मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ माघ ८ शनिबार
  • Saturday, 12 July, 2025
२o७८ माघ ८ शनिबार १२:५३:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

गण्डकी प्रदेशमा तीन सातामा २६८ स्वास्थ्यकर्मी संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ ८ शनिबार १२:५३:oo

पछिल्लो समय देशभर कोरोना संक्रमित थपिँदै जाँदा महामारीविरुद्ध अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीसमेत संक्रमित हुने क्रम बढेको छ। कोरोना भाइरसको तेस्रो लहर ओमिक्रोनको जोखिम बढ्दै जाँदा गण्डकी प्रदेशमा तीन साताको अवधिमा २६८ स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन्।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार गत पुस १७ देखि यही माघ ७ गतेसम्म गण्डकीका मनाङबाहेकका जिल्लामा सो संख्यामा स्वास्थ्यकर्मी संक्रमित भएका हुन्। प्रदेशको राजधानी सहर पोखरामा सबैभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका निर्देशनालय मातहतको प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए। उनका अनुसार कास्कीमा १३८ स्वास्थ्यकर्मी संक्रमित छन्।

उनले भने, “पछिल्लो कोरोना लहरमा स्वास्थ्यकर्मी पनि तीव्र रूपमा संक्रमित हुने क्रम बढ्दो छ। कोरोनाका बिरामीको उपचार हुँदै आएका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, संक्रामक तथा सरुवा रोग अस्पताल र म्याग्दीको बेनी अस्पतालका स्वास्थ्यकर्मी बढी संक्रमित हुनुभएको छ।” स्वास्थ्यकर्मी नै संक्रमित भएपछि स्वास्थ्य उपचार सेवा सञ्चालन गर्न केही कठिनाइ भए पनि सेवा नै रोकिने अवस्था भने हालसम्म नरहेको बताइन्छ।

तनहुँमा ४२, लमजुङमा २०, नवलपरासीपूर्वमा १७, स्याङ्जामा १२, बाग्लुङमा ११, पर्वतमा १०, म्याग्दीमा नौ, गोरखामा छ र मुस्ताङमा तीन स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ। हिमालपारिको जिल्ला मनाङमा भने यस अवधिमा कोही पनि स्वास्थ्यकर्मी संक्रमित भएका छैनन्। निर्देशनालयले संक्रमित स्वास्थ्यकर्मी सबै होम आइसोलेसनमा रहेका र अवस्था सामान्य रहेको जनाएको छ। रासस