
तालिबान नेतृत्वको अफगान महिलाको स्वावलम्बी हुने र आफूलाई शिक्षित बनाउने अधिकार फगत लेनदेनको विषय बनेको छ
तालिबानले काबुल नियन्त्रणमा लिएको केही दिनपछि अफगानिस्तानमा रहेका विदेशी संवाददाता सम्भावित आत्मघाती बम हमलाको त्रासमा रहेको अफगानिस्तानमा ‘स्थिति आश्चर्यजनक हिसाबले सामान्य हुँदै’ भन्ने आशयले भिडियो फुटेज प्रसारण गर्दै थिए । संवाददाताहरू सबै पुरुष थिए र भिडियोमा पुरुष मात्रै रहेको विषयलाई पूरै बेवास्ता गरेका थिए । तालिबान शासनबाट सन्त्रस्त काबुल सहरका अधिकांश महिला आफ्ना घरभित्रै कैद थिए । समय परिस्थितिले त्रुटिग्रस्त रिपोर्टिङ निम्त्याएको मान्न सकिएला, तर हप्तौंपछि पनि अफगान महिलाले भोग्दै आएका त्रासद अनुभवलाई संवाददाताले अनदेखा गरे । महिलाका यी त्रासद अनुभवलाई पहिले पुरुष पत्रकारको तालिबानको जितको प्रसारण र पछि अफगान संकटमा अन्तर्राष्ट्रिय संस्थाको प्रतिक्रियाले ओझेलमा पार्यो ।
अफगानिस्तान तालिबानको कब्जामा आउनुअगावै महिलाका लागि सबैभन्दा निकृष्ट मुलुक थियो । अहिले रोजगारीमा चरम नियन्त्रण र टेलिभिजनबाट समेत महिलाको अनुहार मेट्न खोज्ने प्रवृत्तिले अत्यन्तै त्रासद उपन्यासको कथानक झल्काउने गरी महिलाका लागि अफगानिस्तान थप अत्याचारी बन्न पुगेको छ । महिलालाई उच्च शिक्षाबाट वञ्चित गरिएको तीन महिनाभन्दा बढी भएको छ । तैपनि, तालिबान नियन्त्रणको पहिलो केही सातामा महिलाको खस्कँदो अवस्थाबारे अफगानिस्तानमा रहेका पुरुष पत्रकार वा सम्पादकले खासै चासो देखाएका छैनन् । अमेरिकाको एक अग्रणी पत्रिकाले अफगानिस्तानमा महिलालाई अनौपचारिक रूपमा माध्यमिक विद्यालयमा अध्ययन गर्नबाट लगाइएको प्रतिबन्ध चार दिनपछि मात्रै प्रसारण गरेको थियो ।
काबुल पुग्ने प्रायः सबै अन्तर्राष्ट्रिय भ्रमण टोलीमा पुरुष मात्रको प्रतिनिधिमण्डल छन् । कूटनीतिज्ञ, संयुक्त राष्ट्र संघ र सहयोगी संस्थाका अधिकारीका लागि महिलाको जीवन र उनीहरूको सार्वजनिक भूमिका प्राथमिकतामा नपरेको देखिन्छ । बेलायतले ‘महिला एवं किशोरीको अधिकार’का लागि दुई बेलायती पुरुषलाई दुई तालिबानी पुरुषसँग भेट्न पठाएको थियो । यसरी प्रतिनिधि पठाउनुले अफगानिस्तानका नयाँ शासकले महिलालाई सख्त रूपमा सरकार एवं सार्वजनिक वृत्तबाट अलग्याउने प्रवृत्तिबारे बेलायत अनभिज्ञ रहेको वा चासो नदिएको भन्ने देखाउँछ । राष्ट्र संघले काबुलको संयुक्त राष्ट्र महिला कार्यालयमा पुरुषलाई नेतृत्वदायी भूमिकामा पठाएको थियो । युनिसेफ अर्थात् बालबालिकाका मामिला हेर्ने राष्ट्र संघीय एजेन्सीले बालिकाबारे ‘चासो’ राख्नुअगाडि बालक–मात्र विद्यालयको स्वागत गर्ने गरी विज्ञप्ति जारी गरेको थियो ।
अन्तर्राष्ट्रिय समुदायका पुरुषले बारम्बार ‘तालिबानलाई समय दिन’ आग्रह गरिरहेका छन् अर्थात् महिलाको स्वावलम्बी हुने र आफूलाई शिक्षित बनाउने अधिकार फगत लेनदेनको विषय बनेको छ । यही सोच एवं प्रवृत्ति भएका रिपोर्टिङले महिला अधिकारको कुनै अर्थ नभएको देखाउँछ । त्यति मात्रै होइन, यस्तो सोचले महिलाका चासो–चिन्ता महिलाले मात्रै गर्नुपर्ने र यो चासो गम्भीर मानवीय संकट पनि होइन भन्ने स्थापित गर्छ ।
काबुल तालिबानको कब्जामा परेको तीन सातापछि मैले अफगानिस्तानमा काम गर्ने प्रभावशाली पश्चिमा मिडियाका संवाददाताका बाइलाइन नियालेकी थिएँ । यी बाइलाइन निःसन्देह अवैज्ञानिक सर्वेक्षणमा आधारित थिए । त्यसमा पनि स्पष्ट देखिएका महिलाको विरोध प्रदर्शनबाहेक महिलामाथि हुने संरचनागत अत्याचारबारे एउटै रिपोर्ट भेटिन्न । पक्कै पनि यी संवाददाताका सञ्चारमाध्यमले महिलाका अवरुद्ध जीवनबारे समाचार लेखेका थिए, तर ती समाचार महिला पत्रकारले मात्रै लेखेका थिए । सम्भवतः पुरुष अनभिज्ञ थिए वा पुरुषलाई यी विषयमा चासै थिएन । यीमध्ये जे कारण भए पनि यो एक अल्छी पत्रकारिताको नमुना थियो । मिडियाले सिर्जना गर्ने अवधारणाले अन्तर्राष्ट्रिय संगठन एवं कूटनीतिज्ञलाई आफ्नो धारणा वा मार्ग तय गर्न सघाउँछ भन्नेमा दुई मत छैन ।
यो पक्षपाती अनदेखापनलाई सामाजिक सञ्जालमा पत्रकारले तालिबान लडाकुसँग खिचिएका तर कुनै आलोचनात्मक दृष्टिकोण नभएका भद्दा उत्साहका तस्बिरले पुष्टि गरेको छ । ‘एक मनले तिमी नजिक आऊ भन्ने लाग्छ, एक मनले मारिदिन्छु जस्तो लाग्छ’ एक युवा तालिबान लडाकु ‘सेक्सी वा डरलाग्दो’ के हो भनेर फोटो क्याप्सन राखिएको थियो भने एक अर्का पत्रकारले तालिबान जस्तो देखिन कालो पगडी पहिरिएका थिए । यस्ता उदाहरण बग्रेल्ती देख्न सकिन्छ । युद्ध अपराध, अल्पसंख्यकमाथि अत्याचार गर्ने राज्यका हत्यारा सिपाहीको मनोबल बढाउने यो विधि बडो अनौठो छ । के यी पत्रकार चीन वा इरानजस्ता अधिनायकवादी सरकारका सेनासँग यस्ता तस्बिर खिच्न वा खिचाउन सक्छन् ?
तालिबानलाई बुझ्नु अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो । नयाँ सरकारका लागि लड्ने र नयाँ सरकार चलाउनेहरूको विश्व दृष्टिकोण र महत्वाकांक्षाले हामी उनीहरूसँग कसरी संलग्न हुन्छौँ भन्ने विषय निर्धारण हुन्छ । सामाजिक सञ्जालमा युवा तालिबानी लडाकुका तस्बिर हालेर लाइक एवं फलोको खेती गर्नुको अर्थ छैन । यी यस्ता तस्बिरका खेतीका कारण घरमै कैद हुन वा देश छोड्न बाध्य अफगान महिला साथीहरू मलाई ‘के यी (पत्रकारहरू) स्टकहोम सिन्ड्रोम (अपहरणकारीसँग स्नेह राख्ने मानिसक रोग) बाट ग्रस्त छन् ?’ भनेर प्रश्न गर्छन् ।
तालिबान कब्जापछि भएको आर्थिक प्रलयले महिला सबैभन्दा बढी प्रभावित हुने सम्भावना देखिन्छ । वर्षौंदेखि पश्चिमा अन्तर्राष्ट्रिय समुदाय र मिडियाले अफगानिस्तानका महिलाका अधिकारप्रति प्रतिबद्ध रहेको जनाउँदै आएका छन् र अहिलेको समयमा यो प्रतिबद्धता कार्यान्वयनको सबैभन्दा बढी आवश्यकता देखिन्छ । यदि अफगान महिलालाई अफगानिस्तानसम्बन्धी समाचारमा ठाउँ दिइन्न वा दाताको सहयोगमा संलग्न गराइन्न भने पत्रकार, दाता र अफगानिस्तानसमेतले ठूलो मूल्य चुकाउनुपर्नेछ । द गार्जियनबाट