१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o७:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

१० दिनमा ८८ जना  अनलाइन जुवाडे पक्राउ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:o५:oo

पक्राउ पर्ने अधिकांश १५ देखि ३० वर्ष उमेर समूहका 

प्रहरीले १० दिनमा ८८ जना अनलाइन जुवाडे पक्राउ गरेको छ । पक्राउ पर्ने अधिकांश ३० वर्षभन्दा तलका युवायुवती छन् । प्रहरीले जुवाडे पक्राउ गर्न विशेष अपरेसन नै चलाएको थियो ।

यस अवधिमा सबैभन्दा धेरै जुवाडे सोमबार बौद्धस्थित रेस्टुरेन्टबाट पक्राउ परेका छन् । एउटै खालबाट प्रहरीले ७४ जुवाडेलाई पक्राउ गरेको हो । उनीहरूलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । बौद्धका ३० वर्षीय सुभाष घिसिङले रेस्टुरेन्ट सञ्चालन गर्दै आएका थिए । 

अनलाइनमार्फत जुवा खेल्ने सूचनापछि उनीहरूलाई पक्राउ गरिएको काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले बताए । ‘रेस्टुरेन्टमा अनलाइनमार्फत जुवा खेलाउने गरेको सूचना आयो । छापा मार्दा एउटै खालबाट ७४ जुवाडे पक्राउ परे । अनुसन्धान गर्दा उनीहरू अनलाइनमार्फत जुवा खेल्न रेस्टुरेन्टमा भेला भएको खुलेको छ,’ उनले भने, ‘पक्राउ पर्ने अधिकांश ३० वर्षभन्दा तलका युवायुवती छन् । घटनाको थप अनुसन्धान हुँदै छ ।’

अनुसन्धानका लागि प्रहरीले अदालतबाट सात दिनको म्याद थप गरेको छ । उनीहरूबाट प्रहरीले खेलमा प्रयोग हुने मोबाइल, कोड लेखिएको कुपन र ६ लाख १९ हजार दुई सय ५० रुपैयाँ बरामद गरेको छ ।

यसअघि काठमाडौंपरिसरकै टोलीले ठमेलस्थित घनश्याम अम्गाईले सञ्चालन गरेको गेस्ट हाउसबाट बाग्लुङ थाइबाङका राकेशकुमार क्षेत्री र भारतीय नागरिक जसपाल सिंहलाई पक्राउ गरेको थियो । ११ माघमा पक्राउ परेका उनीहरूबाट २९ लाख २५ हजार रुपैयाँ उल्लेखित विभिन्न बैंकका चेक तथा भौचरहरू बरामद भएका थिए । घटनास्थलबाट प्रहरीले सट्टेबाजमा प्रयोग हुने क्वाइन, विभिन्न कम्पनीका मोबाइल बरामद गरेको थियो । 

गत ७ माघमा पनि महानगरीय अपराध महाशाखाको टोलीले कीर्तिपुरबाट अनलाइन जुवा खेलमा संलग्न १२ जना युवायुवती पक्राउ गरेका थियो । जुवा खालमा पक्राउ परेका सबै अभियुक्त ३० वर्षभन्दा तलका छन् । खालमा एक लाख अमेरिकी डलरसम्मको बाजी हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । सामाजिक सञ्जालमार्फत साथी बनाई विभिन्न मुलुकका नागरिकसँग उनीहरूले जुवा खेल्ने गरेको र पेमेन्ट पनि अनलाइनबाटै हुने गरेको महाशाखाका भनाइ छ । 

काठमाडौं परिसरका प्रवक्ता एसपी मैनाली युवायुवती अनलाइन जुवामा संलग्न हुनु राम्रो संकेत नभएको बताए । उनले भने, ‘१० दिनको अवधिमा ८० भन्दा धेरै जुवाडे पक्राउ परेका छन् । सबै ३० वर्ष उमेरभन्दा कमका छन् । अध्ययन गर्ने र करिअर बनाउने यो उमेर समूहका युवायुवती जुवामा संलग्न हुनु राम्रो संकेत होइन । यसमा अभिभावक सचेत हुनैपर्ने देखिन्छ ।’

ad
ad