१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ९ आइतबार ०८:३९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बजार अधिक खरिद क्षेत्रमै : सातामै २१ अर्बले घट्यो लगानीकर्ताको सम्पत्ति 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ९ आइतबार ०८:३९:००

बैंकिङ क्षेत्रमा नाफा बुक गर्ने होड बढेसँगै गत साता मात्रै लगानीकर्ताको सम्पत्ति २१ अर्ब रुपैयाँले घटेको छ । सोमबार ४१ खर्ब ६३ अर्बसम्म पुगेको लगानीकर्ताको सम्पत्ति (बजार पुँजीकरण) अन्तिम दिनको कारोबारमा घटेर ४१ खर्ब ४२ अर्ब रुपैयाँ भएको हो । 

साताभरमा भने नेप्से ७३ अंकले बढेर दुई हजार नौ सय ३१ मा आइपुगेको छ । पछिल्लो चार महिनायताकै नेप्से उच्च बिन्दुनजिक पुगेसँगै लगानीकर्ता प्रोफिट बुकिङमा देखिएका हुन् । गत २८ भदौमा दुई हजार नौ सय ४७ मा रहेको नेप्से सोमबार बजार बन्द हुँँदा यही बिन्दुमा थियो ।

दैनिक नौ अर्बमाथिको कारोबार भइरहेकोमा यसमा पनि दैनिक रूपमा कमी आइरहेको छ । यद्यपि, साताभरमा अघिल्लो साताको तुलनामा कारोबार रकम ६ प्रतिशतले बढेर ३७ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । लघुवित्त, लगानी तथा व्यापारमूलक समूहबाहेक सबै समूहगत परिसूचक भने सातागत आधारमा बढेका छन् । बैंकिङ समूहमा सबैभन्दा धेरै ३ दशलमव ६१ प्रतिशतले वृद्धि भएको हो । 

सामलिङ पावरको मूल्य सबैभन्दा धेरै करिब ३९ प्रतिशतले बढेको छ भने बोटलर्स नेपाल तराईको मूल्य सबैभन्दा धेरै करिब ८ प्रतिशतले घटेको छ । अपर, अपि र अरुण भ्याली हाइड्रोपावरको सेयर सबैभन्दा धेरै एक अर्बदेखि एक अर्ब ४२ करोड रुपैयाँको कारोबार भएको हो । 

प्राविधिक विश्लेषण 
गत साताको अन्तिम दुई दिनमा पहिलो दिन बनेको कालो (रातो) मैनबत्तीको शरीरले त्यसपछि बनेको मैनबत्तीको पूरै शरीरलाई ढाकेको छ । यसले करिब–करिब हरामी बुलिस आकृति बनाएको छ । यो आकृतिले बजार बुलिस प्रवृत्तिमा जान सक्ने संकेत गरे पनि यस्तो संकेतको विश्वसनीयता मध्यम हुन्छ ।

त्यस्तै, पछिल्लो दिन बनेको मैनबत्तीको तल्लो धागो भने निकै तलसम्म बनेको छ । बजार निकै तल ओर्लिएर पनि माथि लागेको हो । तर, यसले तल तान्ने दबाब देखाएकाले सस्तो मूल्यमा किन्न खोज्ने खरिदकर्ता हाबी रहेको संकेतसमेत गरेको छ । अघिल्लो दिनको उच्च बिन्दुलाई पार गर्न नसक्नुले पनि यस्तो संकेत गर्छ । 

नेप्सेको आरएसआई सूचक केही दिनअघि स्केल ८७ मा रहेको भए पनि हाल ८० दशमलव ५३ मा छ । यद्यपि, बजार अझै अधिक खरिद क्षेत्रमै छ । यो सूचक स्केल ३० मुनि भए बजारमा अधिक बिक्री रहेको, ३० देखि ७० सम्म रहे बजार सन्तुलित र ७० माथि भए बजारमा अधिक खरिद रहेको विश्लेषण गरिन्छ ।  

नेप्सेको सातदिने मुभिङ एभरेज रेखाले २१ दिने रेखालाई काटेर माथि लागेको छ भने दूरी कायम गरेको छ । यसले बजार बुलिस प्रवृत्तिमा रहेको संकेत गरेको छ । यसमा चाँडो–चाँडो प्रवृत्ति परिवर्तन भइरहेकाले पनि यसलाई ध्यान दिनुपर्नेछ ।   

पिभट विश्लेषणले भने आगामी साता दुई हजार नौ सय ८३ मा पहिलो लक्ष्य प्राप्त गर्न सक्ने र यसमा प्रतिरोध पाएमा दुई हजार आठ सय ७६ मा पहिलो टेवा पाउने सम्भावना छ ।