर्याएको जनाएको छ ।
‘नेपालले हाल ओमिक्रोन भेरियन्टका कारण तेस्रो लहरको सामना गरिरहेको छ, जसले भ्याक्सिन ड्राइभलाई समेत मुख्य प्राथमिकतामा राख्न बाध्य बनाउँछ,’ नेपालका लागि जापानका राजदूत किकुता युताकाले भने, ‘खोपको उपयुक्त भण्डारण महत्वपूर्ण बनेको छ र यो अनुदानको उद्देश्य भ्याक्सिनको भण्डारण र वितरणको क्षमतामा व्यापक वृद्धि गर्न नेपाललाई सहयोग गर्नु हो ।’
अनुदानमा ल्याइएको वाक–इन–कुलरहरू सजिलैसँग एक ठाउँबाट अर्कोमा पुर्याउन सकिने र तुलनात्मक रूपमा छिटो स्थापना गर्न सकिने जनाइएको छ । यस्तै विद्युत् उपलब्ध नहुने स्थानका लागि सौर्य–सञ्चालित रेफ्रिजरेटरहरूले भण्डारण समस्या समाधान गर्ने र क्यारियरहरू र बक्सहरूले खोप वितरणमा सहयोग पुर्याउने राजदूत युताकाले बताए । जापान सरकारले महामारीको समयमा भ्याक्सिन, एम्बुलेन्स, औषधि र कोल्ड चेन बिस्तारका लागि उपकरणहरू अनुदानमा उपलब्ध गराउँदै आएको छ ।