मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
पोखरामा शनिबार भएको खेलमा मनाङ मर्स्याङ्दी र च्यासल क्लबका खेलाडी आपसमा गोल गर्ने प्रयास गर्दै ।
२०७८ पौष २५ आइतबार ०८:१२:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

घरेलु मैदानमा मनाङको तेस्रो जित, च्यासल ५-० ले पराजित

Read Time : > 1 मिनेट
२०७८ पौष २५ आइतबार ०८:१२:००

पोखरामा शनिबार भएको खेलमा मनाङ मर्स्याङ्दी र च्यासल क्लबका खेलाडी आपसमा गोल गर्ने प्रयास गर्दै ।

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत घरेलु टोली मनाङ मर्स्याङ्दी क्लबले पोखरामा सम्पन्न तीनवटै खेलमा जित हात पारेको छ । शनिबार भएको तेस्रो खेलमा मनाङले सानदार जित हात पार्ने क्रममा च्यासल युथ क्लबलाई ५–० को फराकिलो गोलअन्तरले पारजित गरेको छ ।

मनाङले ४ पुसमा पोखरामै भएको खेलमा नेपाल पुलिस क्लबलाई ३–१ र १७ पुसमा भएको खेलमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी)लाई १–० गोलले पराजित गरेको थियो । लिगको आठौँ चरणको खेलमा जितसँगै मनाङ आठ खेलबाट १९ अंकसहित दोस्रो स्थानमा रहँदा समान खेलबाट ५ अंक जोडेको च्यासल लिगको १३औँ स्थानमा छ ।

आफिज ओलावालेको ह्याट्रिक
मनाङको जितमा विदेशी खेलाडी आफिज ओलावालेले ह्याट्रिक पूरा गर्दा आडेलाजा सोमिडे र दिनेश राजवंशीले समान एक–एक गोल गरेका थिए । ओलावालेले ह्याट्रिक पूरा गर्नेक्रममा पहिलो हाफमा एक र खेलको इन्जुरी टाइममा थप दुई गोल गरेका थिए । पहिलो हाफमा दुई र दोस्रो हापमा थप तीन गरी पाँच गोल गरेको मनाङले घरेलु मैदानमा भएको अन्तिम खेल सुखद रूपमा टुंग्याएको हो । 

खेलको सुरुमै च्यासलमाथि मनाङ हावी भयो । खेलको पहिलो हाफमा गोल गर्ने राम्रा अवसर सिर्जना गर्न नसकेको च्यासलले दोस्रो हाफमा सुधारिएको खेल प्रस्तुत गर्दै गोलका लागि केही अवसरसमेत सिर्जना गरेको थियो । 

च्यासलका आशिष इमर्जिङ प्लेयर घोषित
खेलमा च्यासलका आशिष राई इमर्जिङ प्लेयर घोषित भएका छन् । यसअघि खेलको ६५औँ मिनेटमा च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले रातो कार्ड पाएका थिए । खेलका रेफ्रीलाई गालीगलौजसँगै हातपात गर्न खेजेपछि उनले रातो कार्ड पाएका थिए । 

खेलमा जितपछि मनाङ मर्स्याङ्दीका प्रशिक्षक फुजा तोपेले यही हिसाबले टोली अघि बढे लिग जित्ने दाबी गरे । खेलाडीको प्रदर्शनबाट सन्तुष्ट रहेको उनको भनाइ छ । उनले आजको खेल समग्रमा राम्रो नभएको प्रतिक्रियासमेत दिए ।

च्यासलका सहायक प्रशिक्षक भानु भुसालले रेफ्रीको कमजोर र पक्षपाती निर्णयको सिकार आफ्नो टोली बनेको बताए । रेफ्रीले एउटै प्रकृतिको फलमा मनाङलाई एउटा र आफूहरूमाथि अर्को निर्णय गरेको उनको आरोप छ । 

खेलाडीको प्रदर्शनभन्दा पनि रेफ्रीका कारण आफूहरू हार्नुपरेको उनको भनाइ छ । रेफ्रीले सही निर्णय गरेको भए खेलमा फर्कन सक्ने अवस्था रहेको उनको भनाइ छ । खेलको स्कोरमा मनाङ अघि रहे पनि प्रदर्शनमा भने आफूहरू अघि रहेको उनको दाबी छ ।