१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १६:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मिश्रले पार्टीबाट हटाए संयोजक पाण्डेलाई, 'अवैधानिक' कारबाहीका प्रोपोगान्डाबाट विचलित नहुने पाण्डेको स्पष्टोक्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १६:४३:oo

विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई पार्टीबाट हटाएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको साधारण सदस्यसमेत नरहने गरी उनलाई पार्टीबाट हटाएको जानकारी गराएका हुन्।

पार्टीभित्र जिम्मेवारीपूर्वक नबसेको, पार्टीभित्र हानि पुर्‍याउने काम गरेको, पार्टीको विधान समितिविपरीतका गतिविधि जारी राखेको, पार्टीको केन्द्रीय समितिको बैठकमा उपस्थित नभएको र लिखित स्पष्टीकरणको समेत चित्तबुझ्दो जवाफ नदिएपछि पाण्डेलाई हटाइएको विज्ञप्तिमा उल्लेख छ। 

‘पार्टीको निर्णय र नेतृत्वप्रति अनर्गल र भ्रमपूर्ण टिप्पणीसहित निकृष्ट व्यक्तिगत आरोप लगाउने कार्य जारी राखेको र समानान्तर समिति नै घोषणा गरेको देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तपाईंलाई आजकै मितिदेखि लागू हुने गरी पार्टीको सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरिएको छ।’  पाण्डेलाई पार्टीको नाम, लेटरडेह, छाप, चुनाव चिह्न तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री प्रयोग नगर्न निर्देशन दिइएको छ।

यसैबीच पाण्डेले पार्टीका अध्यक्ष मिश्रले गरेको कारबाहीबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनले पार्टीभित्रको मतभिन्नतालाई वैचारिक संघर्षमार्फत व्यवस्थित गर्नुको साटो पार्टीबाट निष्कासन गरेको भनेर निकालिएको भ्रमपूर्ण विज्ञप्ति अस्वीकार गरेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘म पार्टीका सदस्यहरूलाई अवैधानिक बाटो हिँडेका व्यक्तिबाट प्रकाशित यस्ता विज्ञप्तिको भ्रममा नपर्न अनुरोध गर्दछु, गणतन्त्र जोगाउँ, मुलुकको संविधान जोगाउँ, पार्टीको विधान मानौँ, धर्मको  नाममा राजनीति नगरौँ भन्दा पार्टी संयोजकलाई सदस्यबाट समेत हटाउने अवैधानिक, अलोकतान्त्रिक र अनैतिक कदमको पार्टीभित्र र बाहिरबाट समेत निन्दा र भर्त्सना गर्न आह्वान गर्दछु।’

संयोजक पाण्डेले आफूले विवेकशील साझा पार्टी निर्माणमा जीवनको सर्वाधिक ऊर्जाशील १० वर्ष खर्च गरेको भन्दै अवैधानिक कारबाहीका प्रोपोगान्डाले विचलित नहुने स्पष्ट पारेका छन्। उनले आजै केन्द्रीय समिति सदस्यसमेत सहभागी २०१ सदस्यीय विवेकशील साझा पार्टी सुदृढीकरण अभियानको केन्द्रीय समितिसमेत घोषणा गरेका छन्।

ad
ad