१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २२ आइतबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका म्याग्दी
२o८२ असार २२ आइतबार १४:२२:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, म्याग्दी
नयाँ पत्रिका
२o८२ असार २२ आइतबार १४:२२:oo

जिल्लाको अन्नपूर्ण गाउँपालिका- ७, हिस्तान टिकोटका कृषकले बेमौसमी बन्दाखेती गरेर वार्षिक रु. एक करोडभन्दा बढी रकम गाउँमा भित्र्याउने गरेका छन् । 

अनुकूल भूगोल र हावापानी, राम्रो बजारभाउ पाउने र आयआर्जन गर्न सकिने भएपछि पाउद्धारका बासिन्दाले बर्खामा कोदो, मकै रोप्ने बारीमा बन्दाखेती गर्न थालेका हुन् ।

अन्नपूर्ण- ७ का वडासदस्यसमेत रहेका कृषक बुद्धिवीर पुनले टिकोटका एक सय परिवारमध्ये अधिकांशले बन्दाखेती गरेकाे बताए। ‘गत वर्ष रु. एक करोडबराबरको बन्दा बिक्री भएको थियो,’ उनले भने, ‘यसपालि कृषक र क्षेत्रफलसँगै बन्दाको उत्पादन तथा आम्दानी बढ्ने अपेक्षा गरेका छौँ ।’ उनका अनुसार एकजना कृषकले रु. एक लाखदेखि रु. सात लाखसम्मको बन्दा बिक्री गरिरहेका छन् ।

तीन-चार वर्ष अघिसम्म पुनसहित टीका पाइजालगायत पाँचजनाले टिकोटमा बन्दाखेती सुरु गरेका थिए । दुई हजार २५० मिटर उचाइमा उच्च पहाडी भूगोलमा अवस्थित टिकोटको बेमौसमी बन्दाले बजार पाएपछि पछिल्लो तीन वर्षयता कृषकहरू यसतर्फ आकर्षित भएका हुन् । 

खाद्यबालीको तुलनामा छिटो र नगद आम्दानी हुने भएकाले बन्दाखेती सुरु गरेको टिकोटका कृषक मनराज गर्बुजाले बताए । गत वर्ष रु. एक लाखको बन्दा बेचेको जनाउँदै उनले यस वर्ष १४ रोपनी जग्गामा कोदो र मकैको विकल्पमा बन्दाखेती गरिरहेको उल्लेख गरे । 

जेठमा लगाएको बन्दा असारको अन्तिम सातादेखि बजार पठाउने हुन्छ । भदौ महिनासम्म बिक्री गर्न मिल्ने गरी यहाँका कृषकले फरकफरक समयमा बेर्ना सारेका मनराजले जानकारी दिए । उनका अनुसार गत वर्ष प्रतिकिलो रु. ५० का दरले बन्दा बिक्री भएको थियो । 

टिकोटका कृषकहरूद्वारा उत्पादित तरकारी बेनी, जोमसोम, पोखरा, बागलुङलगायत विभिन्न स्थानमा बिक्री हुने कृषक टीका पाइजा पुनले बताए। रासायनिक मल र विषादीको प्रयोगविना तरकारी खेती भइरहेको बताउँदै उनले विषादीको विकल्पमा गाईभैँसीको गहुँत र गोबर प्रयोग गर्ने गरिएको जानकारी दिए।

‘रासायनिक मलको विकल्पमा स्याउला, पातपतिंगर र गाईवस्तुको गोबर कुहाएर मल बनाउँछौँ,’ उनले भने, ‘प्रांगारिक प्रविधिबाट उत्पादन भएका बेमौसमी बन्दाले बजार र उचित मूल्य पाएकाले कृषक उत्साहित छौँ ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अन्नपूर्ण गाउँपालिकाले टिकोमा ‘तरकारी पकेट कार्यक्रम’ सञ्चालन गरेको छ । पकेट कार्यक्रममार्फत कृषकलाई अनुदानमा बिउ, कृषि औजार र प्रविधिमा सहयोग गरिरहेको गाउँपालिकाका कृषि अधिकृत श्यामशरण कुर्मीले बताए । 

उनका अनुसार चालू आर्थिक वर्षमा रु. १२ लाख बजेट विनियोजन गरेको उल्लेख गर्दै टिकोट तरकारी पकेट कार्यक्रमका लागि आगामी आवका लागि थप रु. ६ लाख रकम विनियोजन भएको जानकारी दिए। रासस