१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
दीपक भट्ट रामेछाप
२o८१ बैशाख २४ सोमबार १५:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रामेछापका २२ स्वास्थ्य संस्था पुनर्निर्माण हुँदै

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १५:१७:oo

०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्‍याएको रामेछापका २२ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माणको काम सुरु भएको छ। यसअघि भूकम्पले क्षति पुगेका भवनबाट स्वास्थ्य संस्थाले बिरामीलाई सेवा दिँदै आएका थिए।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले यसअघि नै रामेछापमा जिल्ला अस्पताल, बाम्ती अस्पताल र कठजोर स्वास्थ्य चौकीको भवन निर्माणको काम सकिइसकेको छ। सुविधासम्पन्न भवन निर्माण भएसँगै ती स्वास्थ्य संस्थाबाट बिरामीलाई स्वास्थ्य सेवा दिँदै आएको जिल्ला अस्पताल रामेछापका प्रमुख डा. पवन शाक्यले जानकारी दिए।

केही महिनाअघि सरकारले पुनर्निर्माण प्राधिकरण खारेज गरेर बाँकी भवन निर्माणको जिम्मेवारी सघन सहरी तथा भवन निर्माण आयोजनालाई दिएको थियो। योसँगै रामेछापमा पुनर्निर्माण हुन बाँकी रहेका स्वास्थ्य संस्थाको काम अघि बढेको छ। हाल मन्थली अस्पतालको १५ शय्या र प्राथमिक स्वास्थ्य केन्द्र गेलुमा पाँच शय्या क्षमताको भवन निर्माण भइरहेको छ। त्यस्तै, स्वास्थ्य चौकी देउराली, खाँडादेवी, कुभुकास्थली, चुचुरे, तिल्पुङ, बिजुलीकोट, सालु, गोठगाउँ, हिमगंगा, रामपुर, ओख्रेनी, दुरागाउँ र भलुवाजोरका स्वास्थ्य संस्थाको भवन निर्माणको काम धमाधम भइरहेको आयोजना प्रमुख सुरेशकुमार वाग्लेले जानकारी दिए।

वाग्लेले भने, ‘भवन निर्माण २० करोड ५२ लाख रुपैयाँमा गरिसक्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएर काम अघि बढेको छ।’ उनका अनुसार गौश्वारा, डडुवा, गेलु, चनखु, चिसापानी, पिङखुरी, मझुवा र खनियापानीमा पनि भवन निर्माणको काम भइरहेको छ। ती भवन निर्माणका लागि १९ करोड ३७ लाख रुपैयाँ र मन्थली अस्पताल पुनर्निर्माणका लागि नाै करोड ३२ लाख रुपैयाँको लागतमा निर्माण सक्ने गरी सम्झौता गरेर काम अघि बढेको छ। सबै स्वास्थ्य संस्थाको पुनर्निर्माणको काम समयमै गरिसक्ने प्रमुख वाग्लेले बताए।

ad
ad