Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ पौष २३ शुक्रबार ११:५६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अन्नपूर्ण पदमार्गमा एक वर्षमा दुई हजार तीन सयभन्दा बढी विदेशी पर्यटक भित्रिए

Read Time : > 1 मिनेट
२०७८ पौष २३ शुक्रबार ११:५६:००

अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङमा एक वर्षमा दुई हजारभन्दा बढी विदेशी पर्यटकको आगमन भएको छ। कोरोना महामारीका कारण २०२० मा एक हजार नाै सय ७६ पर्यटक पदमार्गमा आए पनि कोभिड महामारी फैलिन कम हुँदै गएपछि सन् २०२१ मा भने यो संख्या बढेको हो। 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङको धारापानी चेकपोस्टका पर्यटन सहायक क्षेत्र गुरुङले सन् २०२१ को जनवरीदेखि डिसेम्बरसम्म दुई हजार तीन सय ७३ विदेशी पर्यटक पदमार्गअन्तर्गत मनाङ घुम्न आएकाे जानकारी दिए। जुन गत वर्षभन्दा तीन सय ९७ ले बढी हो। यो संख्या महामारीको समयको भन्दा बढी भए पनि पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छैन। एक्यापका अनुसार सन् २०१९ मा २६ हजार ६ सय ४७ पर्यटक आएका थिए।

गुरुङका अनुसार २०२१ मा सबैभन्दा बढी अक्टोबर महिनामा आठ सय ३८ पर्यटक पदमार्गमा घुम्न आएका छन् भने सबैभन्दा कम जुन र जुलाईमा दुईजना मात्र पदमार्गमा आएका छन्। पदमार्गमा जनवरीमा दुईजना, फेब्रुअरीमा २५ जना, मार्चमा एक सय ३७, अप्रिलमा तीन सय ६६, मेमा ४९ पर्यटक आएका एक्याप मनाङको धारापानी चेकपोस्टको तथ्यांकमा उल्लेख छ। यस्तै, पदमार्गमा जुन र जुलाईमा भने एक–एकजना  तथा अगस्टमा तीन पर्यटक मनाङ भित्रिएका छन्। सेप्टेम्बरमा ७६, नोभेम्बरमा सात सय २२ र डिसेम्बरमा एक सय ५३ पर्यटक पदमार्ग घुम्न आएका छन्।

कोरोनाका कारण २०२० मार्च १४ देखिदेखि अक्टोबरसम्म पदमार्गमा पर्यटक आएका थिएनन्। मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले कोरोनाका कारण सुनसान रहेको पदमार्गमा २०२१ मा विदेशी पर्यटक आउँदा कोरोनाले थला परेको पर्यटन व्यवसायमा केही राहत भएको बताए। पछिल्लो समय विदेशी मात्र नभई आन्तरिक पर्यटक पनि अन्नपूर्ण पदमार्गमा आउने  गरेका छन्। मनाङ सदरमुकाम चामेसम्म मोटर पुगेपछि आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको हो। पदमार्गमा विशेष गरी इजरायल, जर्मनी, फ्रान्स, अस्ट्रेलिया, बेलायत र अमेरिकाबाट पर्यटकहरू आउने गरेका एक्यापको तथ्यांकमा उल्लेख छ।