१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ ६ बिहीबार
  • Saturday, 28 September, 2024
दिपेश पछाई भैरहवा
२o७८ माघ ६ बिहीबार o९:४६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मैदानमा चल्ने शक्तिको जादु क्रिकेट संघमा चलेन

Read Time : > 1 मिनेट
दिपेश पछाई भैरहवा
नयाँ पत्रिका भैरहवा
२o७८ माघ ६ बिहीबार o९:४६:oo

रुपन्देही क्रिकेट संघको अध्यक्षमा हरिले हराए शक्तिलाई  

नेपाली क्रिकेटमा लोकप्रिय नाम हो, शक्ति गौचन । बल र ब्याटबाट कैयौँपटक नेपाली क्रिकेटलाई ऐतिहासिक उपलब्धि दिलाएका शक्तिले एकल प्रदर्शनकै भरमा थुप्रैपटक नेपाललाई विश्व क्रिकेटमाझ चिनाएका छन् । हातमा बल परेपछि मैदानभित्र उनले धेरैपटक जादूमयी प्रदर्शन देखाएका छन् । जसका कारण अहिले पनि उनका लाखौँ समर्थक, शुभचिन्तक देखिन्छन् । तर, मैदानबाहिर भने शक्तिको जादू चल्न बाँकी नै रहेछ । रुपन्देही क्रिकेट संघको बुधबार सम्पन्न मतपरिणामले त्यही देखायो ।

संघको अध्यक्षका उम्मेदवार रहेका उनी हरिबहादुर थापासँग पराजित भए । खेलाडीका रूपमा सधैँ सफल रहेका यी खेलाडी व्यवस्थापकीय जिम्मेवारीमा अझै परिपक्व देखिएनन् । एक सय १० मतदाता रहेको रुपन्देही क्रिकेट संघमा हरिले ६० मत पाउँदा शक्तिले ४० जनाको मात्र विश्वास जित्न सके । मतदानको क्रममा एक सय पाँच मत खसेकोमा पाँच मत बदर भएको थियो। 

निर्वाचन परिणामपछि शक्तिले हारलाई सहर्ष स्वीकार गरेको प्रतिक्रिया दिएर पुनः ‘स्पोर्टस्म्यान स्पिरिट’ देखाएका छन् । मैदानभित्रको कुशलताले मात्र मैदानबाहिरको प्रतिस्पर्धामा परिणाम दिन नसकिने रहेछ भन्ने पनि सायद उनले यसपटक सिकेका छन् । 

निर्वाचन परिणामअनुसार संघको उपाध्यक्षमा ६० मतसहित धीरज अधिकारी क्षेत्री, सचिवमा ६५ मतसहित संजय गुरुङ र कोषाध्यक्षमा ५३ मतसहित निरजप्रताप खाँण निर्वाचित भएका छन् । उनीहरूका प्रतिद्वन्दी राजु खड्काले ४४, दीपक शर्मा भुर्तेलले ३९ र दीपेन्द्र लाम्गादेले ४९ मत प्राप्त गरे । अध्यक्षका दुवै उम्मेदवार प्यानल बनाएर निर्वाचनमा होमिएका थिए । 

पदाधिकारीमा अध्यक्षसहित हरिबहादुरको प्यानलका सबै पदाधिकारी निर्वाचित भएका छन् । संघको महिला सदस्यमा उमा अधिकारी निर्विरोध निर्वाचित भइन् । सदस्यहरूमा भरत थापा, विजय सिंह ज्ञवाली, पुनित पोखरेल, निराकार पन्त, शेषमणि चौधरी, प्रथम पराजुली, मनोज भण्डारी, उदयकुमार मल्लिक र श्रीराम नेपाली निर्वाचित भए।