मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ माघ ५ बुधबार ०८:५४:००
Read Time : > 3 मिनेट
समाचार प्रिन्ट संस्करण

कैलालीमा लागुऔषधको कारोबार बढ्दो

Read Time : > 3 मिनेट
२०७८ माघ ५ बुधबार ०८:५४:००

६ महिनामा एक सय सातजना प्रयोगकर्ता र कारोबारी पक्राउ, लागुऔषधसम्बन्धी ७८ वटा मुद्दा अदालतमा दर्ता

गत ३० पुसमा प्रहरीले धनगढीबाट लागुऔषध खैरो हिरोइनसहित दुईजनालाई पक्राउ गर्‍यो । पक्राउ पर्नेमा २४ र २७ वर्षीय युवा थिए । त्यसको अघिल्लो दिन मात्र लागुऔषधसहित धनगढीबाटै तीन युवा पक्राउ परे । तीमध्ये एकजना दुर्घटनामा घाइते भएर अस्पतालमा उपचारपछि डिस्चार्ज हुँदै थिए । उनीहरूबाट प्रहरीले खैरो हिरोइन बरामद गरेको छ ।

यी पछिल्ला केही प्रतिनिधि उदाहरण हुन् । कैलालीमा लागुऔषध प्रयोगकर्ता र कारोबारी दैनिकजसो पक्राउ पर्दै आएका छन् । खुला सिमानाको फाइदा उठाउँदै भारतबाट लागुऔषध भित्रिने गरेको छ । लागुऔषधको बढ्दो कारोबार र प्रयोगले पक्राउ पर्ने संख्या पनि बढ्दो छ । प्रहरीले पछिल्लो ६ महिनाको अवधिमा यहाँ एक सय सातजना कारोबारी र प्रयोगकर्तालाई पक्राउ गरेको छ । 

यो अवधिमा लागुऔषधसम्बन्धी ७८ वटा मुद्दा जिल्ला अदालतमा दर्ता भएका छन् । गत वर्ष मात्रै लागुऔषधसम्बन्धी ९१ वटा मुद्दामा एक सय ३२ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये अधिकांश प्रयोगकर्ता रहने गरेका छन् । धेरैजसो प्रयोगकर्ताले लागुऔषध बिक्री गर्ने गरेका पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । ‘बेच्ने र खानेको संख्या धेरै छ । कतिपय बेच्ने मात्रै छन्,’ उनले भने, ‘लागुऔषध नियन्त्रणमा प्रहरीले सक्रियता बढाएको छ, तर खुला सिमानाका कारण रोक्न चुनौती छ ।’ खुला सिमानाका कारण भारतबाट लागुऔषध आयात भइरहेको प्रहरीको भनाइ छ ।

गत वर्षको तुलनामा पक्राउ पर्नेको संख्या मात्र नभई बरामद हुने लागुऔषधको मात्रा पनि बढ्दो छ । सबैभन्दा बढी खैरो हिरोइन, चरेस, गाँजा, नाइट्राभेट, फेरागनजस्ता लागुऔषध बरामद हुने गरेको प्रहरी नायब उपरीक्षक जोशीले बताए । प्रहरीका अनुसार गाँजा र चरेसबाहेक सबैजसो लागुऔषध भारतबाट आयात हुने गरेको छ । भारतीय कारोबारीले लागुऔषध सीमावर्ती क्षेत्रनजिक ल्याइदिने र त्यहाँबाट यहाँका प्रयोगकर्ता र कारोबारीले ल्याउने गरेका पाइने गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेको तथ्यांक हेर्दा लागुऔषधको बढी कारोबार धनगढीमा हुन्छ । लागुऔषध बरामद हुने र व्यक्ति पक्राउ हुने घटनाले धनगढी लागुऔषध कारोबारको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको छ । लागुऔषध मुद्दामा दैनिकजसो पक्राउ परिरहे पनि लागुऔषधको कारोबार र प्रयोगमा कमी नआएको स्थानीयको भनाइ छ । ‘बजार र आसपासकै कतिपय गल्ली र टोलमा दिउँसै युवाहरू लागुऔषध सेवन गरिरहेका देखिन्छन्,’ स्थानीय धर्म जोशीले भने, ‘प्रहरीले टोलटोलमा गस्ती बढाउने हो भने यस्ता कार्य निरुत्साहित हुन्छन् ।’ 

नाकाबाट सहजै भित्रिन्छ लागुऔषध
भारतका सीमावर्ती क्षेत्रबाट लागुऔषध भित्र्याउन धनगढीका विभिन्न ग्रामीण नाका प्रयोग हुने गरेका छन् । प्रहरीका अनुसार कतिपय प्रयोगकर्ता सीमावर्ती भारतीय क्षेत्रमा पुगेर लागुऔषध प्रयोग गर्ने र फर्कंदा लिएर आउने गरेका पाइन्छ । पक्राउ पर्नेबाहेक सुरक्षाकर्मीको आँखा छलेर भित्रिने लागुऔषधको मात्रा निकै बढी हुन सक्ने प्रहरीको अनुमान छ । 

लागुऔषध सहजै लुकाएर ल्याउन सकिने भएकाले सूचनाको पाटोलाई बलियो बनाइएको प्रहरी नायब उपरीक्षक जोशीले बताए । लागुऔषधको कारोबार नियन्त्रणमा प्रहरीले अहिले सक्रियता बढाए पनि खुला सिमाना चुनौतीका रूपमा रहेको जोशीले बताए । ‘खुला सिमानाका कारण लागुऔषधको कारोबार नियन्त्रणको चुनौती बनेको छ,’ उनले भने, ‘सूचनाको पाटो बलियो बनाएर काम गरिरहेका छौँ ।’

लागुऔषध मुद्दामा पक्राउ पर्ने अधिकांश युवा छन् । लागुऔषधको कुलतमा फस्नेमा १६–१७ देखि २६–२७ वर्ष उमेर समूहका युवा बढी देखिएको जोशीले बताए । लागुऔषधका कारण आपराधिक घटना पनि बढेका छन् । घरेलु हिंसा, झैझगडा, चोरी, लुटपाटजस्ता अधिकांश आपराधिक घटनाको कारण लागुऔषध हुने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लागुऔषधको कारोबार निरुत्साहित गर्न नागरिकको सहयोग पनि आवश्यक रहेको प्रहरीको भनाइ छ । ‘लागुऔषधको कुलतमा फस्न नदिन अभिभावक पनि सचेत हुनुपर्छ । आफ्ना छोराछोरीबारे चासो राख्नु, टोलछिमेकमा लागुऔषध सेवन गरिरहेको देखे प्रहरीलाई सूचना दिनु नागरिकको पनि दायित्व हो,’ जोशीले भने, ‘यसले हामीलाई लागुऔषध नियन्त्रणमा सहयोग पुग्छ ।’

पाँच वर्षमा एक हजार ७८ पक्राउ

मकवानपुर/ प्रहरीले मकवानपुरमा पाँच वर्षको अवधिमा लागुऔषध ओसारपसार कारोबार गर्ने एक हजार ७८ जना पक्राउ गरेको छ । पक्राउ परेकामध्ये एक सय ६ भारतीय र नौ सय ७२ जना नेपाली नागरिक रहेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । 

आर्थिक वर्ष ०७३/७४ मा दुई सय तीन, आव ०७४/७५ मा दुई सय ३७, आव ०७५/७६ मा दुई सय ६, आव ०७६/७७ मा एक सय ८७, आव ०७७/७८ मा एक सय ५१ र चालू आव ०७८/७९ को पुस मसान्तसम्म ९४ जनालाई लागुऔषधसहित पक्राउ गरेको प्रहरी तथ्यांकमा उल्लेख छ । अवैध लागुऔषध गाँजा उत्पादनसँगै ओसारपसार हुने जिल्लाका रूपमा मानिने मकवानपुरमा प्रहरीले लागुऔषध नियन्त्रणका प्रमुख योजना बनाउने गरेको उनले बताए । ‘लागुऔषधसहित पक्राउ पर्ने यो संख्या धेरै हो,’ उनले भने, ‘पक्राउ पर्नेको बर्सेनि घटबढ देखिए पनि न्यूनीकरण भने भएको छैन ।’ 

प्रहरीले लागुऔषध नियन्त्रणका लागि केन्द्रीय कार्यालयको निर्देशनअनुसार बर्सेनि गाँजा खेती फँडानी र नष्ट गर्ने गरेको छ । तर, फँडानीअनुसार नियन्त्रण भएको पाइँदैन । जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांकअनुसार पाँच वर्षमा तीन हजार ४५ बिघा ४३ कट्ठामा लगाएको गाँजा फँडानी र नष्ट गरेको हो ।

६ महिनामा ८८ कारोबारी प्रहरी नियन्त्रणमा 

बाँके/ पछिल्लो ६ महिनामा नेपालगन्ज नाकाबाट लागुऔषध ओसारपसार तथा कारोबारमा संलग्न ८८ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट पाँच लाख ११ हजार नगद रुपैयाँसमेत बरामद भएको छ ।

पक्राउ परेकाहरूको साथबाट दुई सय ६५ ग्राम ६ सय १० मिलिग्राम ब्राउन सुगर, चार किलो तीन सय ७५ ग्राम चरेस, तीन हजार पाँच सय ४३ ट्याब्लेट नाइट्रोजेपाम, ६ हजार लिटर कोरेक्स, २० ग्राम गाँजा र एक हजार चार सय ३० ट्याब्लेट ट्रमाडोल बरामद गरिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसूदन न्यौपानेले बताए ।

नेपालगन्ज नाकाबाट लागुऔषध ओसारपसार मात्र नभई प्रयोगकर्तासमेत भारतीय सीमा बजार रुपैडिहा पुग्ने गरेको प्रहरीले जनाएको छ । ब्राउनसुगर, नाइट्रोजेपाम ट्याब्लेट, कोरेक्स, ट्रमाडोललगायत लागुऔषध भारतबाट नेपाल भित्रिने गरेको बताउँदै डिएसपी न्यौपानेले गाँजा र चरेस नेपालबाट भारत जाने गरेको बताए । ‘अधिकांश लागुऔषध ओसारपसार नेपालगन्ज नाकाबाट भएको देखिन्छ,’ उनले भने । लागुऔषध ओसारपसार तथा प्रयोगकर्ताले जिल्ला प्रहरी कार्यालयको थुनुवा कोठा भरिने गरेको छ । ८२ जना थुनुवामध्ये २६ जना लागुऔषध ओसारपसार तथा प्रयोगकर्ता भएको उनले बताए । थुनामा रहेका २६ जनामध्ये १८ जनाविरुद्ध मुद्दा दायर गरिएको उनको भनाइ छ । 

बाँके प्रहरीले ६ महिनामा एक सय ३९ जना फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाएको छ । अदालतबाट कैद तथा जरिवाना सजाय पाए पनि भुक्तान गर्न नआएका अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाएको बाँके प्रहरी प्रवक्ता न्यौपानेले बताए । उनीहरूबाट ३७ लाख ९९ सय हजार पाँच सय १४ रुपैयाँ जरिवाना असुल गरिएको छ । ‘फरार अपराधी पक्राउ गर्ने सरकारको नीतिअनुसार सजाय पाएकालाई पक्राउ गरी अदालतमा बुझाएका छौँ,’ उनले भने ।