१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
शान्ति तामाङ काठमाडाैं
२०७८ पौष १२ सोमबार ०६:५६:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

काठमाडौंको फोहोर उठ्न अझै एक साता लाग्ने

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडाैं
२०७८ पौष १२ सोमबार ०६:५६:००

करिब दुई सातादेखि काठमाडौंका विभिन्न ठाउँमा थुप्रिएको फोहोर उठ्न अझै एक साता लाग्ने भएको छ । काठमाडौं महानगरपालिकाका अनुसार सडकमा थुप्रिएको करिब १० हजार मेट्रिक टन फोहोरमध्ये ७५ प्रतिशत मात्र उठेकाले थप फोहोर उठाउन एक साता लाग्ने भएको हो । पासाङ ल्हामु सडकखण्ड कालोपत्रेको माग गर्दै स्थानीयले १० दिन सडक अवरुद्ध पारेपछि उपत्यकाको फोहोर सिसडोल ल्यान्डफिल साइट लैजान सकिएको थिएन । 

‘९–१० दिनसम्म उठ्न नसकेको फोहोर उठाउन केही समय त लाग्छ नै । तैपनि हामीले पहिलेको तुलनामा धेरै फोहोर सिसडोल लगिरहेका छौँ । पूरै फोहोर उठाउन एक साता लाग्छ होला,’ महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भने, ‘सडकमा फोहोर धेरै थुप्रिएकाले सामान्य समयमा भन्दा धेरै फोहोर सिसडोल लगिरहेका छौँ ।’ उनका अनुसार सामान्य समयमा दैनिक एक सय ५० टन फोहोर सिसडोल जाने गरेकोमा हाल दैनिक दुई सय टन फोहोर लैजाने गरिएको छ ।

पासाङह्लामु सडकखण्ड वरपरका स्थानीयले २८ मंसिरदेखि सडक अवरुद्ध गरेका थिए । ल्यान्डफिल्ड साइटतर्फको सडक अवरुद्ध गरेपछि घरभित्र थुप्रिएको फोहोर सडक र चोक–चोकमा थुप्रिएको थियो । रत्नपार्क, थापाथली, गोंगबु, कलंकी, कालीमाटीलगायत क्षेत्रका सडकका फोहोर अहिलेसम्म उठ्न सकेको छैन । महानगरका अनुसार काठमाडौंमा दैनिक एक हजारदेखि १२ सय टनसम्म फोहोर उत्पादन हुने गरेको छ । वर्गीकरण नगरी एकै ठाउँमा फोहोर हाल्दा यो परिमाण अझै बढ्न सक्छ । उपत्यकाको काठमाडौं, ललितपुर महानगरसहित १८ वटै पालिकाको फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । यी सबै फोहोर निजी र महानगरका गरी दैनिक दुई सय बढी टिपर–ट्रकबाट नुवाकोटको ककनी गाउँपालिका–२ को सिसडोल लैजाने गरिएको छ । दैनिक २५ ट्रकको दुई सय ५० टन फोहोर फाल्न मिल्ने सिसडोलमा अहिले दैनिक एक सय ५० ट्रकले एक हजारभन्दा बढी टन फोहोर फालिरहेका छन् । 

०६२ मा तीन वर्षमा निर्माण सम्पन्न गर्ने भनिए पनि बन्चरेडाँडा ल्यान्डफिल्ड साइट प्रयोगमा आउन नसक्दा विभिन्न समयमा काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा फोहोर थुप्रिने गरेको छ । बन्चरेडाँडाको काम अन्तिम चरणमा पुगे पनि प्रयोगमा भने अझै आउन सकेको छैन । पछिल्लो समय बन्चरेडाँडा निर्माणका कामले खासै गति लिन नसकेको प्रवक्ता डंगोलले बताए । सहरी विकास मन्त्रालयले गत १८ भदौदेखि नै काठमाडौं महानगरपालिकालाई फोहोर व्यवस्थापनका लागि बन्चरेडाँडा हस्तान्तरण गर्ने भने पनि अझै हस्तान्तराण हुन सकेको छैन । तीन वर्षमै निर्माण सम्पन्न गर्ने भनिएको बन्चरेडाँडा ल्यान्डफिल साइट १६ वर्षसम्म पनि नबन्दा उपत्यकाको फोहोर उठाउन वेला–वेलामा समस्या आउने गरेको छ ।