
एमाले अध्यक्ष केपी शर्मा ओलीले विकासप्रेमी सरकार ढालेर देशी–विदेशी प्रतिक्रियावादीहरूले वर्तमान भ्रष्ट सरकार बनाएको दाबी गरेका छन् । एमाले पर्साले वीरगन्जमा बिहीबार आयोजना गरेको सभामा ओलीले पराजित शक्तिहरूलाई सत्ता सुम्पिइएको बताए ।
‘अहिलेको सरकार जनताले बनाएको होइन, देशी–विदेशी प्रतिक्रियावादीहरूले बनाइदिएका हुन्,’ उनले भने, ‘एमालेले साथ दिएका कारण माओवादीले ४९ सिट जितेको हो । कांग्रेस जनताबाट पराजित भएको हो । त्यसैले सरकार बनाउने उनीहरूको तागत थिएन । देशी–विदेशी प्रतिक्रियावादीले बनाइदिएका हुन् ।’
उनले परमादेशको आडमा बनेको वर्तमान सरकार विकासविरोधी भएको जिकिर गरे । ‘हामीले विकासको लहर ल्याएका थियौँ । हामीले जति विकास अहिलेसम्म कसैले गरेको थिएन । त्यही विकास देख्न नचाहनेहरूले परमादेशको आडमा हाम्रो सरकार गिराए र भ्रष्ट सरकार बनाए,’ उनले थपे, ‘यसलाई विकासप्रति कुनै चासो छैन । आयात बढेकोबढ्यै छ । महँगी, भ्रष्टाचार बढेको छ । धितो राखेर पनि कसैले ऋण पाउने अवस्था छैन । सरकारले नेपाललाई गरिबीतिर लगेको छ ।’ कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँसहित विभिन्न पार्टी परित्याग गरेकाहरूलाई ओलीले स्वागत गरे ।