रामेछापको सुक्खा क्षेत्रमा निर्माण गरिएको प्लास्टिक पोखरी किसानका लागि वरदान साबित भएको छ । सुक्खा क्षेत्रमा प्लास्टिक पोखरी निर्माण भएपछि बर्सातको समयमा परेको पानी जम्मा गर्ने र हिउँदमा तरकारीमा लगाएर उत्पादन गर्न थालेपछि धेरैको रोजाइमा प्लास्टिक पोखरी पर्न थालेको हो । जिल्लाको अधिकांश भूूभाग भिरालो पाखो जमिन रहेको हुँदा बर्सातमा पानी बगेर तल झर्छ, जसले गर्दा भिरालो जमिन सधैँ सुक्खा नै हुने गर्छ ।
तर, भिरालो पाखो जमिन रहेको ठाउँ–ठाउँमा प्लास्टिक पोखरी निर्माण गर्ने र केही ठाउँमा ठूलो आहाल निर्माण गरेर बर्सातको पानी संकलन गर्न थालेपछि अहिले पाखो जमिन पनि हराभरा हुन थालेको छ । पाखो र भिरालो जमिनमा प्लास्टिक पोखरी र आहाल निर्माण गर्दा वस्तुुभाउ र अन्य जंगली जनावरलाई पनि पानी उपलब्ध भएको छ । त्यस्तै, तरकारी लगाउन पनि सहज हुने गरी साबिकको कृषि विकास कार्यालयले पोखरी निर्माण गरिदिएपछि किसानमा खुसीयाली छाएको हो ।
पहिला गाउँमा पानीको समस्या हुँदा जमिन भएर पनि सधैँ बजारबाट तरकारी किनेर खानुपर्ने बाध्यता रहेको मन्थली नगरपालिका–२ की दिलमाया श्रेष्ठले बताइन् । अहिले घरनजिकै प्लास्टिक पोखरी निर्माण भएपछि बर्सातको पानी संकलन गरेर राखिएको उनले बताइन् । उनले भनिन्, ‘त्यही संकलन गरेको पानीबाट अहिले घरवरपर तरकारी लगाएर हराभरा बनाएका छौँ ।’
पाखो जमिनमा पोखरी निर्माण भएपछि भूकम्पपछि घर पुनर्निर्माण गर्न र आगलागी भएको समयमा निभाउनसमेत पोखरीको पानी प्रयोग गर्दै आएको खाँडादेवी गाउँपालिका–३, भिरपानीका डिलबहादुर श्रेष्ठले जानकारी दिए ।
उनले भने, ‘पहिला प्रशस्तै जमिन भएर पनि पानीको अभावमा तरकारी किन्न बजारको भर पर्नुपर्ने बाध्यता थियो । अहिले घरछेउमै आलु, प्याज, लसुुन, गोलभेँडालगायतका तरकारी मनग्य लगाएका छौँ । कुनै महिना पोखरीमा पानी कम हुँदा ट्र्याक्टरबाट ल्याई पोखरीमा खन्याएर जम्मा गर्ने गरेका छौँ ।’
भिरालो र पाखो जमिनमा सिँचाइ गर्न प्लास्टिक पोखरी र आहाल निर्माणले किसानलाई ठूलो राहत पुुगेको मन्थली नगरपालिका–२ का कार्यवाहक वडाध्यक्ष जनक खत्रीले बताए । उनले भने, ‘केही नागरिकले वडा कार्यालयमा प्लास्टिक पोखरीको माग गरेका छन् । यसलाई वडाले आगामी वर्षको बजेटमा सम्बोधन गर्ने गरी कार्यक्रम अघि बढाउनेछ ।’ प्लास्टिक पोखरी निर्माण गर्दा वडाका धेरै नागरिकले यसबाट प्रशस्त फाइदा लिन सक्ने भएकाले यो प्रभावकारी हुन सक्ने पनि अध्यक्ष खत्रीले बताए ।