मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ पौष ११ आइतबार ०९:२१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सोलु करिडोर प्रसारण लाइन निर्माण सम्पन्न, एक महिनाभित्र सञ्चालनमा आउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ पौष ११ आइतबार ०९:२१:००

सोलु करिडोर एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । प्रसारण लाइनको रुट सार्न माग गर्दे उदयपुरको कटारी नगरपालिका–४, मरुवामा करिब दुई वर्षदेखि भएको अवरोध हटेर टावर खडा गर्ने र तार टाँग्ने काम शनिबार सकिएसँगै आयोजनाको निर्माण सम्पन्न भएको हो ।

सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बुको तिङ्लासम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर रहेको छ भने टावरहरूको संख्या तीन सय दुईवटा छन् । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभिन्न समस्या झेल्दै रुग्ण बनेको प्रसारण लाइन निर्माण सम्पन्न भएकाले अब एक महिनाभित्रमा चार्ज गरी सञ्चालनमा ल्याइने बताए । ‘प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध भयो, अदालतले अन्तरिम आदेश दिँदा पनि काम रोकियो, प्राधिकरण र आयोजनाका कर्मचारीको निरन्तरको प्रयासले निर्माण सम्पन्न भएको छ,’ घिसिङले भने । सोलुखुम्बुको तिङ्लामा १३२/३३ र ३३/११ केभी सबस्टेसनको निर्माण सम्पन्न भई चार्ज भइसकेको छ । यससँगै सिराहाको लाहानबाट विद्युत् लगेर त्यस क्षेत्रमा आपूर्ति हुँदै आएकोमा अब सोलु खोलामा उत्पादित विद्युत् स्थानीय रूपमा खपत गर्न प्रयोग गरिनेछ । 

सोलुखुम्बु र आसपासका क्षेत्रका जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत्लाई सोलुखुम्बु, ओखलढुंगा र उदयपुरमा वितरण गरी बाँकी रहेको राष्ट्रिय ग्रिडमा  जोड्न सोलु करिडोर प्रसारण लाइनको निर्माण भइरहेको हो । सोलु करिडोर प्रसारण लाइन आयोजना निर्माणमा धेरै ठूला समस्या र अवरोध भोगिएको आयोजना प्रमुख जनार्दन गौतमले बताए । सबैको सहयोग र साथमा आयोजना निर्माण सम्पन्न गर्न सफल भएकोे उल्लेख गरे । 

प्रसारण लाइन सञ्चालनमा आएपछि २३.५ मेगावाटको सोलु खोला जलविद्युत् आयोजना जोडिनेछ । यहीँ प्रसारण लाइन बन्ने भएपछि प्राधिकरणले त्यस क्षेत्रका १२ जलविद्युत् आयोजनासँग तीन सय २५ मेगावाटको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गरेको छ ।  नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको ठेकेदार छनोटमा भएको विवादका कारण आयोजना झन्डै दुई वर्ष ढिला सुरु भएको थियो । प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी मोहन इनर्जीसँग ०७२ को चैतमा ठेक्का सम्झौता भएको थियो ।