मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ४ आइतबार
  • Monday, 16 December, 2024
२o७८ पौष ४ आइतबार o७:४२:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कर्णालीमा विद्युत् उत्पादन क्षमता १८ हजार मेगावाट, उत्पादन १० मेगावाट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष ४ आइतबार o७:४२:oo

कर्णाली प्रदेशको कुल विद्युत् उत्पादन क्षमता १८ हजार मेगावाट भए पनि अहिले १०.७० मेगावाट मात्रै उत्पादन भइरहेको छ । आव ०७७/७८ मा आधारित नेपाल राष्ट्र बैंकको ‘आर्थिक गतिविधि अध्ययन (कर्णाली प्रदेश)’ अनुसार अहिले कर्णाली प्रदेशमा १०.७० मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।

कर्णाली, तिला र भेरी नदीमा गरिएको सम्भाव्यता अध्ययनअनुसार यस प्रदेशको कुल जलविद्युत् उत्पादन क्षमता करिब १८ हजार मेगावाट रहेको छ । जसमध्ये सबैभन्दा धेरै ८.५५ मेगावाट विद्युत् उत्पादन दैलेखबाट भएको छ भने सबैभन्दा कम डोल्पा र जुम्लाबाट समान ०.२० मेगावाट विद्युत् उत्पादन भएको छ । दैलेखमा रहेका पदम खोला र द्वारी खोला साना जलविद्युत् आयोजनाबाट क्रमशः ४.८ मेगावाट र ३.७५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।

त्यसैगरी, हुम्लाबाट ०.५० मेगावाट, मुगु र कालिकोट जिल्लाबाट समान ०.४० मेगावाट र रुकुम पश्चिम जिल्लाबाट ०.३५ मेगावाट विद्युत् उत्पादन भएको देखिन्छ । हुम्लाको सिमिकोट र मुगुको गमगढीबाट समान ५० किलोवाटबराबरको सौर्य ऊर्जा उत्पादन भइरहेको छ । त्यस्तै, सुर्खेत जिल्लामा रहेको ३४५ किलोवाट क्षमताको झुप्रा विद्युत्गृह हाल सञ्चालनमा रहेको छैन ।

कर्णाली प्रदेश क्षेत्रफलको हिसाबले अन्य प्रदेशभन्दा ठूलो भएकाले यहाँका हरेक घर तथा बस्तीमा बिजुलीको सुविधा पुर्‍याउनु आफैँमा चुनौतीपूर्ण मानिन्छ । नेपाल विद्युत् प्राधिकरणको अर्धवार्षिक समीक्षा ०७७/७८ मा तीन हजार नौ सय ९० किमि विद्युत् प्रसारण लाइन रहेको थियो । आव ०७७/७८ को असार मसान्तसम्म पाँच हजार ६ सय ३६.४४ किमि पुगेको छ । सबैभन्दा धेरै विद्युत् प्रसारण लाइन एक हजार पाँच सय ४३ किमि रुकुम पश्चिममा रहेको छ भने सबैभन्दा कम ५५.२८ किमि जुम्लामा रहेको छ ।

त्यसैगरी, सुर्खेतमा एक हजार एक सय ५९ किमि, सल्यानमा एक हजार ९५.५२ किमि, दैलेखमा ६ सय ४२ किमि, कालिकोटमा पाँच सय १४.०३ किमि, जाजरकोटमा दुई सय ८९ किमि, डोल्पामा एक सय २५.२१ किमि, हुम्लामा एक सय १४ किमि र मुगुमा ९९.४ किमि विद्युत् प्रसारण लाइन रहेको छ । कर्णाली प्रदेशमा हालसम्म कुनै पनि ठूला जलविद्युत् आयोजनाहरू सञ्चालनमा छैनन् ।