हिमाली जिल्ला मनाङमा चिसो अत्यधिक बढेपछि हिमताल जम्न थालेका छन्। गंगापूर्णसँगै आधा दर्जन हिमताल जमेर चट्टानझैँ भएको मनाङ ङिस्याङ गाउँपालिका– ६ का वडाध्यक्ष सोनाम गुरुङले बताए। उनका अनुसार चार हजार नाै सय १९ मिटरमा रहेको तिलिचो, भ्राकामा पर्ने चार हजार ६ सय मिटरमा रहेको केंचो ताल (आइसलेक), धारापानीको नाचैमा पर्ने डोना ताल र थोंचेमा पर्ने पोङकरलगायतका ताल पनि यतिवेला जमेका छन्। दिनभर घाम लाग्दा पनि तालको पानी पग्लिएको छैन। चिसोसँगै खानेपानीको मुहानसमेत जमेका छन्। चिसो बढेसँगै केही मात्रामा मनाङ पुगेका आन्तरिक तथा बाह्य पर्यटक भने जमेको तालमाथि हिँडेर नौलो अनुभव लिन पाउँदा अचम्मित बन्छन्। मनाङका ताल हेर्न बर्सेनि हजारौँ पर्यटक आउँछन्। हिमताल भएकाले पनि मनाङ बाह्य तथा आन्तरिक पर्यटकको केन्द्र बनेको छ।
चिसो समयमा जम्ने, हिउँ परेपछि त्यसैले ढाकिने र गर्मीयाममा पग्लिएपछि हिमाली छाया देखिने दृश्यले पर्यटक लोभिने गरेका छन्। पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङका अनुसार मनाङका ताल जमेका वेला सफा निलो, वर्षायाममा सेतो र हिउँदमा जम्ने विशेषताका छन्। जाडो बढेसँगै मनाङको तापक्रम दिउँसो पनि माइनसमा र साँझ–बिहान माइनस ६ देखि माइनस १० डिग्री सेल्सियससम्म पुग्ने गरेको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डिएसपी सुवास खड्काले बताए।
उनका अनुसार तिमाङदेखि थान्चोक, चामे हुँदै माथिल्लो क्षेत्रमा पाइपको पानीसमेत जमेको छ। मनाङमा मंसिर–पुसदेखि फागुनसम्म हिमताल प्रायः जमिरहेका हुन्छन्। अत्यधिक चिसोले बगिरहेका खोलाहरू जम्न थालेका छन्। सशस्त्र प्रहरी बल नेपाल मनाङका प्रमुख डिएसपी अर्जुन पौडेलका अनुसार राति जमेको पानी दिउँसो भएपछि मात्रै बग्ने गर्छ। चिसो बढेसँगै धारामा पानीसमेत जम्न थालेको छ।