१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १८ मंगलबार
  • Sunday, 29 September, 2024
२o७८ माघ १८ मंगलबार २o:१३:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

एमाले सचिव भट्टको गृहनगरमा कमिटी चयनमा विवाद 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७८ माघ १८ मंगलबार २o:१३:oo

कैलालीको गोदावरी नगरपालिकामा नगर कमिटी गठनलाई लिएर नेकपा एमालेभित्र विवाद चर्किएको छ । एमाले सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको गृहनगर गोदावरीमा विधि र प्रक्रियाविपरीत नगर कमिटी घोषणा गरिएको भन्दै प्रतिनिधिले बन्दसत्र बहिष्कार गरेका छन् ।

नगर अधिवेशन उद्घाटन भएको करिब तीन महिनापछि बुधबार बोलाइएको बन्दसत्रमा निर्वाचन प्रक्रियामै नग हलमा कमिटीको नाम घोषणा गरिएपछि केही प्रतिनिधि बहिष्कार गरेर निस्किएका हुन् । गत १५ कात्तिकमा नगर अधिवेशन उद्घाटन भए पनि विवादका कारण कमिटी गठन हुन नसक्दा बन्दसत्र अनिश्चित समयका लागि स्थगित गरिएको थियो । बुधबार बन्दसत्रमा एमाले जिल्ला अध्यक्ष रतन थापाले गोकर्ण भट्टको अध्यक्षतामा नगर कमिटी गठन गरिएको घोषणा गरेका थिए । गोकर्ण एमाले सचिव एवं प्रदेश इन्चार्ज भट्टका सहोदर भाइ हुन् । 

कमिटी गठनबारे बन्दसत्रमा कुनै पनि छलफल र प्रक्रिया नगरी पदाधिकारी घोषणा हुन थालेपछि आफूहरू बहिष्कार गरेर निस्किएको प्रतिनिधि कृतबहादुर चन्दले बताए । ‘कसको कुन पदमा आकांक्षा छ भनेर प्रतिनिधिलाई कुरै राख्न दिइएन । आफूलाई मन परेका नाम खल्तीबाट निकालेर घोषणा गरियो ।’ एमाले नगरको सचिवालय सदस्यसमेत रहेका उनले भने, ‘कुनै पनि विधि, पद्दति र प्रक्रिया नअपनाई घोषणा गरिएको कमिटी स्वीकार्य हुँदैन भनेर सहभागीमध्ये आधा प्रतिनिधि बहिष्कार गरेर निस्कियौँ ।’ आफू उपसचिव पदको दाबेदार भए पनि बैठकमा उम्मेदवारीबारे कुरै राख्न नदिइएको उनले बताए ।

निवर्तमान नगरसचिव एवं जिल्ला कमिटी सदस्य आनन्द भट्टले प्रतिनिधिलाई आफ्नो अधिकार प्रयोग गर्न नदिएर नगर कमिटी घोषणा गरिएको बताए । उम्मेदवार बन्नबाट रोकिएपछि केही प्रतिनिधिले बैठक बहिष्कार गरेको उनले जानकारी दिए । ‘कसैलाई उम्मेदवारी हाल्ने अवसर नै दिइएन । प्रतिनिधिले आफ्नो अधिकार प्रयोग गर्न पाएनन् ।’ भट्टले भने, ‘अधिवेशन विधि–विधानअनुसार भएन । यसबारे पार्टी कमिटीमा कुरा उठाउँछौँ ।’ निर्वाचन प्रक्रिया नै सुरु नगरी कमिटी घोषणा गर्नु विधान र प्रक्रियाविपरीत भएको उनको भनाइ छ ।

नगर कमिटीको उपाध्यक्षमा बलबहादुर चौधरी, सचिवमा जीवनकुमार शाह तथा उपसचिवमा राधा जोशी र महावीर विकलाई चयन गरिएको छ । नगर कमिटी गठनको विषयमा लामो समयदेखि विवाद थियो । विवादकै कारण चारवटा वडामा कमिटी गठन हुन नसकेको नेताहरूले बताएका छन् । 

अधिवेशन सुरु हुँदा निवर्तमान सचिव भट्ट पनि अध्यक्षका दावेदार थिए । तर जिल्ला कमिटी सदस्यमा निर्वाचित उनले अहिले भने दाबी छोडेका थिए । अध्यक्षमा चयन भएका पूर्वमाओवादी नेता भट्ट नेकपा हुँदादेखि नै नगर अध्यक्ष थिए ।

सचिव भट्टले आफ्ना भाइलाई अध्यक्ष बनाउन एकलौटी रूपमा कमिटी घोषणा गर्न लगाएको असन्तुष्ट पक्षको आरोप छ । उनलाई अध्यक्ष बनाउने सहमति नजुटेकै कारण तीन महिनासम्म नगर कमिटी गठन हुन नसकेको एक नेताले बताए । ‘अधिवेशन सुरु भएकै बेला लेखराजले आफ्ना भाइलाई अध्यक्ष बनाउन चाहेका थिए तर पूर्वएमालेका बहुसंख्यक नेताले उनलाई स्वीकार नगरेपछि बन्दसत्र अनिश्चित समयका लागि स्थगित गरिएको थियो ।’ नाम उल्लेख गर्न नचाहेका उनले भने, ‘अहिले जिल्ला नेतृत्व आफूअनुकुल चयन भएपछि एकलौटी रुपमा कमिटी घोषणा गर्न लगाएका हुन् ।’ 

एमाले कैलालीको अधिवेशनमा दुई प्यानलबीच प्रतिस्पर्धा भएको थियो । अध्यक्षमा निर्वाचित थापाको टिमलाई सचिव भट्टको समर्थन थियो । यद्यपि भट्टको समर्थनमा थापाकै प्यानलबाट पदाधिकारीमा उम्मेदवारी दिएका पूर्वमाओवादी नेता भने पराजित भए ।

 एमाले कैलालीका सचिव डेजी पाण्डेयले भने गोदावरीको कमिटी चयनमा असन्तुष्टि नरहेको दावी गरे । आन्तरिक विवादका कारण लामो समयसम्म नेतृत्व चयन हुन नसके पनि अहिले सहमतिमै कमिटी टुंग्याएको उनले बताए । ‘केही प्रक्रिया नमिलेको हुन सक्छ तर जिल्ला इन्चार्ज, अध्यक्षलगायत पदाधिकारीको सहमतिमै कमिटी घोषणा भएको हो ।’ सचिव पाण्डेयले भने ।