
सन्त कविरदासको ख्याति निकै टाढाटाढासम्म फैलिएको थियो । वनारसका राजा वीरसिंह पनि सन्त कविरका भक्तमध्ये एक थिए । राजालाई भेट्न कविरदास उनको दरबारमा पुग्दा कविरदासलाई आफ्नो सिंहासनमा बसाएर राजा आफू भुइँमा बसी ज्ञानगुनका कुरा सुन्ने गर्थे ।
एकपटक कविरदासले राजाको परीक्षा लिने विचार गरे । उनी साँच्चैका भक्त हुन् कि यो सब देखावटी भक्ति मात्र हो भन्ने परीक्षा लिन चाहन्थे । अर्को दिन कविरदास बजारमा आफ्ना दुई भक्तसित रमाउँदै हिँडिरहेका देखिए । तीमध्ये एक थिए– मोची र अर्की थिइन्, एक पूर्वयौनकर्मी महिला । कविरदासको हातमा रंगीन पानी भरिएका दुई बोतल थिए, जुन बाहिरबाट हेर्दा रक्सीजस्तै देखिन्थ्यो ।
कविरदासको यस्तो हर्कत देख्दा उनका शत्रुले उनीमाथि औँला उठाउने ठुलो मौका पाए । सहरभर उनको विरोध भयो । यो खबर राजासम्म पनि पुग्यो । केही समयपछि योजनाअनुसार नै कविरदास आफ्ना तिनै दुई भक्तलाई लिएर दरबार पुगे । राजा उनको स्वागतमा आफ्नो आसनबाट उठेनन् । राजाको हर्कतबाट कविरदासले उनी पनि अन्यजस्तै सामान्य मानिस रहेको अनुभव गरे ।
त्यतिखेरै कविरले आफ्ना हातमा रहेका दुवै बोतल जमिनमा बजारे । यो देख्दा राजालाई लाग्यो– रक्स्याहा भएका भए यिनले पक्कै हातका बोतल यसरी फुटाउने थिएनन् । यी बोतलमा पक्कै पनि अर्थोकै केही हुनुपर्छ । राजा आफ्नो स्थानबाट उठे र कविरदासका साथमा आएका मोचीसित यसबारे प्रश्न गरे । मोचीले भने– महाराज, भर्खरै जगन्नाथ मन्दिरमा आगलागी भएको थियो । कविरदासले यी बोतलको पानी जमिनमा छ्यापेर त्यो आगो निभाउन सहयोग गर्नुभएको हो ।
राजाले तुरुन्तै जगन्नाथ मन्दिरमा आफ्ना दूत पठाएर सबै कुरा पत्ता लगाए । नभन्दै त्यहाँ आगलागी भएको र अचानक निभेको रहस्य उनले थाहा पाए । यो सब थाहा पाएपछि आफ्नो अज्ञानतामा राजालाई पछुतो भयो । उनले कविरदाससित माफी मागे । उनको हृदयमा कविरदासप्रतिको विश्वास र सम्मान झनै गाढा भयो ।