मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ माघ ६ बिहीबार ०९:५०:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आहा रारा गोल्डकप फुटबल आजबाट : उद्घाटन खेलमा आयोजक  सहारा र एपिएफ भिड्ने

Read Time : > 1 मिनेट
२०७८ माघ ६ बिहीबार ०९:५०:००

२०औँ संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता आज (बिहीबार) पोखरामा सुरु हुँदै छ । ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद सहरका रूपमा स्थापित गरौँ भन्ने नाराका साथ सहारा क्लब पोखराको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

१५ माघसम्म पोखरा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र विभागीय सशस्त्र प्रहरीको एफिएफ क्लब भिड्नेछन् । प्रतियोगितामा एक विदेशीसहित १० टिमको सहभागिता रहनेछ । सहभागी टिमहरूमा विभागीय टोलीहरू नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबसँगै संकटा क्लब, मच्छिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, रुस्लान थ्री स्टार क्लब, मनाङ मस्र्याङ्दी क्लब र आयोजक गरी ९ स्वदेशी एवं विदेशी टोली अमेरिकाको विवाइएससी मिनेसोटा क्लब रहेका छन् । 

हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको उद्घाटन खेलमा सहारा र एपिएफको यो तेस्रोपटकको भेट हो । यसअघि सम्पन्न दुई उद्घाटन खेलमा पनि उनीहरुबीच भेट भएको थियो । दुवै खेलमा एपिएफ विजयी भएको थियो । १७औँ संस्करणमा सडनडेथमा र १९औँ संस्करणमा १–० गोलले सहारा एपिएफसँग पराजित भएको थियो । 

आजको खेलमा एपिएफ जितको शृंखलालाई कायम राख्ने उद्देश्यसहित मैदान उत्रनेछ भने सहारा यसअघिको दुई उद्घाटन खेलमा भएको हारको बदला लिने योजनामा छ । घरेलु टोली भएका कारण एपिएफको तुलनामा सहाराले दर्शकको साथ बढी पाउने भए पनि यसपटक विनादर्शक खेल सञ्चालन हुन लागेकाले त्यसको फाइदा भने एपिएफलाई हुनेछ ।

एपिएफमा तीन  विदेशी खेलाडी
गोलकिपरसहित तीन विदेशी खेलाडी सहभागी एपिएफ टिमका पहिलो रोजाइका खेलाडीसँगै मैदान उत्रँदै छ । एपिएफले क्लबको लाइसेन्स पाएसँगै टोलीमा तीन विदेशी खेलाडी भित्र्याएको हो । ए डिभिजन लिगमा समेत एपिएफले राम्रो प्रदर्शन गरिरहेको छ । एपिएफका कोच कुमार थापाका अनुसार प्रतियोगिताको लागि निकै राम्रो तयारी भएको छ । ‘हामी यसपटक उपाधि उचाल्ने लक्ष्यसहित आएका छौँ,’ उनले भने । लिगमा समेत टोलीको प्रदर्शन राम्रो रहेकाले यो प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गर्दै यसपटक उपाधि उचाल्ने उद्देश्य रहेको थापाको भनाइ छ । सुरुको १५–२० मिनेटको विपक्षीको खेल कस्तो हुन्छ हेरी त्यसपछि थप रणनीति बनाएर आक्रामक रूपमा प्रस्तुत हुने उनको भनाइ छ । नकआउट भएकाले सुरुकै ९० मिनेटमा खेल आफ्नो पक्षमा पार्ने गरी प्रस्तुत हुने उनको भनाइ छ।

सहाराका व्यवस्थापक शंकर सुवेदीले आफूहरू मिहिनेत गरी जित्नका लागि खेल्ने बताए । टोलीका खेलाडीहरू उत्साहितसँगै उच्च मनोबलका साथ मैदानमा प्रस्तुत हुने उनको भनाइ छ । टोलीमा दुई विदेशी खेलाडीसमेत रहेको उनले बताए । यसपटक दर्शक नहुँदा टोलीलाई त्यसको केही असर पर्ने भन्दै उनले दर्शकको साथ पाउँदा खेलाडीमा थप उत्साह पैदा गर्ने बताए ।

कोरोना संक्रमणलाई ध्यान दिँदै यस वर्ष क्वार्टरफाइनलसम्मका खेलमा दर्शकका लागि टिकट बिक्री नगरिने भएको छ । आयोजक, प्रायोजक, सहयोगी संस्थाहरू र पत्रकारहरूबीच प्रतियोगिताको क्वार्टरफाइनलसम्मका खेलहरू सञ्चालन गरिने आयोजक क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । 

प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार नगदसहित सिल्ड, मेडल र प्रमाण–पत्र पुरस्कार पाउनेछन् । यसैगरी सर्वोत्कृष्ट खेलाडीले स्कुटरसँगै बेस्ट अफ फाइफ विधातर्फ उत्कृष्ट हुनेले नगद ट्रफी र प्रमाण–पत्र पुरस्कार पाउनेछन् ।