मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ४ आइतबार
  • Monday, 16 December, 2024
फाइल तस्बिर
२o७८ पौष ४ आइतबार २२:o३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

किराँत समुदायको महान् चाड ‘साकेला उँधौली’ सुरु 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष ४ आइतबार २२:o३:oo

प्रकृतिपूजक भनेर चिनिने किराँत समुदायको महान् चाड साकेला उँधौली आइतबार सुरु भएको छ । किराँत समुदायमा मंसिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उँभौली मनाउने चलन छ । 

१५ दिनसम्म मनाइने उँधौली साकेलाको अवसरमा मझुवागढीमा भेला भएर किराँती पुर्खाधामीहरूले प्रकृतिको पूजा आराधना गरी उँधौली चाडको सुरुवात गरिएको किराँत राई यायोख्खा खोटाङले जनाएको छ । किराँत ऐतिहासिकस्थल मझुवागढीमा पूजाआजा गरेर औपचारिक रूपमा सुरु गरिने साकेला उँधाैलीको अवसरमा जिल्लाका विभिन्न ठाउँमा औपचारिक कार्यक्रमहरूसमेत राखिएको छ । 

वर्षको दुईपटक मनाइने साकेला चाडको उँधौलीमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामललगायतका सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको किराँत राईहरूले बताएका छन् । 

साकेला उँधौलीको अवसर पारेर जिल्लाका ऐतिहासिक तथा पर्यटकीय स्थलहरू तुवाचुङ–हलेसी तुवाचुङ नगरपालिकाको जायाजुङ, दिक्तेल रूपाकोट–मझुवागढी नगरपालिकाको रुपाकोट, मझुवागढी र मेरुङ, जन्तेढुंगा गाउँपालिकाको जन्तेढुंगा र छोंखा, खोटेहाङ गाउँपालिकाको कपासेभञ्ज्याङलगायत साकेलाथानमा साकेला सिली नाच्ने चलन छ । उँधौली र उँभौलीमा किराँत राईहरूको प्रत्येक घरमा तीन चुला पुज्नुका साथै साकेलाथानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा सिली टिप्दै गोलो घेरा हालेर साकेला सिली नाच्ने गरिन्छ । 

छिटको गुन्यु, मखमलको चोली, पहेँलो पटुकी, दौरासुरुवाल, ढाका टोपीलगायत किराँती मौलिक वेशभूषामा सजिएर हरेक किराँत राईहरूको घरघरमा नाच्दै गाउँदै हर्षोल्लासका साथ मनाइने यो चाडमा किराँत समुदाय मात्र नभई गैरकिराँत समुदायका युवायुवतीसमेत सहभागी भएर साकेला सिली नाच्ने गरेका छन् । चराचुरुंगी तथा जीवजन्तुको नक्कल गर्दै ढोल÷झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामनाका साथ साकेला चाड मनाउने गरिन्छ । 

हरेक वर्ष जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित मझुवागढीबाट विधिवत् रूपमा सुरु गरिने साकेला उँधौलीको अवसरमा आफन्तजन तथा इष्टमित्रबीच शुभकामना आदानप्रदानसमेत गरिन्छ । बालकदेखि वृद्धसम्म एउटै लहरमा बसेर सामूहिक रूपमा नाचिने साकेला सिलीले दर्शकलाई समेत भरपुर मनोरञ्जन दिने गर्दछ ।

उँधौली तथा उँभौलीको अवसरमा किराँत राईहरूले मात्र नभई सबै जातजाति तथा धर्मका समुदायलेसमेत साकेला सिली नाच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृतिको रूपमा विकास भएको किराँत राई यायोख्खा खोटाङका सचिव युगस किराँतले बताए । ‘साकेला पर्वले जातीय, धार्मिक तथा सांस्कृतिक सदभाव, आपसी मेलमिलाप कायम गर्दै द्वन्द्वलाई निरुत्साहित गर्न भूमिका खेल्ने गरेको छ,’ उनले भने, ‘साकेला पर्वमा विशेष गरी प्रकृति र पितृको पूजा गर्दै आपसमा शुभकामना आदान÷प्रदान गर्ने गरिन्छ ।’

साकेला उँधौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङलगायत किराँत समुदायको बसोबास रहेको ठाउँमा साकेला नाच्दै धुमधामका साथ मनाउने गरिएको छ । साकेला उँधौली तथा उँभौली किराँत राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाडका रूपमा उँधौली १५ तथा उँभौली महिना दिनसम्म मान्ने गरेका छन् ।

अन्नबाली लगाउने समय अर्थात् वैशाखे पूर्णिमादेखि उँभौली र अन्न भित्र्याउने वेला अर्थात् मंसिरे पूर्णिमादेखि उँधौली चाड मनाउने चलन छ । चराचुरुंगी बेँसीतिर झर्ने र लेकतिर जाने याममा मनाइने यो चाडमा आफन्तजन, चेलीबेटीलगायत भेला हुने र दुःखसुखका कुरा गर्ने चाडका रूपमा पनि लिइन्छ ।