मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ पौष २२ बिहीबार ११:११:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

बागमती प्रदेशमा दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने तयारी

Read Time : > 1 मिनेट
२०७८ पौष २२ बिहीबार ११:११:००

किसानलाई राहत दिने भन्दै बागमती प्रदेश दुग्ध विकास बोर्डले दुधमा प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धि गर्ने भएको छ । गाईभैंसीलाई खुवाउने चोकर, ढुटो, पिना र परालमा मूल्य वृद्धि हुँदा पनि दूधमा मूल्य समायोजन हुन नसकेपछि मूल्यवृद्धि गर्न लागिएको बोर्डले दाबी गरेको छ ।

बोर्डले बुधबार हेटौँडामा दूधको मूल्य समायोजनका विषयमा सरोकारवालासहितको बैठक राखेको थियो । बैठकले दूधमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउन संघीय सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई अनुरोध गरेको छ । बैठकले १५ दिनभित्र दूधको मूल्य बढाउन मन्त्रालयलाई अनुरोध गरेको बोर्डका उपाध्यक्ष टीकाबल्लभ सापकोटाले जानकारी दिए । ‘हामीले मूल्य बढाउन आग्रहसहितको निर्णय मन्त्रालय पठाइसकेका छौँ,’ उनले भने ।

बागमतीका दुग्ध उत्पादक किसानहरूले हाल गाईको दूधमा ४० देखि ४५ रुपैयाँ मात्रै मूल्य पाइरहेको सापकोटाले बताए । भैंसीको दूधमा ५५ देखि ६० रुपैयाँ पाउँदै आएकोमा अब प्रतिलिटर १० रुपैयाँ बढाउने तयारी गरिएको बोर्डका उपाध्यक्ष सापकोटाले जानकारी दिए । संघीय सरकारले १५ दिनभित्र मूल्य समायोजन नगरे बोर्डले बागमती प्रदेशभित्र लागू हुने गरी दूधमा प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धि गर्न लागेको उनको भनाइ छ । 

संघीय सरकारले दूधको मूल्य बढाउँदा बागमतीमा मात्र नभई अन्य ६ वटै प्रदेशका किसानलाई राहत पुग्ने भएकाले बोर्डले मूल्य वृद्धि गर्न अनुरोध गरेको सापकोटाले बताए । प्रदेश सरकारले दूधमा प्रतिलिटर दुई रुपैयाँ अनुदान पनि वितरण गर्दै आइरहेको छ । तर, अनुदान सबै किसानसम्म पुग्न नसकेको बोर्डका सदस्यसचिवसमेत रहेका कृषि तथा पशुपन्छी निर्देशनालयका निमित्त निर्देशक रामप्रकाश प्रधानले बताए । अनुदान पनि पाउन नसकेका किसानका लागि राहत पुग्ने गरी दूधको मूल्य वृद्धि गर्नुपर्ने अवस्था आएको प्रधानको भनाइ थियो ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार बागमतीमा दुग्ध उत्पादक किसान करिब २० हजार छन् । जसमध्ये धेरै चितवन, काभ्रे, मकवानपुर, सिन्धुली, धादिङ र नुवाकोटमा छन् । चितवनमा मात्रै ४५ प्रतिशत दुग्ध उत्पादक किसान रहेको जनाइएको छ । चितवनमा दैनिक करिब तीन लाख लिटर दूध उत्पादन हुने गरेको छ । ०७६ सालदेखि चितवनका किसानले दूधको मूल्य बढाउन माग गर्दै आइरहेका छन् ।