मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ६ मंगलबार
  • Tuesday, 17 December, 2024
क्याप्सनः बिजुलीको तार भुमिगत गर्न तीनकुनेस्थित भत्काइएको फुटपाथ ।
२o७८ पौष ६ मंगलबार १७:३२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मुख्य सडकका फुटपाथ फेरि भत्काउन थालियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष ६ मंगलबार १७:३२:oo

उपत्यकाका मुख्य सडकका फुटपाथ भत्काउन सुरु गरिएको छ। बिजुलीको तार भूमिगत गर्न बनिसकेका फुटपाथ नेपाल विद्युत् प्राधिकरणले भत्काउन सुरु गरेको हो। सडक डिभिजन कार्यालय काठमाडौंले दुई महिनाअघि मात्रै नयाँ फुटपाथ निर्माण गरेको थियो। तर, त्यति वेला समन्वय नहुँदा बिजुलीको तार भूमिगत कार्य हुन सकेको थिएन। डिभिजन कार्यालयले फुटपाथको काम सकेपछि त्यही फुटपाथ सडकमा प्राधिकरणले फेरि भत्काउन थालेको हो। 

प्राधिकरणले दुई वर्षमा उपत्यकाभित्र तार भूमिगत गरिसक्ने लक्ष्य राखेको छ। तार भूमिगत गर्नका लागि अधिकांश फुटपाथ खन्ने तयारी गरिएको छ। फुटपाथ निर्माणको वेला समन्वय नहुँदा प्राधिकरणले फुटपाथ भत्काएर बिजुलीका तार भूमिगत गर्न लागेको हो। 

उक्त फुटपाथ सडक विभाग र सडक डिभिजन कार्यालयले निर्माण गरेको थियो। तार बिछ्याउँदा धेरैजसो ठाउँमा सडकपेटी भत्काउनुपर्ने प्राधिकरणले जनाएको छ। प्राधिकरणले पोलमा झुन्डिएको तारलाई भूमिगत गर्दै छ। तीनकुने, कोटेश्वर, गौशाला, नयाँबानेश्वर, माइतीघर, त्रिपुरेश्वर, रत्नपार्क, महाराजगन्ज चाबहिललगायत उपत्यकाका मुख्य ठाउँहरूमा दुई वर्षभित्र बिजुलीका तार भूमिगत गर्ने योजना प्राधिकरणको छ। 

एउटै सडकपेटीमा काम गर्दा सरकारी निकायबीच समन्वय नहुँदा सडकपेटी पुनः भत्काउनुपरेको प्राधिकरणका सिइओ कुलमान घिसिङले बताए। उनले आफूहरूले काम गर्ने क्षेत्रमा भत्काएको सडक बनाउने जिम्मा प्राधिकरणको भएको बताए। ‘हामीले आवश्यक ठाउँमा भत्काउँछौँ, त्यसलाई जस्ताको तस्तै बनाएर बनाउँछौँ,’ उनले भने, ‘एकैपटक काम गर्न पाएको भए यो समस्या हुने थिएन। उनका अनुसार उपत्यकामा चारवटा आयोजनाअन्तर्गत तार भूमिगत गर्ने कार्य सुरु भएको छ। महाराजगन्ज, रत्नपार्क, कीर्तिपुर र भक्तपुर–ललितपुरअन्तर्गत तार भूमिगतको काम अघि बढेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। उनका अनुसार धापासी, बालाजु र धोबीखोला क्षेत्रमा पनि भूमिगतको काम लगभग सकिएको छ। हालसम्म लैनचौरदेखि बुढानीलकण्ठसम्म जम्मा एक सय ८० किमि तार (केबल) भूमिगतको काम भएको छ। बालुवाटारदेखि राष्ट्रपति भवनसम्म र कीर्तिपुर क्षेत्रमा काम भइरहेको छ। सडक डिभिजन कार्यायलयका कुवेर नेपालीले फुटपाथ भत्काएपछि त्यो बनाउने जिम्मा पनि प्राधिकरणको रहेको बताए। ‘बिजुलीको तार भूमिगत गरे पनि त्यसलाई जस्ताको तस्तै पार्ने काम प्राधिकरणको हो,’ उनले भने, ‘हालसम्म उपत्यकाभित्र १६ किमिभन्दा बढी क्षेत्रमा नयाँ फुटपाथ बनेको छ।’