नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीलाई निलम्बन गर्ने निर्णय तत्काल यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । बुधबार सर्वोच्चको एकल इजलासबाट यस्तो आदेश भएको हो ।
न्यायाधीश दीपककुमार कार्कीले कारण देखाऊ आदेशका साथै अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई अदालत बोलाएका छन् । आदेशको लिखत तयार भइनसकेको भए पनि ३ माघमा दुवै पक्षलाई छलफलका लागि बोलाइएको सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए । त्यतिञ्जेलसम्म निलम्बनको निर्णय कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश भएको छ । उनको रिट मंगलबार दर्ता भएको थियो ।
सिइओ रेग्मीले विदेशबाट फर्किने क्रममा त्रिभुवन विमानस्थलको भन्सार कर्मचारीमाथि कुटपिट गरेको भिडियो बहिरिएको थियो । उनले त्यहाँका कर्मचारीमाथि अभद्र व्यवहार गरेको भन्दै शुक्रबार पर्यटन बोर्डको बैठकले उनलाई निलम्बन गर्ने र उनीमाथिको आरोप छानबिन गर्ने निर्णय गरेको थियो ।