१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १८ मंगलबार
  • Wednesday, 03 July, 2024
२o७८ माघ १८ मंगलबार o८:o७:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

भद्रगोल कांग्रेसका भ्रातृ संगठन : पटक–पटक म्याद थप, छैन अधिवेशनको तयारी 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o७८ माघ १८ मंगलबार o८:o७:oo

कांग्रेसले भ्रातृ संगठनको अधिवेशनलाई बेवास्ता गर्दा अधिकांश भ्रातृ संगठन निष्क्रिय बन्न पुगेका छन् । समयमा अधिवेशन नगरी पटक–पटक म्याद मात्र थप्दा भ्रातृ संगठनहरू भद्रगोल अवस्थामा पुगेका हुन् । 

गत ३० साउनमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले नौ भ्रातृ संगठनहरूको म्याद ६ महिना थप गर्ने निर्णय गरेको थियो । म्याद थपकाे अवधि समाप्त हुन अब दुई साता पनि बाँकी छैन । तर पनि कांग्रेसले अझै अधिवेशनको तयारी गरेको छैन ।

महामन्त्री शर्मा भन्छन– अबको बैठकमा एजेन्डा बन्छ 

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अहिलेसम्म भ्रातृ संगठनको अधिवेशनबारे पार्टीमा कुनै छलफल नभएको जानकारी दिए । उनले अब बस्ने केन्द्रीय कार्यसम्पादन समितिमा यो विषय एजेन्डाको रूपमा प्रस्तुत हुने बताए । ‘यसबारे पार्टीमा कुनै निर्णय भएको छैन । अब बस्ने कार्यसम्पादन समितिको बैठकमा भ्रातृ संगठन र शुभेच्छुक संस्थाका विषय एजेन्डाका रूपमा प्रस्तुत हुनेछन्,’ उनले भने, ‘यसै साता कार्यसम्पादन समितिको बैठक बस्नेछ । बैठकबाट भ्रातृ संगठनका समस्याबारे निर्णय गरेर अगाडि बढ्छौँ ।’ कांग्रेसको पछिल्लो केन्द्रीय कार्यसमिति बैठकले ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको थियो ।

कांग्रेसको तत्कालीन कार्यसमितिले नेपाल विद्यार्थी संघ, तरुण दल, प्रजातन्त्र सेनानी संघ, किसान संघ, दलित संघ, आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको पदावधि ६ महिना थप गर्ने निर्णय गरेको थियो । १४औँ महाधिवेशनपछि तीनपटक कांग्रेसको केन्द्रीय समिति बैठक बसिसकेको छ । तर, यसबारे कुनै निर्णय भएको छैन । 

कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौरले नयाँ कार्यसमितिमा भ्रातृ संगठनको अधिवेशनबारे कुनै छलफल नभएको बताए । ‘नयाँ कार्यसमिति आइसकेपछि भ्रातृ संगठनको अधिवेशन गर्नेबारे कुनै छलफल भएको छैन,’ उनले नयाँ पत्रिकासँग भने, ‘विधानतः अधिवेशन गर्नैपर्ने छ । भ्रातृ संगठनमा जिम्मेवारी दिने मात्र कुरा होइन । जिम्मेवारी दिएर संगठन कसरी गतिशील बनाउने र विस्तार गर्ने भन्ने चुनौती पनि छ ।’ 

पार्टीमा नेतृत्व उत्पादनको माध्यम र मेरुदण्डका रूपमा रहेका संगठनमा पटक–पटक म्याद थप मात्रै हुँदा संगठन ऊर्जाशील हुन नसकेको कांग्रेस नेताहरू नै बताउँछन् । केन्द्रीय सदस्य डिला संग्रौलाले भ्रातृसंगठनको म्याद मात्र थप गर्दा गतिशील हुन नसकेको बताइन् । ‘भ्रातृसंगठन कांग्रेसको मेरुदण्ड हो । लामो समयसम्म म्याद थप गरेर जाँदा भ्रातृसंगठनमा ऊर्जा रहँदैन र गतिशील रहन सक्दैन,’ उनले भनिन् । 

माघ मसान्तमा सकिँदै छ म्याद 
कांग्रेसले १६ साउन ०७७ मा केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गरी तरुण दल, विद्यार्थी संघ, प्रजातन्त्र सेनानी संघ, किसान संघ, दलित संघ, आदिवासी जनजाति संघ, लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको म्याद ६ महिना थप गरेको थियो । तर, थप भएको समयभित्र कुनै पनि भ्रातृ संस्थाको अधिवेशन हुन सकेन । निर्धारित समयमा अधिवेशन हुन नसकेपछि १३ माघ ०७७ मा केन्द्रीय समिति बैठकमार्फत पुनः ६ महिना म्याद थप्ने निर्णय गरेको थियो । तर, दोस्रोपटक थपिएको अवधिमा पनि अधिवेशनको प्रक्रिया अगाडि बढ्न सकेन । तत्पश्चात् ३० साउन ०७८ मा केन्द्रीय समिति बैठकले विद्यार्थी संघ, तरुण दल, प्रजातन्त्र सेनानी संघ, किसान संघ, दलित संघ, आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, तामाङ संघ र नेपाल ठाकुर समाजको पदावधि फेरि ६ महिना थप गर्ने निर्णय भएको थियो । जसअनुसार आगामी माघ मसान्तसम्म समय बाँकी छ । तर, यो अवधिमा कुनै पनि भ्रातृ संस्थाको अधिवेशन हुन सम्भव छैन ।

विधानविपरीत संगठनको नेतृत्व सम्हाल्दै बस्नेत र ढुंगाना 
कांग्रेस भ्रातृ संगठन तरुण दल अध्यक्ष जितजंग बस्नेत र नेपाल विद्यार्थी संघ अध्यक्ष राजीव ढुंगाना १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका छन् । अझैसम्म पनि दुवै संगठन प्रमुखको जिम्मेवारीमा सक्रिय छन् । कांग्रेस विधानमा पार्टीको कुनै पनि तहको पदाधिकारी वा सदस्य भ्रातृ संगठनको पदाधिकारी वा सदस्य हुन नपाउने स्पष्ट व्यवस्था छ । तर, भ्रातृ संगठनको अधिवेशन नहुँदा बस्नेत तरुण दल र ढुंगानाले नेविसंघको नेतृत्व सम्हालिरहेका छन् ।

कांग्रेसको विधानको दफा ४२ भ्रातृ संगठन र शुभेच्छुक संस्थाको बारेमा व्यवस्था गरिएको छ । विधानको दफा ४२ को उपदफा १ (ङ) मा पार्टीको कुनै पनि तहको पदाधिकारी वा सदस्य भ्रातृ संस्थाको पदाधिकारी वा सदस्य हुन नपाउने स्पष्ट व्यवस्था छ । ‘पार्टीको कुनै पनि तहको पदाधिकारी वा सदस्य भ्रातृ संगठनको पदाधिकारी वा सदस्य हुनेछैन । भ्रातृ संगठनको कार्यसमितिका पदाधिकारी वा सदस्य पार्टीको कुनै पनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनीत भएमा निजको भ्रातृ संगठनको पद स्वतः रिक्त हुनेछ,’ विधानमा भनिएको छ ।

कांग्रेस केन्द्रीय सदस्य बस्नेतले अधिवेशन नहुँदा आफू तरुण दलको जिम्मेवारीमै रहेको बताए । उनले पार्टी निर्णयअनुसार नै आफू जिम्मेवारीमा रहेको भन्दै अधिवेशनबाट नयाँ नेतृत्व आएलगत्तै जिम्मेवारीबाट अलग हुने जानकारी दिए । ‘पार्टीले अधिवेशनको निर्णय गरेको छैन । पार्टीको निर्णयअनुसार अहिलेसम्म तरुण दलको अध्यक्षको जिम्मेवारीमै छु,’ उनले भने, ‘पार्टीले छिटै अधिवेशनको निर्णय गर्ला । अधिवेशनबाट जिम्मेवारी हस्तान्तरण हुन्छ ।’ 

छिटो अधिवेशन गराउन नेविसंघको दबाब

नेविसंघले अधिवेशनको मिति चाँडो तोक्न कांग्रेस नेताहरूलाई दबाब दिएका छन् । सोमबार कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेर उपत्यकाका विभिन्न क्याम्पसमा अध्ययनरत नेविसंघमा आबद्ध विद्यार्थीले तत्काल अधिवेशनको मिति तोक्न दबाब दिएका हुन् ।

नेविसंघ नेता विनोदराज जोशीले क्याम्पसको शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउन पनि छिटोभन्दा छिटो विधानसम्मत ढंगले तदर्थ समिति गठन गरी संघको महाधिवेशन गर्नुपर्ने भन्दै दबाब दिएको बताए ।

विद्यार्थीहरूले नेविसंघको अधिवेशन छिटोभन्दा छिटो सम्पन्न गराउन दबाब दिँदै पार्टीका केन्द्रीय सदस्य एवं नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरलाई अनुरोध पत्रसमेत बुझाएका थिए । महरले नेविसंघलगायतका भ्रातृसंस्थाहरूको महाधिवेशन सम्पन्न गराउन आफूले नेताहरूलाई अनौपचारिक रूपमा दबाब दिँदै आएको र अब बस्ने केन्द्रीय समिति बैठकमा औपचारिक रूपमै छलफल गराउने प्रतिबद्धता जनाएका थिए ।

ad
ad
ad
ad