निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ भदौ २ बिहीबार
  • Thursday, 18 August, 2022
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष २१ बुधबार ०६:३९:००
Read Time : > 2 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

नेपाली र हिन्दी कवितासंग्रह लिएर आए वसन्त चौधरी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष २१ बुधबार ०६:३९:००

उद्यमी तथा साहित्यकार वसन्त चौधरीद्वारा लिखित नेपाली र हिन्दी भाषामा लिखित दुई कवितासंग्रह सार्वजनिक गरिएको छ । काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा चौधरीले लेखेको नेपाली भाषाको ‘तिमीविनाको म’ र हिन्दी भाषाको ‘अनेक पल और मै’ लोकार्पण गरिएको हो ।लूनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले अयोजना गरेको उक्त कार्यक्रमलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र वरिष्ठ कवि तथा कार्यक्रमका सभापति तुलसी दिवसले शुभारम्भ गरेका थिए ।

कार्यक्रममा काव्यकृति ‘तिमीविनाको म’ की प्रकाशक मेघा चौधरीले वसन्त चौधरी आफ्नो पिता भएकाले मात्रै कृति प्रकाशन नगरेको बताइन् । उनले पिताको साहित्य र सिर्जनाको लगाव देखेर प्रकाशकको अभिभारा लिएको प्रस्ट्याइन । ‘मैले मेरा पिता वसन्त चौधरीको कविता पढेको छु, बुझेको छु । ‘तिमीविनाको म’ प्रकाशनको अभिभारा उहाँ मेरो बुबा भएर मात्रै लिएको होइन । मनैबाट अभिप्रेरित भएर यस कृतिको प्रकाशन गर्ने प्रण गरेकी हुँ,’ उनले भनिन् । 

बुबा कार्यालयमा व्यवसायको काममा भन्दा साहित्य र सिर्जनामा रमाउने भएकाले आफूले सिर्जनाको माध्यमबाट खुसी दिन खोजको बताइन् । ‘मैले बुबालाई व्यापारव्यवसायमा भन्दा कविता र सिर्जनामा रमाएको देखेकी छु । उहाँलाई कार्यालयमा उद्योग व्यवसायको काममा व्यस्त हुँदा सधँै चिन्ता र तनावमा देख्थेँ । जब कविता लेख्न थाल्नुहुन्छ, साहित्यिक कृति पढ्न थाल्नुहुन्छ उहाँको अनुहारमा आनन्द अनुभूतिका संकेत देख्छु । त्यसैले पनि यस कृतिको प्रकाशन आफैँ गरेकी हुँ ।’ 

यस कवितासंग्रहले पछिल्ला पुस्तालाई नेपाली भाषा बोल्न र पढ्न सरल हुने उनले बताइन् । ‘पछिल्ला पुस्ताले नेपाली भाषा बोल्न सक्छन् । तर, नेपाली भाषा पढ्न सक्दैनन् । यो कवितासंग्रह त्यो पुस्तासम्म पुग्नुपर्छ । यो आफैँमा पुस्तान्तरण पनि हो,’ चौधरीले भनिन् । कार्यक्रममा समीक्षात्मक मन्तव्य राख्दै प्राध्यापक भुवना ढुंगानाले चौधरीको ‘तिमीविनाको म’ कवितासंग्रह पढेपछि ‘ह्युमन नेचर’बारे थप जान्न मन लागेको बताइन् । उनले भनिन्, ‘मलाई ‘तिमीविनाको म’ अध्ययन गरेपछि ‘ह्युमन नेचर’को बारेमा पनि सोच्न बाध्य बनायो । कवि व्यस्त छन्, उनीसँग थुप्रै दायित्वहरू छन् । यस्तो व्यस्तताका बाबजुद कविता लेख्ने समय कसरी निस्कियो आफैँमा महत्वपूर्ण छ ।’ उनले ‘तिमीविनाको म’ अध्ययन गरेपछि जति धन भए पनि मानिस सानो–सानो खुसीमा पनि अल्झिने अनुभूत गराएको बताइन् । ‘मानिस धनसम्पत्ति भएपछि खुसी हुन्छ भन्ने आमधारणा छ । यो धारणालाई चिर्दै आफ्नो व्यस्त समयमा पनि कविता लेख्नु आफैँमा दर्शन हो । मानिस सानोसानो खुसीमा पनि अल्झिने रहेछन् । त्यसैले उहाँलाई खुसी दिने साहित्य र साधना पनि रहेछ भन्ने अनुभूत गराउँछ,’ उनले भनिन् । ढुंगनाले चौधरीको काव्यकृतिमा प्रकृति, प्रेम, जीवनको मूल लक्ष्य, जीवनको खुसी समेटिएको बताइन् । 

पाठकको हृदयमा बस्ने कविता : प्रा.डा. उपाध्याय
कार्यक्रममा हिन्दी कवितासंग्रह ‘अनेक पल और मैं’को समीक्षा गर्दै मुम्बई विश्वविद्यालयका प्रा.डा. करुणाशंकर उपाध्यायले चौधरीमा एक शालीन र सरल व्यवहारका सशक्त कवि भेटेको बताए । ‘वसन्तका कविताहरू जीवनको अनुभवबाट निक्लिएर आएका छन्,’ उनले थपे, ‘उहाँका कवितामा जीवनबोध र दायित्वबोध छ । उहाँ समाज र समयका खारिएका चित्रकारजस्तो देखिनुहुन्छ ।’ चौधरीले जीवनका अनेक पल र अनुभव कवितामार्फत व्यक्त गरेका र त्यो पढ्नेलाई समेत कवितासँगै आफू पनि आफ्नै जिन्दगीका पानाहरू पल्टाइरहेको आभास हुने प्रा.डा. उपाध्यायको तर्क छ ।

‘पाठकको हृदयमा सोझै बस्ने कविता लेख्नुहुँदो रहेछ ।’ उनले भने, ‘उहाँका कविता पढ्दा, पाठक आफैँले लेखिरहेजस्तो वा आफ्नै कथाव्यथा पढिरहेजस्तो ।’ भारतका महाकवि जयशंकर र कवि वसन्त चौधरीको व्यक्तित्वमा आफूले समानता देखेको उनको भनाइ थियो । ‘महाकवि जयशंकर पनि वसन्तजस्तै आफ्नो व्यापार व्यवसायमा व्यस्त रहेर पनि सिर्जना कर्ममा स्थापित हुनुहुन्थ्यो,’ उनले भने, ‘उसैगरी व्यस्त क्षणमा समेत आफ्नो संवेदनालाई राम्रो मौलिकतामा प्रस्तुत गर्नु वसन्तको सवल पक्ष हो ।’ 

लेखक वसन्त चौधरीले लामो समयको प्रतीक्षापछि आफ्ना दुई कृति सार्वजनिक गर्न पाएकोमा खुसी मिलेको बताए । कोरोना महामारी र आफ्नो स्वास्थ्य अस्वस्थ भएकोले कृति सार्वजनिक गर्न ढिलाइ भएको उनले सुनाए । ‘मानव मन हरेक क्षण नयाँ–नयाँ कुरा सोचिरहन्छ । सोचेर मन कहिल्यै थाक्दैन, न त मनले विश्राम नै लिन्छ । समाजमा जे घटना घटिरहेका हुन्छन् यिनै परिघटनालाई हामीले शब्दमा कोरेर अभिव्यक्त गर्छाैँ । यही भावनाका शब्दहरू मैले ‘तिमीविनाको म’ काव्यकृतिलाई आकार दिएको हुँ,’ उनले भने । यस्तै ‘अनेक पल और मै’मा आफूले हरपल नयाँ अवसरबाट गुज्रिरहने चरित्रलाई बुनेको बताए । चौधरीले कार्यक्रममा दुवै कृतिबाट एकएक वटा कवितासमेत वाचन गरेका थिए । चौधरीले यसअघि पनि आठवटा पुस्तकमार्फत सयौँ सिर्जनाहरूलाई उनले बाहिर ल्याइसकेका छन् । कार्यक्रममा कवि चौधरीको बारेमा निर्माण गरिएको वृत्तचित्र पनि देखाइएको थियो ।