मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ पौष २० मंगलबार १७:३९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा निर्वाचन : बागमतीमा सत्तागठबन्धन, एमाले र नेमकिपाबाट मनोनयन दर्ता

Read Time : > 1 मिनेट
२०७८ पौष २० मंगलबार १७:३९:००

राष्ट्रिय सभाको रिक्त सदस्यका लागि १२ माघमा हुने निर्वाचनअन्तर्गत मंगलबार बागमती प्रदेशमा सत्तारुढ गठबन्धन, प्रमुख प्रतिपक्ष एमाले र नेमकिपाका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । बागमती प्रदेशतर्फको दुई सिटका लागि हेटौँडास्थित प्रदेश निर्वाचन कार्यालयमा सत्तागठबन्धनको तर्फबाट कांग्रेसका अन्यमा कृष्णप्रसाद पौडेल र महिलातर्फ एकीकृत समाजवादीकी गोमा तिमल्सिना, एमालेका गोपाल शाक्यले अन्यमा र निरकुमारी कुँवर (निरू दर्लामी) महिलामा मनोनयन दर्ता गराएका हुन् । 

नेमकिपाबाट पुरुषतर्फ कृष्णबहादुर तामाङ र महिलातर्फ गीता काफ्लेले उम्मेदवारी दर्ता गरेका छन् । तामाङ यसअघि भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा पनि उम्मेदवार थिए । उपनिर्वाचनमा एमालेबाट रामबहादुर थापा बादल र स्वतन्त्रतर्फ डा.खिमलाल देवकोटाबीच प्रतिस्पर्धा भएको थियो । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका डा. देवकोटा विजयी भएका थिए ।

निर्वाचनमा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेश सभा सदस्य मतदाता रहनेछन् । बागमतीमा ३ सय ४६ मतदाता रहेका छन् । १ सय १९ स्थानीय तहका प्रमुख, उपप्रमुख गरी २ सय ३८ जनामध्ये एकजना गाउँपालिका अध्यक्ष निलम्बनमा परेपछि २ सय ३७ कायम गरिएको छ । 

प्रदेश सभाका १ सय १० जना सांसदमध्ये एकजनाको कोरोनाका कारण मृत्यु भएपछि हाल १ सय ९ मतदाता छन् । स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेश सांसदसहित ३ सय ४६ मतदाता रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ । 

प्रदेश सभा सदस्यको ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १८ हुन्छ । १ सय ९ जना प्रदेश सभा सांसदको ५ हजार २ सय ३२ र स्थानीय तहका २ सय ३७ को ४ हजार २ सय ६६ मत हुनेछ । कुल मत ९ हजार ४ सय ९८ हुनेछ । 

कार्यालयका अनुसार बुधबार उम्मेदवारीमाथि दाबी विरोधको उजुरी दर्ता, बिहीबार र शुक्रबार उजुरीमाथि जाँचबुझ र निर्णय, शनिबार उम्मेदवारले नाम फिर्ता र आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन कार्यतालिका छ । १२ माघको बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । हेटौँडा–९ स्थित हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको सभागृहलाई मतदानस्थल तोकिएको छ ।