पछिल्लो दुई सातामा उपत्यकाका तीन स्थानमा मूर्ति चोरी भएको छ। अभियन्ताका अनुसार काठमाडौं र ललितपुरका गरी तीन ऐतिहासिक महत्वका मूर्ति चोरी भएका हुन्। सम्पदा अभियन्ता यादवलाल कायस्थका अनुसार सशस्त्र प्रहरी मुख्यालय रहेको हलचोकसँगैको नागर्जुन नगरपालिका– ३ मा पर्ने आकाशभैरवनाथको मूर्ति, ललितपुर हरिसिद्धिमा रहेको त्रिपुरासुन्दरी मन्दिरबाट करिब हजार वर्ष पुरानो मूर्ति र पाटनस्थित बंगलामुखी मन्दिरसँगै रहेको मिसाहिटीमा रहेको नारायणको मूर्ति चोरी भएको हो।
अभियन्ताले मूर्ति चोरीका सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा उजुरी गरेका छन्। अभियन्ताले सिआइबी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) धीरजप्रताव सिंहलाई भेटेर उजुरी गरेका हुन्। अधिवक्ता नरेश श्रेष्ठ, गुठीयार सागर पुजारी र जितेन्द्र तुलाधरले सोमबार सिआइबीको कार्यालय महाराजगन्जमा पुगेर उजुरी गरेका हुन्।
सिआइबी प्रमुख सिंहले उजुरीबारे तत्काल अनुसन्धान प्रक्रिया अगाडि बढाइने जानकारी दिएको अभियन्ता सागर पुजारीले नयाँ पत्रिकालाई जानकारी दिए। सम्पदा संरक्षण महाअभियानका संयोजक अभियन्ता कायस्थका अनुसार आकाशभैरवनाथको मूर्ति ललितपुर हरिसिद्धिबाट मंसिर २२ मा, पाटनस्थित बंगलामुखी मन्दिरसँगै रहेको मिसाहिटीमा रहेको नारायणको मूर्ति र आकाशभैरवनाथको मूर्ति करिब एक साताअघि चोरी भएको हो। स्थानीय र अभियन्ताले चोरी भएको मूर्तिको खोजी गरे पनि फेला पार्न नसकिएको बताएका छन्।