मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ पौष २५ आइतबार १३:४८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेश : भारतबाट फर्केका १२५ जनामा संक्रमण, नाकामा होल्डिङ सेन्टर अझै बनेनन्

Read Time : > 1 मिनेट
२०७८ पौष २५ आइतबार १३:४८:००

सुदूरपश्चिमका नाकाहरू भएर भारतबाट फर्कनेहरूमा कोरोना संक्रमण देखिन थालेको छ। शनिबार मात्रै भारतबाट फर्केका एक सय २५ जनामा संक्रमण देखिएको छ। गड्डाचौकी र गौरीफन्टा नाकामा भारतबाट फर्कनेहरूमा कोरोना संक्रमणको पहिचान हुने दर बढेपछि धनगढी र महेन्द्रनगरका आइसोलेसन संक्रमितले भरिन थालेका छन्।

धनगढीको कनरीमा रहेको आइसोलेसनमा अहिले ६८ जना संक्रमित छन्। उनीहरू सबै भारतबाट फर्केका हुन्। संक्रमित अहिलेकै गतिमा बढे धनगढीमा आइसोलेसनको समस्या हुने देखिएको छ। कनरीको आइसोलेसन सयजना राख्ने क्षमताको हो। ‘संक्रमण बढ्दै गएकाले आइसोलेसन पनि भरिँदै छ। नाकामा पजिटिभ देखिएकालाई कहाँ राख्ने भन्ने समस्या आउने देखिन्छ,’ जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले भने, ‘आइसोलेसनको समस्या हुन सक्नेबारे सामाजिक विकास मन्त्रालयलाई खबर गरिसकेका छौँ।’

शनिबार गौरीफन्टा नाकाबाट आएका ७१ जनामा संक्रमण देखिएको छ। शुक्रबार ६७ जनामा संक्रमण देखिएको थियो। निजी यातायातको साधन लिएर जान चाहने संक्रमितलाई घर जान दिने गरिएको छ। तर, आइसोलेसनमै राख्नुपर्ने बढे व्यवस्थापनमा चुनौती हुने देखिन्छ।  

भारतबाट स्वदेश फर्कनेमा संक्रमण बढेपछि धनगढीको आइसोलेसन सेन्टर संक्रमितले भरिन थाल्दा नाकामा होल्डिङ सेन्टरको निर्माणको काम भने सुस्त छ। गौरीफन्टानजिक गत ३ असोजमा सम्पन्न भइसक्नुपर्ने होल्डिङ सेन्टर निर्माणको काम अझै अधुरो छ। भारतबाट फर्कने नेपालीको स्वास्थ्य परीक्षण गर्न तथा संक्रमण देखिए क्वारेक्टिन राख्न नेपाली सेनाको ठेक्कामार्फत होल्डिङ सेन्टर निर्माण भइरहेको हो।

संघीय सरकारको २८ करोड ८१ लाख बजेटमा नेपाली सेनाले गत ३ असारमा हनुमान कन्स्ट्रक्सनसँग निर्माण सम्झौता गरेको थियो। सम्झौताअनुसार तीन महिनाभित्रै सक्नुपर्नेमा ६ महिना बित्दा ३० प्रतिशत काम अझै बाँकी छ। निर्धारित अवधीमा काम पूरा नभएपछि पुस मसान्तसम्म म्याद थप गरिएको छ। हालसम्मको भौतिक प्रगति हेर्दा पुस मसान्तभित्र पनि काम सम्पन्न हुने देखिँदैन। असारमै काम सुरु गरेको निर्माण कम्पनीले बर्खामा डुबानले काम गर्न नपाउँदा ढिलो भएको जनाएको छ।

‘त्यतिवेला डुवानले काम गर्न पाइएन। अहिले भुक्तानीका कारण ढिलो भइरहेको छ,’ निर्माण कम्पनीका इन्जिनियर विक्रम गैरेले भने, ‘भएको कामको पनि भुक्तानी नपाउँदा निर्माण सामग्री खरिद गर्न सकेका छैनौँ।’ पुस मसान्तसम्म काम सकिने सम्भावना नरहेको उनले बताए। ७० प्रतिशत काम भए पनि ४० प्रतिशत मात्रै भुक्तानी पाएको उनले बताए। 

त्रिनगर नाकाबाट करिब डेढ किलोमिटरको दूरीमा धनगढी उपमहानगरपालिका– ३, बडहरामा सामुदायिक वन क्षेत्रभित्र होल्डिङ सेन्टर निर्माण भइरहेको हो। २० वटा क्वारेन्टिन, दुई वटामा चिकित्सक कक्ष, २२ वटा शौचालय तथा १५ वटा भान्सा घरसहित ५९ वटा ब्लक निर्माण हुँदै छन्। तीमध्ये कुल तीन सय शय्याका १४ वटा क्वारेन्टिन भवन, आठ वटा शौचालय र १० वटा भान्साको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जनाएको छ।    

नाकामा संक्रमण बढ्दा आइसोलेसनको अभाव हुन सक्ने भन्दै प्रदेशको कोभिड संकट व्यवस्थापन समितिको शुक्रबारको बैठकले होल्डिङ सेन्टर चाँडो सञ्चालनमा ल्याउन संघीय सरकारलाई आग्रह गरेको छ।  विगतमा कोरोना संक्रमणका दुवै लहरमा भारतबाट फर्केनेहरूलाई नाकामा परीक्षण र क्वारेन्टिन नराखी घर पठाउँदा सुदूरपश्चिमका गाउँगाउँमा संक्रमण फैलिएको थियो।
 
भारतबाट फर्कनेहरूबाटै संक्रमण फैलिने गरेकाले सरकारले नाकामा होल्डिङ सेन्टर बनाएर कोरोना जाँच गर्न र संक्रमित देखिएकालाई राख्न होल्डिङ सेन्टर बनाउन लागेको हो। तर संक्रमण बढ्दै जाँदा होल्डिङ सेन्टर कहिले सञ्चालन हुने भन्ने यकिन छैन।

संक्रमण फैलिएकै वेला सरकारले सुदूरपश्चिममा कैलाली, कञ्चनपुरसहित देशभरका सातवटा नाकामा होल्डिङ सेन्टर बनाउन बजेट विनियोजन गरेको थियो। भारतमा ओमिक्रोन भेरियन्ट तीव्र रूपमा फैलिरहँदा भारतबाट फर्कने नेपालीहरूमा पनि अहिले धमाधम संक्रमण देखिन थालेको छ।