मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ पौष २९ बिहीबार १८:५४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

रसुवामा जबर्जस्ती करणी गरेका एक युवालाई जन्मकैदको फैसला 

Read Time : > 1 मिनेट
२०७८ पौष २९ बिहीबार १८:५४:००

रसुवामा ६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेका एक युवालाई रसुवा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका ५ घर भई हाल रसुवाको गोसाइँकुण्ड गाउँपालिका ६ धुन्चेमा बस्ने २२ वर्षीय यमप्रसाद भट्टराईलाई रसुवा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो । बिहीबार जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इजलासले भट्टराईलार्ई जन्मकैदको फैसला सुनाइएको हो ।  

२०७७ पुस १८ गते शनिबार खेलिरहेकी बालिकालाई भट्टराईले आफनो घरको कोठामा लगि करणी गरेको भन्दै पीडित परिवारले जिल्ला प्रहरी कार्यालय रसुवामा उजुरी दर्ता गरेका थिए । पीडितको उजुरीका आधारमा अभियुक्तलाई पक्राउ गरी आवश्यक अनुसन्धानपश्चात पुर्पक्षका लागि कारागार चलान गरिएको थियो । 
प्राप्त प्रमाणहरूको आधारमा भट्टराईले पीडित नाबालिकालाई मोबाइल खेल्न दिन्छु भनी ललाइफकाई आफ्नो कोठामा लगी जबर्जस्ती करणी गरेको पुष्टि भएको रसुवा जिल्ला अदालतका स्रेस्तेदार मुना अधिकारी ढकालले बताइन् । 

भट्टराईले मुलुकी संहिता २०७४ को दफा २१९ को उपदफा (१) र (२) र उपदफा (३) को  देहाय (क) बमोजिम कसुर गरेको ठहरिएको जनाइएको छ । उक्त कसुरबापत प्रतिवादी भट्टराईलाई सोही संहिताको दफा २१९ को उपदफा (३) को देहाय (क) बमोजिम जन्म कैदको फैसला गरिएको रसुवा अदालतले जनाएको छ ।  

त्यसैगरी सोही संहिताको दफा २१९ को उपदफा (३) (क) को (यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ )  देहाय (क) बमोजिम  प्रतिवादीलाई ६ लाख रुपैयाँ जरिवाना तोकिएको छ भने पीडितलाई सोही संहिताको दफा २२८ बमोजिम क्षतिपूर्तिबापत ५० हजार भराइने भएको छ । त्यसैगरी अपराधपीडित संरक्षण ऐन २०७५ को दफा ४१ बमोजिम प्रतिवादी भट्टराईले दुई हजार ८ सय कोषमा बुझाउनुपर्ने रसुवा जिल्ला अदालतले जनाएको छ । 

फैसलापछि नयाँँ पत्रिकासँग कुरा गर्दै न्याय पाएको महसुस  पीडित बालिकाकी आमाले बताइन् । ‘घटनापछि डर, त्रास, धम्की धेरै आयो, हाम्रो त बोली दिने कोही थिएन जस्तो लाग्थ्यो, तर हामी पीडितलाई न्याय दिइँदो रहेछ, न्याय पाइयो ।’